arrow

सरकारले चाहे एक वर्ष भित्रै नेपालमा रेल गुड्ने

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
mono-rail.jpeg

काठमाडौैं । भारत सरकारको सहयोगमा धमाधम निर्माण भईरहेको जनकपुर जयनगर रेलमार्गमा लिग निर्माणको काम अन्तिम चरणमा पुगेपनि लिगमा गुडाउने इन्जिनको विषयमा भने अझैसमेत सरकारलाई वास्ता छैन । सरकारले रेलको इन्जिन खरिद गरे अबको एक वर्षभित्र नेपालमा रेल गुड्न थाल्ने दाबी रेल विभागले गरेपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने लिगमा गुडाउने इन्जिन खरिदको विषयमा मन्त्रालयमा अझै छलफल समेत सुरु भएको छैन ।

झण्डै ४ वर्षदेखि बन्द भएको जनकपुर जयनगर रेलमार्गको ३४ किलोमिटरको निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने विभागले जनाएको छ । २०७० साल भदौ २६ गते जनकपुरबाट जयनगर तर्फ आउँदैगर्दा धनुषाको बहुवा ४ मा दूर्घटना भएपछि सो रुटको रेल सेवा अनिश्चित कालको लागि बन्द भएको थियो । सोही रुटमा अहिले भारत सरकारको सहयोगमा लिग पुनर्निर्माण कार्य चलिरहेको हो ।  

केहीदिन अघि सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीर बहादुर बलायरले लिग निर्माण कार्य अन्तिम अवस्थामा पुगेको भएपनि अहिलेसम्म रेलको इन्जिन खरिदप्रक्रिया सुरु नभएको भन्दै खरिद प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए । मन्त्री बलायरले अहिले खरिद प्रक्रिया सुरु गर्ने हो भने यसको लिक तयार हुने समयसम्म नेपालमा रेल आईपुग्ने भन्दै प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए । 

मन्त्री बलायरले नेपालको आफ्नै रेलको लागि यो वर्ष बजेट विनियोजन नगरेको भएपनि कहाँबाट ल्याउने र कस्तो रेल ल्याउने भन्ने विषयमा सबै प्रक्रियाहरु बुझ्नको लागि आफूले निर्देशन दिएको जनाएका छन् । उनले अहिले नै रेल खरिद प्रक्रिया सुरु नगर्ने हो भने अरबौं खर्च गरेर तयार पारेको रेलको लिग त्यसै पुरानो भएर जाने भएकोले आफूले रेल खरीद प्रक्रिया सुरु गर्न निर्देशन दिएको प्रतिक्रिया दिए । 

भारत सरकारले करिब १० अर्ब लगानीमा निर्माण गरिरहेको ३४ किलोमिटर रेलमार्गको निर्माणकार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने जानकारी भारतीय निर्माण कम्पनीले विभागलाई दिईसकेको छ । अहिलेसम्मको काम अनुसार तोकिएको मितिभित्र लिक निर्माण कार्य सम्पन्न हुने निश्चितप्रायः रहेको रेल विभागका इन्जिनियर किरण कार्कीले जानकारी दिए । उनले अबको अक्टोबर भित्र सरकारले इन्जिन खरिद गर्नसके बन्द भएको नेपाल रेल्वेको सेवा फेरि पनि सुरु हुने जानकारी दिए । 

त्यसो त रेलको इन्जिन खरिदबारे अहिलेसम्म पनि मन्त्रालयमा भने छलफल समेत भएको छैन । मन्त्री बलायरको निर्देशन दिएपछि मन्त्रालयभित्र यस विषयले चर्चा पाएको भएपनि अहिलेसम्म पनि खरिदप्रक्रियाबारे कुनै काम अघि नबढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी वसन्तप्रसाद पन्थीले जानकारी दिए । 

रेल सञ्चालन गर्नको लागि अहिले विभागले कम्तिमा ४ वटा इन्जिनको आवश्यकता महसुस गरेको छ । ४ वटा इन्जिन र डिब्बा सहित खरिद गर्दा सरदर ५ अर्ब रुपैयाँ लाग्ने आकलन रेल विभागको छ । त्यसको लागि अहिलेसम्म रेल खरिद गरेर आफ्नै रेल चलाउने कि रेलको इन्जिन भाडामा ल्याएर सञ्चालन गर्ने भन्ने विषयमा पनि अहिलेसम्म छलफल नभएको विभागका अर्का ईन्जिनियर रोशन देवले जानकारी दिए । विभागको लागि सरकारले यस वर्ष ४ अर्बको हाराहारीमा मात्रै बजेट विनियोजन गरेका छन् ।

भारत सरकारले सन् २०१४ बाट सुरु गरेको सो रेलमार्गको पुनर्निर्माण सन् २०१८ अक्टोबरसम्ममा सक्ने सहमति भएको थियो । नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) को छ । सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माण अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । यस अघि नेपाल सरकारलाई सन् १९३७ सालमा हल्याण्डले उपहारमा दिएको रेल यस अघिसम्म सोही रुटमा चल्दै आएको थियो ।

राजधानी दैनिकबाट
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ