arrow

तीन कोइराला दिदीभाइको पटकपटकको 'लन्च मिटिङ'को अर्थ के ?

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
koirala_niwas.jpg

काठमाडौं । म‌ंगलबार काङ्ग्रेस नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा काँग्रेसका शीर्ष ३ कोइरालाको लन्च मिटिङ भयो । काँग्रेस भित्र प्रभावशाली नेताहरुको रुपमा चिनिएका पार्टी महामन्त्री शशांक कोइराला सहित शेखर र सुजाताको यो भेटले नेपाली काँग्रेस भित्रको राजनीतिक धारको विषयमा नयाँ चर्चा चल्न सुरु भएको छ । सामान्यतया एउटी दिदीको घरमा पुगेर भाइहरुले खाना खाँदैमा नयाँ राजनीतिक धार जन्मिन्छ नै भनेर शंका गर्नुपर्ने कुरा त होइन । तर, उनीहरुको भेटको समयका कारणले भने राजनीतिक बृत्तमा यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  

डाक्टर शेखर कोइरालाका निजी सहायक दिनेशचन्द्र थपलियाले आफ्नो फेसबुक मार्फत् तस्वीर सार्वजनिक गरेपछि यी ३ दिदीभाइको बैठकले राजनीतिक बृत्तमा नयाँ चर्चा पाएको हो । उनीहरुबीचको भेटघाट यस्तो समयमा भएको छ जुन समयमा काँग्रेस सभापति शेर बहादुर देउवाप्रति आम युवा नेताहरुले विकल्पको आन्दोलन चलाईरहेको र काँग्रेस भित्र कै प्रतिपक्षी पौडेलपक्षले कडा आलोचना गरिरहेका छन् । चुनावमा पार्टी पराजीत भएको सन्दर्भमा त्यसैको समीक्षा गर्न भनेर बसिएको सो बैठकमा नेतृत्वको बारेमा समेत पूर्व तयारी छलफल चलेको उनीहरुका सहयोगीहरु बताउँछन् । 

त्यसो त यी ३ कोइरालाको यस्तो भेट यो पहिलो भने होईन । पहिलो पटक साउन ४ गते तिनै जना नेताहरुको भेट हुँदा पनि यस्तै चर्चा धेरै भएको थियो । त्यो समयमा दोस्रो चरणको पहिलो चरण र दोस्रो चरणमा पार्टीले हार बेहोरिसकेको थियो । त्यतिबेलाको बैठकपछि हाम्राकुरासँगको कुराकानीमा नेता शेखर कोइरालाले आफूहरुको भेट कुनै गुट उपगुट बनाउन नभएको भन्दै बाहिर आएका हल्लाहरु सबै अनर्गल भएको बताएका थिए । सो बैठकको समयमा पनि पार्टी सभापति शेर बहादुर देउवा विरुद्ध मोर्चाबन्दी भएको भन्ने आरोप समेत लाग्न थालेपछि उनले यस्तो बताएका थिए । 

यसपछि दोस्रो पटक भदौ १० गते यी ३ नेताहरुले लन्च मिटिङ गरेका थिए । त्यतिबेला कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा सम्पन्न भएको लन्च मिटिङको  पाँच साताअघिको लन्च मिटिङ भने महामन्त्री शशांकको टोखास्थित निवासमा सम्पन्न भएको थियो । 

त्यस्तै, तिहारको टिकाको दिन अर्थात् कात्तिक ४ गते पनि उनीहरुबीच भेट भएको कुरा सार्वजनिक भएको छ । सो दिन सुजाता कोइरालाले दुई भाइहरु शशांक र शेखरलाई टीका लगाईदिएकी थिईन् । यसरी उनीहरुबीचको पटक पटकको भेटघाटलाई सार्वजनिक गरेर उनीहरु एक हुन लागिरहेको सन्देश नि खोजेका छन् । जब जब पार्टीमा नेतृत्वप्रति चरम असन्तुष्टि चुलिएको हुन्छ त्यतिबेला कोइरालाहरुले आफ्नो पुरानो विरासत देखाएर पनि आफूहरु एक हुन लागेको सन्देश दिन पनि आफ्नै सहयोगीहरु मार्फत् भेटको खबर सार्वजनिक गरिरहेका छन् । 

सामान्य अवस्थामा ३ कोइरालाबीचको भेटलाई सामान्य रुपमा लिन सकिएपनि अहिलेको अवस्थामा प्रभावशाली ३ कोइरालाहरुको भेटलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । उनीहरुले आफ्नो पारिवारिक विरासत जोगाउन लन्च मिटिङ गरिरहँदा विपी कोइरालाका मुख्य सहयोगी गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह भने बैठकमा सहभागी हुने गरेका छैनन् । तर, उनीहरुले पटकपटक ३ नेताहरुबीचको बाक्लो भेटघाटले अब पार्टीलाई सच्याएर लैजानको लागि कोइराला परिवार नै आवश्यक भएको भनेर भित्री तयारीका साथ उनीहरु आउने तयारीमा लागेका त होईनन् ? भन्ने शंका पनि गर्न थालिएको छ । उनीहरुको भेट नित्तान्त राजनीतिक उद्देश्यका लागि बाक्लिएको छ भन्नेमा कुनै शंका नहोला । तर, उनीहरुले अहिले तत्कालको राजनीति भन्दा पनि अबको  महाधिवेशनसम्मको राजनीतिलाई मध्येनजर गर्दै त्यसैको रणनीतिको लागि भेटघाट बाक्लो बनाएको कोइरालाका सहयोगीहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ