arrow

बुद्धको जन्मस्थल जोड्न एक दर्जन सडक

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ ४ बिहिबार
lumbini.jpg

बुटवल ।  आफ्नो नगरलाई बुद्ध जन्मस्थल लुम्बिनीसँग जोड्न रूपन्देहीमा एक दर्जन बढी सडक निर्माण आयोजना सुरु भएका छन् ।  लुम्बिनी आएका पर्यटकलाई आफ्नो नगरमा लैजान, बसाई अवधी बढाउन र पर्यटनबाट फाइदा लिन गर्न भन्दै सडक निर्माण थालिएको हो ।

बुद्ध जन्मस्थलको महिमा बढ्दै जादा बुद्धका महत्वपूर्ण घटना जोडिएका आसपासका क्षेत्रप्रति पनि बौद्धमार्गीको चासो र आकर्षण बढेको छ । यसबाट हौसिएका रूपन्देहीवासीले हरेक नगरलाई लुम्बिनीसंग जोड्ने सडक सञ्जाल सुरु गरेका हुन् । लुम्बिनी विकास कोषका सदस्य सचिव आजितमान तामाड.ले लुम्बिनी आउने पर्यटकलाई आसपासका पुरातात्वीक स्थलमा लैजान र उनीहरूको वसाइअवधि बढाउन पनि सडक सञ्जाल विस्तार थालिएको बताए । ‘व्यवस्थित सडक सञ्जाल नहुँदा धेरै पर्यटक सबै वौद्ध स्थलमा पुग्दैनन् ।’ उनले भने ‘यो समस्या हटाउन आसपासका जिल्ला र नगरलाई लुम्बिनीसँग जोडिदैछ।’

लुम्बिनीसंगै आसपासका क्षेत्रको धार्मिक तथा पुरातात्वीक महत्व बढाउन ३ वर्षअघिदेखि लुम्बिनी आसपासको एक सय ५७ किलोमिटर क्षेत्रलाई वृहत्तर लुम्बिनी क्षेत्र कायम गरीएको छ । रूपन्देही, नवलपरासी र कपिलवस्तुलाई समेटेर विकास तथा प्रचार गर्ने र शान्ति शहर बनाउने योजना छ । वौद्ध क्षेत्रको योजनागत विकास गर्न वृहत लुम्बिनी गुरुयोजना तयार गरिदै छ ।

लुम्बिनीलाई टुरिजम हवका रूपमा विकास गर्न १० वर्षे कार्यक्रम सहितको व्यवस्थीत पर्यटन योजना बनेको छ । त्यसमा रूपन्देही, कपिलवस्तु र नवलपरासीका वुद्धसँग सम्बन्धीत पुरातात्वीक स्थलहरूसहित लुम्बिनी अञ्चललाई नै गन्तव्य बनाएर पर्यटन प्रवद्धन गर्ने योजना छ । योजनाकै सहयोगीका रूपमा विभिन्न बजार र नाकाबाट लुम्बिनी जोड्ने सडक निर्माण भएका हुन् ।

त्यसमध्ये वुद्धजन्मस्थल लुम्बिनीबाट रूपन्देही सदरमुकाम भैरहवा जोड्ने सडक चार लेनको बन्दै छ । लुम्बिनीबाट कपिलवस्तु सदरमुकाम तौलीहवा तथा तिलौराकोट जोड्ने सडक २ लेनको बन्दै छ । वुद्ध परिपथ जोड्ने सडकलाई अन्तराष्ट्रिय मापदण्डको बनाइ पर्यटन पर्वद्धन गर्न भन्दै सडक स्तरोन्नति थालिएको हो । एसीयाली विकास बैंकको सहयोगमा २ अर्ब १५ करोड लागतमा सडक निर्माण थालिएको हो । ३ वर्षभित्रमा सडक निर्माण सक्ने योजना छ । भैरहवाबाट लुम्बिनी हुदै तौलीहवा जोड्ने सडकको लम्बाइ झण्डै ४७ किलोमिटर छ ।

 हाल लुम्बिनी — भैरहवा सडक २ लेनको छ भने लुम्बिनी —तौलीहवा सडक जम्मा एक लेनको छ ।
लुम्बिनी आएका धेरै पर्यटकलाई लैजान सकिने ठाउँ बुद्ध मावली देवदह हो । यसका लागि देवदह सिधै लुम्बिनीसँग जोड्ने लुम्बिनी परिक्रमा सडक निर्माण अघि बढेको छ । लुम्बिनी आउने पर्यटकलाई सिधै देवदह लैजान र देवदह आएका पर्यटकलाई लुम्बिनी पुर्याउन यो सडक निर्माण थालिएको हो । देवदहको शितलनगर हुदै शिवपुर मणिग्राम, मोतीपुर, फसाटिकर, सूर्यपुरा हुदै लुम्बिनी पुग्ने सडक ४२ किलोमिटर लम्बाईको छ । एक्पोर्ट–इम्पोर्ट बैंक अफ इण्डियाको ऋण सहयोगमा ट्याकमात्रै खोलेको सडक २ लेनको हुने छ । सन २०१४ मा ५९ करोड ८० लाख ९९ हजार लागतमा सडक निर्माण सुरु भएको हो । अहिलेसम्म करिब ४० प्रतिशत काम सकिएको छ ।

पछिल्लो समयमा लुम्बिनीमा आउने धार्मिक बाहेकका पर्यटक आउनेक्रम बढेको छ । उनीहरूलाई अन्य पर्यटकीय क्षेत्रमा पुर्याउन समेत सहज सडक संजाल र पुर्वाधार अभाव छ । वौद्ध परीपथ नहुदा लुम्बिनी आउने पर्यटकलाई घुम्न निस्कने ठाउँको कमी छ । उनीहरूको बसाई अवधि बढेको छैन । यो अभाव मेटाउन पश्चिमाञ्चलको व्यापारिक केन्द्र बुटवलबाट सिधै वुद्ध जन्मस्थल लुम्बिनी जोड्ने पर्यटन मार्ग सुरु भएको छ । पश्चिमी क्षेत्रबाट लुम्बिनी आउने पर्यटकलाई सिधै लुम्बिनी लैजाने र ल्याउने मार्गका रूपमा चार लेनको बेलवास —बेथरी पर्यटन मार्ग निर्माण सुरु भएको हो ।

२ अर्ब लागतको सडक डिभिजन सडक कार्यालय बुटवलले ३ वर्षभित्रमा सक्ने लक्ष्य लिएको छ । १ अर्ब २८ करोड रूपैयामा सडक ठेक्का भइसकेको छ । चार लेनको सडकको बीचमा नहर हुने छ । नहरमा बोटि¨ गर्न मिल्ने छ । नहरको दुवैपट्टी २, २ लेनको सडक निर्माण हुनेछ । आसपासमा हरियाली छोडिने छ । बेलवास–बेथरी २१ किमी लामो यो सडकको विस्तारले बुटवल र लुम्बिनीबीचको दुरी आठ किमी घट्ने छ । डिभिजन कार्यालय बुटवलका निमित्त प्रमुख रामपुकार जयसवालले लुम्बिनीबाट बाहिरीने र लुम्बिनी छिर्ने सडक भएकाले यसलाई देशकै नमूना पर्यटकीय मार्गका रूपमा विकास गरिने दावी गरे । यो सडक अहिलेसम्म ३५ प्रतिशत सकिएको छ।


आन्तरीक पर्यटकलाई लक्षीत गरी पश्चिमको सैनामैनाबाट लुम्बिनीसँग जोड्ने सडक निर्माण समेत थालिएको छ । ९ करोड लागतमा पूर्वपश्चिम राजमार्गको रामापुरबाट लुम्बिनी जोड्ने दुई लेनको सडक निर्माण अघि बढेको छ । १८ किलोमिटर लम्बाईको रामापुर–लुम्बिनी सडकमध्ये १० किमीलाई डिभिजन सडकबाट विस्तार गरिने छ । बाँकी ८ किमी सडक लुम्बिनी परिक्रमा सडक आयोजनाले गर्ने छ । सैनामैनाकै मुर्गियाबजारदेखि लुम्बिनी जोड्ने सडकको विस्तार तथा पक्की काम भएको छ ।१३ करोड लगानीको सडक १३ किलोमिटर लम्बाईको सडक निर्माण डिभिजन सडक कार्यालय बुटवलले अघि बढाएको छ ।

भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माणपछि आगामी १० वर्षभित्रमा वार्षिक २० लाख पर्यटक भित्राउने राज्यको योजना छ । संसारभरका बौद्धमार्गीहरूको पहिलो गन्तव्य लुम्बिनी बनाउने लक्ष्य छ । यद्यपि स्तरीय होटल र चुस्त दुरुस्त सेवा नभएको भ्रममा भारतीय बाटोबाट आउने पर्यटक लुम्बिनीमा घुमेर उसैदिन भारतीय वुद्ध सर्किटमा जाने गरेका छन् । सडक सञ्जालले भारतीय बाटोबाट लुम्बिनी आउने र पर्यटकहरू उसै दिन फर्किने समस्या हट्ने व्यवसायीको अपेक्षा छ । ‘उपयुक्त सडक भयो भने पर्यटकलाई लुम्बिनीमात्र खुम्चाउनु पर्दैन ।’ व्यवसायी गोपाल रानाले भने ‘पर्यटकलाई रूपन्देहीकै देवदह,बुटवल, भैरहवा, सैनामैना लगायतमा लगेर राख्न सकिन्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ