arrow

काँग्रेस प्रवक्ता विश्वप्रकाश भन्छनः वैठकमा भजन गाए जस्तो एकै स्वर कहाँ हुन्छ त?

विहिवारको वैठकमा पेश्की वहश मात्र शुक्रवार फेरि वैठक 

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समितिको वैठक शुक्रवार पुनः बस्ने भएको छ। विहिवारको वैठकमा आफ्नो कुरा राख्न चाहने केन्द्रीय सदस्यहरुले राख्न समय नपाएपछि शुक्रवार पुनः बस्ने भएको हो। 

चुनावपछि पहिलोपटक बसेको केन्द्रीय समितिको वैठक पार्टीले चुनावमा व्यहोरेको हारको समिक्षाको विषयमा पनि चर्चा हुने अपेक्षा गरिएपनि वैठक राष्ट्रिय सभाको चुनावमा मात्र केन्द्रीत हुने देखिएको छ। 

बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले चुनावको समिक्षाको कुरा उठाएर केहि तीतो पोखे पनि समिक्षाको बिषयले वैठकमा  आधिकारिक रुपमा प्रवेश पाएको छैन। यद्यपी आफ्नो कुरा राखेकाहरुले पार्टी नेतृत्वको चर्को आलोचना गर्न भने भ्याए। 

वैठकमा केन्द्रीय सदस्यहरुले हालै घोषणा भएको प्रदेशको अस्थायी मुकाम घोषणामा सभापति तथा पार्टी सभापतिले एकलौटी गरेकोदेखि कार्यशैलीमाथि समेत प्रश्न उठाए। केन्द्रीय सदस्य दिपक गिरीले दाङलाई प्रदेशको मुकाम नतोकेकोमा विरोध जनाउँदै वैठक वहिष्कार गरे।

चुनावपछि पहिलोपटक पार्टीको औपचारीक फोरम पाएका केन्द्रीय नेताहरुले आफ्नो कुरालाई गुम्स्याएर राखे झै खोलेका थिए। कतिपय अझ खोल्ने प्रतिक्षामा छन्। 

लामो समयपछि त्यसमाथि पार्टीले व्यहोरेको हारपछि बसेको वैठकमा उठान भइरहेको कुरालाई काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्वभाविक मानेका छन्। 

' वैठक हो सबैको एकै मत कहाँ हुन्छर त्यसमाथि हार व्यहोरेर आएको पार्टीको केन्द्रिय समितिको वैठक कहाँ भजन गाउने बेलाको मन्दिर जस्तो हुन्छ?,' शर्माले भने ' वैठकमा एकै स्वरमा जय जगदिश हरे भजन जस्तै कहाँ गाइन्छ त यो त पार्टीको वैठक हो। यहाँ फरक फरक विचार र तर्क प्रस्तुत हुन्छ अनि निष्कर्षमा पुगिन्छ।'

काँग्रेस केन्द्रीय समितिको विहिवारको वैठकलाई पेश्की वहश मात्र भएको बताउँदै शर्माले भने, ' काँग्रेसको वैठकमा विवाद होला भनेर कुर्नुको अर्थ छैन। '  

शिर्ष नेताहरुले एक अर्कामा हार्दिकता देखाएर छलफलमा प्रस्तुत भएको शर्माले प्रष्ट्याए। यूवा नेताहरुले परिवर्तनको आकाँक्षा राखेर आफ्ना कुरा राख्नुभएको छ। यसलाई पार्टीले गम्भिरतापूर्वक लिएर निर्णय गर्छ उनले थपे। 

सबै नेताहरुको पार्टीले व्यहोर्नु परेको हारको समिक्षा गर्ने मनोविज्ञान देखिएको जनाउँदै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। 

केन्द्रीय समितिको वैठकमा पार्टी जीवनका अनेक विषयहरुको समिक्षा गर्दै र केन्द्रीय समितिबाट महासमितिमा जाने निर्णय हुने तयारी छ। 

महासमितिमा पार्टीको विधानलाई संघीय संरचना अनुसारको वनाउने तयारीमा अहिलेको नेतृत्व छ। महासमितिबाट विधान संसोधन गरि संसोधित विधान अनुसार पार्टी र यसका भातृ संस्थाहरुलाई चलायमान बनाउने कामको जग यो वैठकमा हुने प्रवक्ता शर्माले बताए। 

बैठकमा रामशरण महत, दिलेन्द्रप्रसाद बडु, नविन्द्रराज जोशी, किरण यादव, कमला पन्त, कल्याण गुरुङ लगायतले नेतृत्वको कार्यशैली र विधान विपरितका गतिविधिका कारण पार्टी चुनावमा पराजित हुनु परेको भन्दै आलोचना गरेका थिए।

त्यसैगरी पार्टी महाधिवशेनमा सभापति देउवाको टिमबाट महामन्त्री पदमा चुनाव लडेका नेता अर्जुननरसिंह केसीले सभापति देउवा र उनको कार्यशैलीको चर्को आलोचना गर्दै आफू संसदीय समितिमा भएपनि उम्मेदवार छनौट गर्दा सभापतिको गुटका व्यक्तिले मात्रै गोप्य ढंगले गरेको आरोप लगाएका थिए।

चन्द्र भण्डारी, प्रदिप पौडेलले पनि पार्टी नेतृत्वको कार्यशैलीको विरोध गर्दै पार्टीभित्र सुधारको प्रक्रिया संसदीय समिति र कार्य सम्पादन समिति भंग गरी विधान सम्मत ढंगले गठन गर्न माग गरेका थिए।

बैठकमा पार्टी नेता विमलेन्द्र निधिले राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचनमा के कसरी अघि बढ्न सकिन्छ र पार्टीका उम्मेदवार जिताउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत गर्न सुझाव राखेका थिए।

सभापति देउवाको बचाउ गर्दै प्रकाशशरण महत, महेन्द्र यादव, एनपी साउद, अतहर कमाल मुसलमान लगायतले राष्ट्रियसभाको निर्वाचन नसकिँदै निर्वाचनको समिक्षा हुन नसक्ने बताउँदै सबैको ध्यान राष्ट्रियसभा सदस्य निर्वाचनको विषयमा केन्द्रीत गर्न आग्रह गरेका थिए। 

बैठकमा महेश आचार्य र मिनेन्द्र रिजालले पार्टीभित्र कहि कतै कमिकमजोरी भए त्यसलाई सुधार गर्दै जान सकिने बताउँदै तत्काल राष्ट्रियसभा सदस्य निर्वाचनको विषयमा छलफल केन्द्रीत गर्न सुझाएका थिए।

वैठक शुक्रवार फेरि बस्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ