arrow

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ : कानूनमन्त्री थापा

चुनाव हारेकाहरु काम नभएर अहिले आन्दोलनमा उत्रिएका छन् : कर्ण

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
senior_leaders.JPG

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुनेगरि आफूहरुले राजिनामा दिने तयारी गरिरहेको स्पष्ट पारे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले भने,‘मैले यसअघि पनि यही क्लबको मञ्चबाट बोलेको थिएँ, हामी फागुण ७ गतेभित्रै नयाँ सरकार गठनको लागि वातावरण बनाउँछौं, वाम गठबन्धनले फागुण ७ गते नै आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नुहुन्छ, हामी प्रतिपक्षमा बस्छौं।’ उनले आफूहरुलाई सत्तालिप्सा देखाएको भनेर सार्वजनिक रुपमा आरोप लगाउँदै आईएकोले जतिसक्दो चाँडो सरकार छोड्न आँतुर रहेको र सोही अनुसार तयारी गरिरहेको पनि जानकारी दिए । उनले भने,‘प्रदेश प्रमुखहरु बस्ने ठाउँ, अधिवेशन गराउने हलको बन्दोबस्दो लगायत आन्तरिक गृहकार्य गरिरहेका छौं, उहाँहरुलाई चाहिने कुनैपनि कुराको कमी हुँदैन्, हुन दिँदैनौं।’

उनले वाम गठबन्धनको बहुमत भएकोले नयाँ सरकार गठनको लागि वातावरण बनाईदिएकोमा धन्यवाद दिनुपर्ने बेलामा सरकार गठनको लागि मार्गप्रशस्त गरेन भनेर आरोप लगाउनु दुःखदायी कुरा भएको समेत बताए । उनले चाँडो भन्दा चाँडो नयाँ सरकार बन्नेमा कुनै शंका नभएको समेत स्पष्ट पारे ।

सरकारले हालै तोकेको प्रदेश कार्य सञ्चालन स्थानलाई प्रदेशको अस्थायी राजधानी भनेर भन्न नमिल्ने उनको भनाई थियो । मन्त्री थापाले भने,‘यहाँ कुरा बुझिएन्, आफ्नो पायक पर्ने ठाउँमा राजधानी हुनुपर्छ भनेर भन्नु स्वभाविक हो, अस्थायी राजधानी तोक्ने हामी को हौं ? राजधानी तोक्ने अधिकार छैन्, राजधानी वा मुकाम होईन, यो त प्रदेश सभा सञ्चालन गर्नको लागि स्थान तोकिने हो, संविधानको धारा २८८ को २ अनुसार प्रदेश सभाका दुई तिहाई सदस्यहरुले राजधानी तोक्ने हो।’

उनले अहिले नबुझीकन अस्थायी राजधानीको नाममा आन्दोलन मत्थर भएन भने दुई तिहाईले पनि तोक्न सक्ने अवस्था नआउन सक्नेतर्फ चिन्ता व्यक्त गरे । उनले भने,‘आन्दोलन चर्कदै गयो भने कट्टरतामा परिणत हुन्छ।’ उनले अहिले तोकिएको प्रदेश सभा सञ्चालन स्थान परिवर्तन नहुने पनि जिकिर गरे ।
 
व्यवसायी अजेयराज सुमार्गीको बारेमा कान्तिपुर मिडियाले सरकारमाथि लगाएको आरोपबारे पत्रकारले सोधेको एक प्रश्नमा मन्त्री थापाले भने,‘गलत भएको छ भने छानबिन हुन्छ, अहिले सम्बन्धित निकायले काम गरिरहेको छ, सम्बन्धित निकायले यसबारेमा हेरिरहेको छ।’ उनले सुशासन कायम गर्न, भ्रष्टाचार निर्मुल पार्न र शुन्य सहनशिलताको लागि सरकारले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए ।

नेकपा एमालेका नेता केशब बडालले सरकारले पर्याप्त विचार पुर्याएर नै प्रदेशको अस्थायी राजधानी तोकेको भएकोले अहिलेको ढाँचामा विरोध गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे । उनले भने,‘विधिको शासन मान्नुपर्छ, तर सरकारले निर्णय गर्दा सार्वजनिक रुपमा जनतासँग भन्नुपर्दथ्यो, यो कारणले हामीले यो प्रदेशको राजधानी यहाँ तोक्यौं भनेर भनिदिएको भए अहिले देखिएकोजस्तो आन्दोलन हुँदैनथियो।’

नेता बडालले प्रदेशको स्थायी राजधानी प्रदेश सभाका सदस्यहरुको दुई तिहाईले तोक्ने संवैधानिक व्यवस्था भएको उल्लेख गर्दै भने,‘अहिले आन्दोलन गर्नुभन्दा पनि अब दुई तिहाई पुर्याउनको लागि मेहनत गर्नुपर्छ।’ आफूले एक वर्ष पहिल्यै नै लेख लेखर कुन प्रदेशको राजधानी कहाँ हुनुपर्छ भनेर वैज्ञानिक र वस्तुगत आधार नै पेश गरेको उल्लेख गर्दै भने,‘मैले त एक वर्ष पहिले (यद्धपी यो मेरो व्यक्तिगत विचार हो) नै लेखेको थिएँ, १ नम्बरको ईटहरी +विराटनगर, २ नम्बर प्रदेशको जनकपुर + ढल्केवर, ३ नम्बर प्रदेशको भत्तपुर, ४ नम्बर प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको दाङ(त्यसमा पनि लमही), ६ नम्बर प्रदेशको सुर्खेत, र ७ नम्बर प्रदेशको धनगढी अत्तरिया हुनुपर्छ भनेको थिएँ ।’

उनले कि त सरकारले कार्यदलको आधारमा प्रदेशको अस्थायी राजधानी तोक्नुपर्दथ्यो वा पूनरावेदन अदालत भएको ठाउँ हेरेर गर्नुपर्दथ्यो भन्ने अभिव्यक्ति राख्दै भने,‘सरकारले जे निर्णय गरेको छ, यसमा पर्याप्त ध्यान दिएकै होला नि, अझ बढी ध्यान दिएको भए राम्रो हुन्थ्यो।’

नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनाल बलदेवले एमाले–माओवादी केन्द्रवीच चाँडै एकता हुनेगरि गृहकार्य भैरहेको जानकारी दिए । उनले भने,‘आज र भोलि नै हाम्रा दुई अध्यक्षहरुवीच भेटवार्ता भएर सबै कुरा खासगरी पद बाँडफाँड टुँगो लगाउनुहुन्छ, पार्टी एकता अब छिट्टै हुन्छ।’ उनले दुई नेताहरुमध्ये एक जना प्रधानमन्त्री र अर्को अध्यक्ष हुनेपनि विश्वास दिलाए । संवैधानिक जटिलताहरु भएकोले सरकार गठनमा केही ढिलाई भैरहेको उनको स्पष्टोक्ति थियो ।

नेताहरुले चुनावी नारा दिँदा नै यो प्रदेशको राजधानी यो ठाउँ हुन्छ भनेर सार्वजनिक रुपमा बोलेको उल्लेख गर्दै नेता खनालले भने,‘अरु प्रदेशको कुराहरु पनि छन्, तर ५ नम्बर प्रदेशको हकमा हामीले पनि राजधानी कपिलवस्तु हुनुपर्छ भनेर सार्वजनिक रुपमा कुरा उठाएकै हो, सबै हिसावले कपिलवस्तु उपर्युक्त हुन्छ।’ उनले ५ नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएकोले आन्दोलन हुनु जायज भएको समेत स्पष्ट पारे ।

उनले भने,‘अब आन्दोलन गर्नुभन्दापनि कसरी दुई तिहाई पुर्याउन सकिन्छ भन्नेतिर कसरत गर्नुपर्छ, तर सबै हिसाबले कपिलवस्तु उपर्युत छ, यो ऐतिहाँसिक छ, राजधानी बनेसँगै सिद्धार्थ गौतम बुद्ध जन्मेको ठाउँ नयाँ शहर बन्छ।’

राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले मुलुकमा १० प्रदेश भईदिएको भए अहिले प्रदेशको अस्थायी राजधानीको नाममा कुनै आन्दोलन नै नहुने थियो भन्ने धारणा राखे । उनले भने,‘सरकारले तोकेको अस्थायी राजधानीको बारेमा थुप्रै ठाउँमा विवादहरु छन्, आन्दोलन भएका छन्।’

उनले ७ प्रदेश वैज्ञानिक नभएको समेत जिकिर गरे । उनले भने,‘जनताले एकातिर माँग गरे, तीन ठूला पार्टीहरुले अर्के गरिदिए, त्यसैले ७ प्रदेश अवैज्ञानिक थियो, अहिलेको आन्दोलन पनि त्यसैको प्रतिफल हो।’
उनले २ नम्बर प्रदेशको राजधानी वीरगन्ज हुनुपर्छ भनेर अहिले जारी आन्दोलनबारे टिप्पणी गर्दै भने,‘अहिले आन्दोलन जरुरी छैन, आन्दोलन गर्नुको कुनै औचित्य छैन, धैर्यता गर्नुपर्ने थियो, निर्वाचित संस्थाले फंक्सन गरेको छैन, अहिलेको आन्दोलनमा काम नपाएकाहरु खासगरी चुनाव हारेकाहरुले गरेका हुन्।’ उनले चुनावमा हारेकाहरुले काम नभएकोले आन्दोलन गरिरहेको आरोप लगाए ।

त्यस्तै उनले सरकारले हालै नियुक्त गरेका प्रदेश प्रमुखहरु निर्वाचित नभएकोले नयाँ सरकारले यसबारेमा पनि विचार गर्न सक्ने बताए । प्रदेश प्रमुखहरुलाई अनुभव केही पनि नभएकोले यसको लागि बरु सेमिनार, गोष्ठी र तालिमहरुको व्यवस्था गर्नुपर्नेतिर सरकारको ध्यानाकार्षण गराए ।

उनले प्रदेश प्रमुखहरुलाई परिवर्तन गर्नुभन्दापनि तालिम प्रदान गर्नतिर ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने,‘प्रदेश प्रमुख चेन्ज गर्दा असर पर्छ, संघीयतामा पनि असर पर्छ।’

उनले अब छिट्टै नयाँ सरकार गठन हुने पनि विश्वास दिलाए । उनले भने,‘राष्ट्रिय सभाको निर्वाचन हुँदैछ, संसदले पूर्णता पाएपछि नयाँ सरकार गठन हुन्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ