- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार पनि एक्ला एक्लै वार्ता भएको छ ।
ओली निवास बालकोट पुगेका दाहालले एक घण्टा कुराकानी गरे । वार्तापछि बाहिरिदैँ दाहालले ‘ठोस विषयमा कुरा भयो’ भने ।
उनले भने, ‘ठोस विषयमा कुरा भयो । आइबार दिउँसो ३ बजे पार्टी एकता संयोजन समिति बैठक बस्छ । त्यसबाट केही नतिजा आउँछ । ओली–दाहाल भेटमा कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन सम्बन्धी रिपोर्ट र पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तथा पार्टी एकताको साझा दस्तावेज लगायतका विषयमा छलफल भएको बताइएको छ ।
यद्यपि, ओलीका प्रेस संयोजक चेतन अधिकारीले यो भेटबारे अरुलाई खासै जानकारी नदिइएको बताए । उनले भने, ‘यो भेटको भेउ पाइएन ।’
‘प्रचण्ड’ कमजोर
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेलाई नै माओवादी केन्द्रको गुरु भन्न थालेका छन् । यसबाट उनी कमजोर भएको आकलन गरिँदै छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक अन्तरक्रियामा अध्यक्ष दाहालले सशस्त्र संघर्षमा र संसदीय राजनीति माओवादीले भन्दा पहिला एमालेले सुरु गरेका कारण एमाले गुरु हो, भने ।
उनले भनेका छन्, ‘हामी भन्दा पहिले एमालेले पहिले सशस्त्र संघर्ष सुरु गरेको छ । संसदीय राजनीतिमा पनि एमाले अगाडि–अगाडि लाग्यो हामी पछाडि लाग्यौँ ।’
दाहालले एमालेसँगको एकता तत्काल नभई हिजोका प्रक्रियाको विकसित रुप भएको पनि बताए । दाहालले दरबार हत्याकाण्ड पछाडि भारतको सिलगुढी, पटना, दिल्ली र शान्ति सम्झौता अगाडि रोल्पामा दुई पार्टीबीच एकताबारे लिखित–मौखिक सहमति भएको फेरि सुनाए ।
यसअघि पनि दाहालले पटक पटक यो सन्दर्भ उठाउँदै आएका छन् । प्रचण्ड आत्मसमर्पणको बाटोमा पुगेको भन्दै माओवादीभित्रै भिन्न विचार उब्जिएको छ । माओवादी भित्रका एक थरीले प्रचण्ड गलिसकेको र अब त्यो भन्दा माथि उठ्न सक्दैनन् भन्न थालेका छन् ।