arrow

खर्च धान्न ट्याक्सी चलाउने प्रहरी जवानको यस्तो छ पीडा

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
police-head-Q.jpeg

काठमाडौं। माघको पहिलो साता काठमाडौंको तापक्रम रातको ११ बजे यति नै थियो भन्ने यकीन नभएपनि बाहिरको मौसम निकै चीसो थियो। अन्य दिनभन्दा अतिरिक्त कामका कारण तीनकुनेमा रहेको कार्यालयमा नै झण्डै झण्डै मध्यरात भईसकेको काठमाडौंको चीसो मौसममा यात्रा थियो काठमाडौंको तीनकुनेदेखि ललितपुरको मंगलबजारसम्म।

अफिसबाट निस्कनेवित्तिकै बाहिरको शून्यतालाई चुनौती दिने एकाध मोटरसाईकलको घाईघुँईपनि कानको बोझ बनेर आएको थियो। दिउँसोको समयमा हजारौं मोटरसाईकलको आवाजको सामना गरेको कानलाई राती एकाध मोटरसाईकलको आवाज सामना गर्न पनि कठिन भईरहेको थियो। चकमन्न त्यो सडकमा त्यही मोटरसाईकल र सडकमा गाडिएका सोलार बत्तिहरुले भरपुर प्रकाश दिईरहेका थिए।

एकै छिन सडक किनारामा उभिएपछि कोटेश्वर तर्फबाट एउटा पुरानो डिजाईनको ट्याक्सी आईपुग्यो। एक पाईला अघि बढेर हात दिएपछि मेरै अघि आएर ट्याक्सी रोकियो। भर्खरै २५/३० वर्ष पुगेको भान हुने चालकले कहाँ पुग्ने भन्ने सोध्नुभन्दा पहिले ट्याक्सीको ढोका खोलेर मंगलबजारको नाम लिएपछि ती चालकले पनि दोहोरो केही नसोधी ट्याक्सी हाँके।

ट्याक्सी चढ्नु नपरेको पनि धेरै समय भएको थियो। नियमित मर्मतको लागि मोटरसाईकल छाडेको यही दिन संयोगले नै मान्नुपर्छ कार्यालयीय कामले रातीसम्म कार्यालयमा रातीसम्म बस्नुपरेको मैले ट्याक्सीको वेग सुरु भएसँगै आफैंले चालकसँग परिचयको बोली फालेँ। सुरुमा स्थायी घर सोधेको मैले एउटै जिल्लाबासीभन्ने थाहापाएसँगै पहिलै प्रश्नको उत्तरबाट उनीसँग अझ अपनत्व महसुश गर्न थालिसकेको थिएँ।

रात छिप्पिईसकेको ले घर जानको लागि मेरो सामु ट्याक्सीको विकल्प पनि थिएन। पहिलो केही प्रश्नसम्म खासै खुल्न नसकेका उनी नयाँ ट्याक्सीमा एउटा अंक घुमिसकेपछि भो विस्तारै आफ्नो बह पोख्न थाले। नयाँ वानेश्वरबाट शंखमूलको छोटोबाटो हुँदाहुँदै पनि उनले ट्याक्सी माईतीघरको बाटो तर्फ हाँक्न थाले। उनले सबैभन्दा पहिले अरुले जस्तो नेतालाई सराप्न थालेनन्। न त आफ्नो भाग्यलाई नै सराप्न थाले। एक्कासी उनले मलाई दिएको परिचयले म एकाएक छाँगाबाट खसेको जस्तो भएँ। उनले जिल्लाबासीको नाताले मलाई खोलेको आफ्नो परिचय र उनलाई आफ्नो आँखाले देखेको सत्य तस्वीरको बारेमा मैले अहिलेसम्म सोचेको पनि थिईन। नयाँ वानेश्वरमा रहेको कृष्ण टावर नजिकै आईपुग्दा उनले एक्कासी आफू बहालवाला प्रहरी जवान रहेको भन्ने सुन्ने वित्तिकै मैले उनको अनुहारमा हेरेँ।

अगाडि बाटो हेर्दैगरेको उनको आँखामा मलीनता त देखिन्थ्यो। तर, उनको बोलिमा भावुकताबाहेक अरु केही देखिँदैन थियो। उनले विस्तारै आफ्नो बेलिविस्तार सुनाउँदै गएँ। म आफैंबरु उनको त्यो कहानी सुन्दा आफैं अवाक् भएको थिएँ। सरकारको सुविधा पाएर पनि सरकारी संयन्त्रलाई सराप्ने बुज्रुकहरुलाई सम्झिएँ। उनको इमान्दारिता र उनको दुखलाई एकै ठाउँमा राखेँर सबैले जस्तो कुरा सुरु गर्नुपूर्व कुनैपनि राजनीतिक दलका नेता र प्रशासकहरुलाई नसरापी आफ्नो कुरा राख्न थालेको उनको त्यो शैलीलाई साँच्चिकै भित्रि मनदेखि नै स्यालूट हान्न मन लाग्यो।

उनले आफ्नो पीडा सुनाउँदै गए। म एउटा अबोध बालकजस्तो उनको त्यो कहानीमा डुब्दै गएँ। म उनको फिल्मी शैलीको पटकथामा कहिलेकाहीँ बढी भाबुक हुँदा विपरित दिशाबाट आएका सवारीको तेज प्रकाशले ब्यूझाईदिन्थ्यो।  

थापाथलीसम्म आईपुग्दा ट्याक्सीको मिटरसँगै उनको पीडाको पोको पनि घुमिरहेको थियो। लाग्थ्यो उनी एउटा पत्रकारलाई त्यो पीडा सुनाएर आफ्नो समस्या समाधानको अपेक्षा राखिरहेका छन्। तर, म एउटा नयाँ आश्चर्यमा डुबिरहेको थिएँ।

मैले सोधेँ कसरी समय मिलाउँनु हुन्छ त ?

उनले भने अफिसको काम भएको बेलामा अफिसकै काममा जान्छु अफिसबाट फर्किएपछि खाजा खाना खाएर अनि काम सुरु गर्छु । विहान ५ बजे साहुलाई नै ट्याक्सी बुझाएर सुत्न जान्छु। हिउँसो ट्याक्सीवालाले नै चलाउँछ। चिनजानका उनलाई मैले पनि विश्वास घात गर्ने गरेको छैन। कमाईभएको पैसामा तेल हालेर आधाआधा गरिन्छ।

उनी आफ्नो पीडा सुनाउनमा नै व्यस्त थिए भने म उनको पीडाको स्रोता बनेर सुनिरहेको थिएँ। उनको त्यो पीडा भित्र मैले नसोचेको एउटा जीवन जिउँदै थियो। राती त्यसरी ट्याक्सी चलाउने ती चालक कुनै पेशेवर ट्याक्सी चालक मात्रै थिएनन्। जो दिनभर ट्याक्सी चलाएर मात्रै आफ्नो गुजारा चलोस्। ती चालक अदृश्य रुपमा ट्याक्सी चालक थिए भने उनको बाहिर देखिने पेशा थियो नेपाल प्रहरीको जवान।

उनले दिनभरी बाँसको छडी बोकेको हातमा रातपरेपछि ट्याक्सीको स्टेरिङ पर्छ भन्ने कुरा न त त्यतिबेला पत्याउन सकियो न त अझैसम्म पनि त्यसलाई पत्याउन सक्ने अवस्था छ। तर, उनको प्रस्तुतीमा देखिएको भावुक शैली, उनको भित्रैदेखिको रोदन र उनको सिधासादापनले पनि उनको त्यो अभिव्यक्तिलाई पुष्टि गरिरहेको थियो। साथमा उनले सेवा सुरु गरेको भन्ने ठाउँ नै तोकेर बताएपछि झनै उनको भनाईमा विश्वास गर्ने कर लाग्यो।

५ वर्ष अघि नेपाल प्रहरीमा जागिर सुरु गरेका धादिङ धुनिवेशीका प्रदीप श्रेष्ठ नाम परिवर्तन हुन् उनी। जागिर सुरु गरेको ४ वर्षसम्म उनलाई पनि अरुलाई जस्तै कुनै दोस्रो पेशा गर्नु परेन। प्रहरीकै ब्यारेकमा खान्थे, बस्थे, श्रीमतीलाई घरमा नै राखेका थिए। प्रहरीमा भर्ति भएपछि विवाह गरेका उनको एक वर्ष पछि एउटी छोरी पनि जन्मिएकी थिईन। आफू धेरै पढ्न नसकेर पछुताएको भएपनि छोरीको भविष्य सम्झिएर उनले अघिल्लो वर्ष मात्रै श्रीमती र छोरीलाई काठमाडौं ल्याएका थिए।

काठमाडौंको कलंकीमा बस्दै आएका उनले छोरीलाई आफू दुख गरेर भएपनि राम्रै बोर्डिङ स्कूलमा पढाएको बताए। त्यसो त छोरीको पढाईको लागि मात्रै भन्दा पनि उनले आफ्नी श्रीमतीको मायाले पनि श्रीमतीलाई काठमाडौं ल्याएका थिए। तर, उनले त्यो सोचेनन् कि आफ्नो कमाईले काठमाडौंमा कसरी पालिने भनेर ? जसोतसो श्रीमतीलाई पाल्दै आएका उनीमाथि छोरीको विद्यालयको खर्च समेत थपिएपछि भने खर्चले थेग्नै नसक्ने भएपछि अर्कै बैकल्पिक पेशामा लागेको सुनाउँछन्।

उनी आफूमात्रै नभएर प्रहरीमा जागिर खाएर ट्याक्सी चलाउनेकाम धेरै साथीहरुले गर्ने बताउँछन्। उनले यति कुरा भनिसक्दा म भने पहिले नै आफू झर्ने गन्तव्यमा पुगिसकेको थिएँ। म उनको त्यो नाटकीय जीवनलाई आफ्नो आँखाभित्रको रंगमञ्चमा प्रदर्शन गराउनमा नै व्यस्त थिएँ। उनले पनि आफ्नो पीडा सुनाउने विश्वासिलो माध्यम भेटेको अनुभूति गरेकी के हो ट्याक्सी रोकेर नै झण्डै २२ मिनेटसम्म आफ्नो पीडा सुनाई रहे। देशको राष्ट्र सेवकले आफ्नो पेशागत इमान्दारिता जोगाउनको लागि ट्याक्सीको ह्याण्डल समात्नुपर्ने अवस्था न त श्रेष्ठको कारणले भएको हो न त उनको परिवारकै कारणले। नेपाल प्रहरीको नेतृत्वमा पुगेका प्रहरी अधिकारीहरु उनीहरुको पीडा र समस्यालाई सुल्झाउन भन्दापनि कमाउधन्दाको रुपमा प्रहरी संगठनलाई प्रयोग गर्न तर्फ उद्दत हुँदा यस्ता इमान्दार प्रहरी जवानको हात र रात दुबै ट्याक्सीको ह्याण्डलमा वित्ने गरेको छ।  

म सँग त्यति दुखको पोको खोलीसमेपछि उनी पनि मध्यरातमा आफ्नो परिवारको गुजारा चलाउन र नेपाल प्रहरी भित्र इमान्दार प्रहरी जवानको रुपमा दर्ज हुनको लागि अर्को यात्रुको प्रतिक्षामा हिँडे। उनी आफूले बरु ट्याक्सी चलाएर भएपनि आफ्नो पेशागत इमान्दारितामा भने आँच आउन नदिएको उनी बताउँछन्। तर, प्रहरी संगठन भित्र पुरस्कार भने इमान्दारितालाई लीलामीमा विक्री गर्ने प्रहरी अधिकारीले मात्रै पाउने गरेको गुनासो पनि गरे। आफूले पेशागत इमान्दारिता बेचेको भए राती राती ट्याक्सी चलाएर बस्नु नपर्ने तर्क उनी गर्छन्। यसरी सबै दुखको पोको एकैपटक छताछुल्ल बनाएर हलुंगो मनले ओर्लिँदै गरेको मलाई रात्रीकालीन अभिवादन स्वरुप एउटा जय नेपाल टक्र्याएर उनी र म दुबै आ आफ्नै गन्तव्यतिर लाग्यौ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ