arrow

एमालेकाे ध्यान सरकारतिर : प्रदेश सभाको बैठक अघि नै संसदीय दलको बैठक

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । एमालेले प्रदेश सभाको पहिलो बैठक अघि नै प्रदेश संसदीय दलको बैठक आयोजना गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले प्रदेशसभा संसदीय दलको बैठक र दल नेताको निर्वाचन सम्बन्धमा गरेको निर्णयमा, ‘सातै प्रदेशका प्रदेश प्रमुखहरूबाट सम्बन्धित प्रदेश सभाको पहिलो बैठक आह्वान भइसकेको छ । तसर्थ प्रदेशसभाको प्रथम बैठक अगावै प्रदेशसभा संसदीय दलको बैठक आयोजना गर्ने’ भनिएको छ ।

प्रदेशसभामा दल तथा दलका सदस्यहरूका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने निष्कर्ष निकालिएको स्थायी समिति सदस्यहरुले बताएका छन् ।

बैठकमा संसदीय दल नेताको निर्वाचन सम्पन्न भएको प्रदेशमा दल नेताको अध्यक्षतामा र दल नेताको निर्वाचन सम्पन्न हुन बाँकी रहेका प्रदेशमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने निर्णय पनि भएको छ ।

प्रदेशसभा संसदीय दलको नेता चयन हुन बाँकी रहेका प्रदेशहरूमा माघ २४ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भए लगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने र दल नेताको चयन गर्ने भनिएको छ ।

यस्तै, संसदीय दल नेताको निर्वाचनका लागि दलको बैठकबाट ३ सदस्यीय निर्वाचन कमिटी गठन गर्ने निर्णय भएको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । स्थायी समिति बैठकले प्रदेशसभा संसदीय दलको नेताका लागि एक भन्दा बढीको उम्मेदवारी भएमा गोप्य मतदानबाट निर्णय गर्ने विधि तय गरेको छ ।

दलको नेता तथा सभामुखको निर्वाचन लगायत निर्वाचनको सिलसिलामा कुनै पनि प्रकारका अनुचित र अस्वस्थ गतिविधि गर्न नदिने निर्णय पनि स्थायी कमिटीले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ