arrow

स्वराज भ्रमण : प्रधानमन्त्रीलार्इ भन्दा भावी प्रधानमन्त्रीलार्इ बढी महत्व 

logo
अश्रु किरण,
प्रकाशित २०७४ माघ १७ बुधबार
oli_sworaj1.jpg

काठमाडौं । बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज २ दिने नेपाल भ्रमणमा आउँदैछिन् । दुईदेशीय सम्बन्धमा केही सुधारको संकेत देखिएको, निर्वाचनबाट बाम गठबन्धनको बहुमत आएको र सम्भावित प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भारतलाई सँगै काम गर्न ईच्छुक रहेको भन्ने व्यहोराको पत्र पठाईएको अवस्थामा सम्बन्ध सुधारको लागि भन्दै स्वराज नेपाल आउन लागेकी हुन् । 

विहीबार नेपाल आएलगत्तै स्वराजले प्रोटोकल अनुसार नै राष्ट्रपति, प्रधानमन्त्री लगायतका सरकारी पदमा बसेका व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ । स्वराज नेपाल आउने विषयमा जति चासो सत्तारुढ दल नेपाली काँग्रेसलाई छ त्यो भन्दा बढी चासो एमालेजनमा देखिएको छ । ओलीकै आग्रहमा सुस्मा स्वराज नेपाल आउन लागेको विषय पनि विस्तारै पुष्टि हुँदै गैरहेको छ । 

परराष्ट्र मन्त्रालयका एक अधिकारी अचानक सुष्मा स्वराज नेपाल आउनलागेको विषयलाई अचम्मको विषय मान्छन् । 'दुबै देशका कर्मचारीहरुबीच छलफल र सूचना आदानप्रदान त चलिरहेकै हुन्छ । तर, केही दिन अघिसम्म केही जानकारी नभएको स्वराज भ्रमण एकाएक कसरी तय भयो यस विषयमा हामी नै अचम्ममा परेका छौं ।' ती अधिकारीले भने ।  

ती अधिकारीका अनुसार सुस्मा स्वराजको यो भ्रमण राष्ट्रपति र प्रधानमन्त्री भन्दा पनि यहाँका अन्य राजनीतिक दलका प्रमुख नेताहरुसँगको भेटलाई बढी प्राथमिकता दिईएको पाईएको छ । यसको सन्देश त अहिले धेरैले अनुमान गरिरहेकै कुरा हुनसक्छ । 'नेपाल आईसकेपछि औपचारिकताको लागि प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेट त हुनेछ ।' ती अधिकारी भन्छन् 'तर, उनको प्राथमिकता प्रधानमन्त्री र राष्ट्रपतितिर भन्दा पनि बाम गठबन्धनका नेताहरुतिर बढी केन्द्रीत भएको छ ।' 

यो अवस्थामा स्वराजको भ्रमणलाई धेरैले शंका र रहस्यको रुपमा हेरेका छन् । कसैले यो ओलीको निमन्त्रणामा आएको भन्ने जवाफ फर्काएका छन् भने कसैकसैले विग्रिएको दुईदेशीय सम्बन्ध सुधारको लागि आउन लागेको बताएका छन् । केही राजनीतिक बृत्तमा त माओवादी अध्यक्ष प्रचण्डलाई अध्यक्षबाहेकका अरु पदमा व्यवस्थापन गर्नेकाममा सहयोग गर्नको लागि स्वराज नेपाल आएको अड्कल समेत सुरु हुन थालेको छ । 

स्वराजले मुख्य दलका शीर्षनेताहरुसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ । स्वराजको नेपाल ल्याण्ड भएलगत्तै उच्च राजनीतिक भेटघाटमा रहने स्वराज साँझ ६ वजे हुनेवाला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने तयारीमा रहेको एमाले निकट स्रोतले जनाएको छ । 

एमाले अध्यक्ष ओली र स्वराजबीच सोल्टी होटलमा भेट हुँदैछ। नेपाल बसाइका क्रममा भारतीय विदेशमन्त्री स्वराज सोल्टी होटलमा नै रहनेछिन्। भारतीय प्रधानमन्त्रीको विशेष दुतका रुपमा नेपाल भ्रमणमा आउन लागेकी स्वराजले सोल्टीमा एमाले अध्यक्ष ओलीसँग एक्लाएक्लै भेट गर्नेछिन। 

भेट पछि मधेशी दलका नेताहरुसँग स्वराजले सोल्टीमै भेट्ने भएकी छिन। एमाले अध्यक्ष ओलीले सोल्टीमै स्वराजलाई डिनर गराउने छन्। भारतीय दुतावास निकट स्रोतका अनुसार स्वराजको नेपाल भ्रमणको अवसरमा बिहिवार रातिको रात्रीभोजको व्यवस्था एमाले अध्यक्ष ओलीले नै गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ