arrow

शिवहरी सामुदायिक वनमा आदेश बिनै काठ काटियो, समितिविरुद्ध उपभोक्ताको उजुरी

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७४ माघ २४ बुधबार
wood.jpg

पुनर्वास । कञ्चनपुरको दक्षिणी भेगस्थित पुनर्वास नगरपालिका ४ स्थित शिवहरी सामुदायिक वन समितिले झाडी सफाई भन्दै काटिएको काठ नियम बिपरित भन्दै स्थानिय उपभोक्ताले दिएको उजुरीबारे अनुगमनपछि बदमासी भएको वन कार्यालयले जनाएको छ ।

केही दिनअघि सामुदायिक वन समितिले झाडी सफाई गर्न ढला पडा र सुकेका रुख कटान र संकलन गर्ने निर्णय गरि सेक्टर वन कार्यालयमा माग गरे पनि अनुमती आउनु अगाडिनै काठ संकलन गरिए पछि बिवाद चुलिएको हो । 

उजुरी पश्चात् सेक्टर वन कार्यालयले उक्त वनमा संकलन गरिएका काठको बिषयमा मंगलबार अनुगमन गरेको हो । 

वन समितिले काठ संकलनको सन्दर्भमा बदमासी गरेको देखिएको सेक्टर वन कार्यालय कुण्डाका अधिकृत दिनेश कुमार यादवले बताए ।  उनले भने ‘वन समितिले काठ संकलन र कटानीमा नियम मिचेको भन्ने उजुरी आए पछि वन कार्यालयले छानबिनको प्रक्रिया अघि बढाएको छ ।’

 वन अधिकृत यादवले भने ‘सो बिषयमा उक्त वनको अनुगमन समेत गरेको र काठ संकलनका विधि र प्रकृया समितिको बदमासी देखिएको छ ।’ उनी भन्छन् ‘नियम अनुसार आबश्यक कार्वाही वन समितिलाई हुने छ ।’ 

पुनर्वास नगरपालिका ४ र बेलौरी नगरपालिका १ का उपभोक्ता रहेको उक्त वनमा समितिले काठ संकलन गरि पठान र गोलिया बनाउँदा नियम बिपरित भएको भन्दै स्थानिय उपभोक्ता हरुले उजुरी दिएपछि उक्त बिवाद सार्वजनिक भएको हो । 

यी दुबै क्षेत्रका उपभोक्ताहरुबीच बिगत लामो समय देखि नै बिवाद देखिँदै आएको छ । स्थानिय जानकारहरुका अनुसार गरिबी निवारण कार्यक्रम मार्फत सो भिरालो क्षेत्रको संरक्षणका लागि बृक्षारोपणमा जुटेको समुदाय र सामुदायिक वन निर्माणमा खटेका दुई पक्षबीच वनलाई दुई भागमा बाँडिनु पर्ने बिषयमा  लामो समय देखि बिवाद चल्दै आएको हो । 

सानो क्षेत्रफलमा रहेको उक्त सामुदायिक वन लाई बिभाजन गर्न नमिल्ने प्राबधान भएकोले एकै वनमा उपभोक्ता बनाईएको हो । 

२० हेक्टर क्षेत्रफलमा रहेको उक्त वन २०५९ सालमा बिधिवत रुपमा सामुदायिक वन ऐन अन्तर्गत दर्ता भएको हो । पुनर्वास क्षेत्र र बेलौरी नगरपालिकाको वडा नम्बर १ स्थित भिरालो जमिनमा बृक्षा रोपण गरि हुर्काइएको वन हरियाली देखिए पनि लामो समय देखि नै बिवाद खेप्दै आईरहेको छ । 

उक्त सामुदायिक वन समितिले उपभोक्ता भेलाबाट झाडी सफाई गरि काठ संकलन गर्ने प्रस्ताब अनुमोदन गरि वन कार्यालयमा गरेको मागको अनुमती आउनु अगाबै हतार हतारमा काठ संकलन कार्य गरिए पछि उपभोक्ताहरु आशंकित बनेका हुन । 

उक्त शिवहरी सामुदायिक वन समितिका अध्यक्ष बिरदत्त भट्टले यो रिस इबि का कारण बिवाद बढेको हो  । सानो कामलाई ठूलो बनाइयो तर काम गर्दै गर्दा केही त्रुटि भएको स्विकार्दै अध्यक्ष भट्टले भने ‘गोलिया  निकाल्दा गल्ती भयो’ ।  

शिवहरी सामुदायिक वनका सचिव भोला तिमिल्सिना भन्छन्  ‘उपभोक्ता भेला र समितिले वनकार्यालयमा ढलापडा संकलन गर्न माग पत्र पेश त गरिएकै हो तर चाँडो काम गर्ने चक्करमा  यस्तो भयो ।’ 

उनले भने ‘अनुमति नआउँदै काटिएर त्रुटि भयो तर मनसाय गलत होइन सानो त्रुटिलाई मुद्दा बनाउने काम गरियो ।’ 

झाडी सफाई तथा ढला पडा काठ संकलन, बिक्री बितरण गरि वन संरक्षण र वन बिकासमा रकम लगाउने वन समितिको क्षेत्राधिकार भित्र रहे पनि प्रकृया ,रित र कानुन सम्मत बाहेक बढी गर्न नपाउने ब्यबस्था रहेको छ । 

नियम संगत हिसाबले माग गरिएको भनिए पनि अनुमतिपत्र पाउनु अगाबै हतार हतार काठ संकलन गर्नु गलत भएको स्थानिय उपभोक्ताहरुले बताएका छन् । 

जिल्लामा रहेका थुप्रै सामुदायिक वनहरु मध्ये अधिकाँश वन समितिहरुले काठ संकलन र बिक्री वितरण लाई मात्रै महत्व दिने कामको निरन्तरता हुँदा दीर्घकालीन वन बिकासमा चुनौती थपिएको जानकारहरु बताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ