arrow

सिँचाइ सचिव यादवको मृत्युले कपिलवस्तुवासी शोकमा

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
Ramananda_Yadav.jpg

कपिलवस्तु । सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवले शुक्रबार साँझ ८ बजे परिवारसहित एकै ठाउँमा खाना खाए । खाना खाएपछि उनको परिवारले यादवलाई विदाइ गरे । 

त्यो बिदाइ नै उनको जीवनको अन्तिम बिदाइ हुनपुग्यो । परिवारले खुशीका साथ बिदा गरेको १२ घण्टा नपुग्दै यादवको मृत्युको खबर आएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ डिहवा गाउँ शोकमा डुबेको छ । 

शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा२झ ३१४० नंको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो । बेपत्ता सिँचाइ सचिव यादव मृत भेटिएका छन् । बेपत्ता अन्य दुई जनाको अवस्था भने अझै अज्ञात छ । सचिव यादव ५७ वर्षका थिए । 

माइली छोरी डा रञ्जना यादवको विवाहका लागि सचिव यादव घर आएका थिए । आउने फागुन ११ गते रञ्जनाको विवाह भैरहवाका डा रणधिर यादवसँग गर्ने पक्का भएको थियो । 

पिता महावीर यादव र माता धन्जावती यादवका तीन भाइ छोरामध्ये सचिव यादव माइला छोरा थिए । यादवका कान्छभाइ बृजाप्रसाद यादवको ५ वर्षपहिले निधन भइसकेको छ भने दाजु छेदीप्रसाद यादव मात्र रहेका छन् । 

यादवको श्रीमती कमला यादव र तीन छोरी पनि घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका छन । जेठी छोरी नितुको वीरगन्ज विवाह भइसकेको छ । 

सचिव यादव एकदमै मिलनसार र इमान्दारीपूर्वक आफ्नो जिम्मेदारी निर्वाह गरी यहाँसम्म पुगेको उनका साथी रामबहादुर शुक्लाले बताए ।

 उनले भने, “यादव मेरो साथी हो हामीले सँगै अध्ययन गरेका थियौँ । ऊ सचिवसम्म भयो तर कहिले पनि आफ्नो पदको घमण्ड गरेन । हामी जहिले पनि मिलेर बस्थ्यौँ ।” उनको छोरीको विवाहका लागि सबै तयारी पूरा भएको थियो । हामी पनि निम्तो बाँड्न व्यस्त थियौँ । तर अचानाक यस्तो घटना भयो हामी धैरे नै दुखी भएको गाउँका प्रदीप यादवले बताए ।
 
दुःखसुख सटासट गर्ने यादवको निधनले एकदमै मर्माहत भएको बताउँछन स्थानीयवासी । दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । 

उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौँ लगिएको छ । प्रहरीका अनुसार, दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ