arrow

सभामुखको भागवण्डा नमिल्दा माओवादी गएन सरकारमा 

जबज पनि मान्नुपर्ने पद पनि सबै एमालेलाई नै दिनुपर्ने भए के को एकता?

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
maoist-head-quarter.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिहीबार मुलुकको ४१ औं प्रधानमन्त्रीको रुपमा सपथ खाँदै गर्दा चुनावको बेलामा सँगै सरकार बनाउने भनेर जनतासँग मत मागेका दुई दलले जनताको म्याण्डेडलाई सम्मान गरेको देखिएन । यी दुई दलले जनताको मतलाई सम्मान गरेका थिए भने ओलीको पहिलो सपथ ग्रहणकै दिन दुबै पार्टीका केही मन्त्रीहरुले सपथ खानुपर्ने थियो । तर, एमालेको दम्भका कारण माओवादी बिहीबार सरकारमा सहभागी हुन नसकेको माओवादी नेताहरुले बताएका छन् । 

ओली नेतृत्वको पहिलो कार्यकाल माओवादीबाट मन्त्री बनेका एक नेताका अनुसार अहिले बाहिर जनताको बहुदलीय जनवाद (जबज)को विषयमा सहमति नभएको भनिएपनि वास्तविकता जबजसँगै जोडिएको नेतृत्वको व्यवस्थापनको पनि देखिएको छ।एमालेले अनुसरण गर्दै आएको जनताको बहुदलीय जनवादलाई छाड्नुपर्ने भनेकोले सहमति हुन नसकेको एमाले नेताहरुले प्रचार गर्ने गरेका छन् । 

माओवादी उच्च स्रोतका अनुसार अहिलेको सहमतिको बाधक जवजको नीतिमात्रै होईन । मूल विवाद भनेको नेतृत्वको लागि चलिरहेको छ । बाहिर भन्दा नेतृत्वको लागि हानाथाप गरेको भन्ने विषयले राम्रो सन्देश नजाने भएकोले एमाले नेताहरुले नीतिको विषयलाई बाहिर ल्याएर जनता झुक्याउने गरिरहेका छन् । अहिले माओवादी सरकारमा नजानु पछाडिको मूल कारण भनेको नै एमालेको अहंकार देखिएको छ । 

उच्च स्रोतका अनुसार एमालेले राष्ट्रपति र सभामुख समेत माओवादीलाई नदिने षड्यन्त्र गर्न थालेपछि माओवादीले पहिलोदिन सरकारमा जाने कुरालाई स्थगित गरेको हो । स्रोतले भन्यो एमालेसँग पहिले गरेको सहमतिमा धेरै तलमाथि भइसक्यो । चुनाव अघि प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको विषयमा जुन खालको सहमति गरेको थियो अहिले ती सहमतिलाई स्वीकार्न एमालेका अध्यक्षले नसकेको भएका कारण माओवादी सरकारमा जान नसकेको हो। 

अहिले नीति र नेतृत्वमा सहमति नजुटेर माओवादी सरकारमा नगएको नभई सभामुख पदमा समेत एमालेले दाउ छोप्न लागेपछि माओवादी एमालेप्रति सशंकित बनेको हो । यस अघि पूर्व सहमति विपरित ६ नं प्रदेशमा पनि एमालेले माओवादीसँग आधा आधा नेतृत्वको प्रस्ताव गरेको थियो । तर, पछि धेरै आलोचना भएपछि मात्रै एमाले संसदीय दलका नेता यामलाल कँडेल अडानबाट पछि हटेका थिए । 

यसरी नै केन्द्रमा अध्यक्ष ओलीले नै राम्रा मन्त्रालय, राष्ट्रपति र सभामुख समेत आफैंलाई राख्ने प्रयासमा जुटेपछि उनीप्रति सशंकित बन्दै माओवादी सरकारमा तत्काल नगएको ती नेताले जानकारी दिए । अहिले भागवण्डाको कुरा नमिलेर सरकारमा नगएको माओवादी सभामुख आफ्नो भागमा परेको खण्डमा भने सरकारमा सहभागी हुने संकेत देखाएको छ । 

अहिले तत्कालको लागि टरेको पार्टी एकतालाई भन्दा पनि सरकार गठनलाई नै एमाले र माओवादीका नेताहरुले प्राथमिकतामा राखेका छन् । पार्टीको नीति र नेतृत्वको विषयमा पछि छलफल हुनेगरी सरकार गठनमा भागवण्डा मिलेको खण्डमा अहिलेलाई माओवादी पनि सरकारमा जाने भएको हो । यसै विषयमा छलफल गर्नको लागि शुक्रबार पनि एमाले र माओवादीका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ