arrow

प्रदेश ४ को नाम तमुवान-मगरात राख्न माग 

logo
सरिता तिमल्सिना,
प्रकाशित २०७४ फागुन ९ बुधबार
province_4_magarat.jpg

पोखरा । संघीय समाजवादी फोरम नेपाल तमुवान–मगरात(प्रदेश ४)प्रादेशिक समितिले यस प्रदेशलाई तत्कालका लागि तमुवान-मगरात प्रदेश घोषणा गर्न माग गरेको छ । फागुन ७ गते पोखरा लेखनाथ महानगरपालिका भण्डारढिकस्थित ङ्योए तमु धिंमा सम्पन्न भएको संघीय समाजवादी फोरम नेपाल तमुवान–मगरात (प्रदेश ४) प्रथम प्रादेशिक भेलाद्धारा पारित गरेको संकल्प प्रस्ताव मार्फत उक्त माग गरिएको हो । 

बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष दिपक वाइवा तामाङले भेलाद्धारा पारित १६ बुँदे संकल्प प्रस्ताव सार्वजनिक गर्नुहुदै पहिलो संविधान सभाको राज्य पुर्नसंरचना तथा राज्यशक्ति बाँडफाँड समिति वा राज्य पुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगले सिफारिस गरेका पहिचान र सामथ्र्यका आधारमा १०+१ प्रदेशहरु बनाउन दवाव सिर्जना गर्ने उल्लेख छ । प्रदेश संरचनालाई १०+१ प्रदेशहरु बनाई यस प्रदेशलाई तमुवान प्रदेश घोषणा गराउन पहल गर्ने, संरक्षित, बिशेष र स्वायत्त क्षेत्र निर्धारण समेत गरी तत्कालका लागि चार नं. प्रदेशलाई प्रदेशसभा मार्फत तमुवान—मगरात नामाकरण गर्नका लागि माग गरिएको छ ।

यसरी नै जातीय विभेद तथा छुवाछूत लगायत समाजमा विद्यमान सवै प्रकारका विभेद (धार्मीक, लैंगिक, भाषिक, साँस्कृतिक, क्षेत्रीय, वर्गीय आदी)को अन्त्य गरी भेदभाव मूक्त समाज निर्माण गर्न गराउन जुट्ने, समानुपातिक समावेशी सिद्धान्तको आधारमा जनसंख्याको अनुपातमा स्थानिय, प्रादेशिक र संघीय तह लगायत राज्यको सबै निकायमा प्रतिनिधित्व गराउन प्रतिवद्ध रहने, अपुर्ण संविधान संशोधन गराई २०६२÷०६३ र तत्पश्चातका आन्दोलनरत पक्षहरुसँग राज्यले गरेको प्रतिवद्धता, सहमति, सम्झौता कार्यान्वयन गराउन दवाव सिर्जना गर्ने भेलाले निर्णय गरिएको अध्यक्ष तामाङले जानकारी दिए । 

पारित प्रस्तावमा यस प्रदेशका प्राकृतिक श्रोत—साधनहरुको वैज्ञानिक अध्ययन गरी सो उपर यहाँका आदिवासी जनजाति तथा स्थानिय समुदायको प्राथमिकताको अधिकार सुनिश्चित गर्न गराउन पहल गर्ने संकल्प गरेको छ भने प्रदेशमा एक वर्ष भित्र टोल टोल बस्ती बस्तीमा संगठन, दुईवर्ष भित्र बलियो बैकल्पिक शक्ति र आउदो पाँचवर्षमा प्रदेश सरकार गठन गर्ने उद्घोष गरिएको छ । 

मौलिक भाषा, कला, सँस्कृति, परम्परालाई संरक्षण गर्दै यस प्रदेशमा बहुभाषिक निती कार्यन्वयन गर्ने पहल गरिने, मातृभाषालाई प्रवद्र्धन, विशिष्टकरण शिक्षालयहरु र बहुभाषिक विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने फोरमले संकल्प गर्दै प्रदेशलाई समृद्ध बनाउन प्राकृतिक, साँस्कृतिक, मानवीय श्रोत साधनलाई राजकीय तथा  जनस्तरको सहकार्यताका माध्यमबाट उपयोग गर्ने, युवालाई रोजगारी तथा स्वरोजगारको व्यवस्थाको पहल गरिनेछ भने गैरआवाशीय नेपालीहरुलाई लगानी गर्न आव्हान गर्ने जनाएको छ । 

यसरी नै कृषिलाई आधुनिकिकरण गर्ने र कृषिमा संलग्न विशेषगरी अर्गानिक कृषि उत्पादनमा लाग्ने कृषकहरुलाई अनुदानको व्यवस्था मिलाउदै विषादीमूक्त प्रदेशको अभियान चलाइने, पुर्व सैनिक एव गैरआवाशीय नेपालीका मागहरुलाई सम्बोधन गराउन पहल गर्ने साथै विदेशमा रहेका नेपालीहरुलाई राजनीतिक अधिकार लगायत प्रदेश समृद्धिको अभियानमा सरिक गराउने भएको छ । भूमण्डलीय तापमान बृद्धिको कारण वातावरणमा देखिएको असन्तुलनले हिमालय क्षेत्र लगायत जैविक विविधतामा परेको प्रतिकुल प्रभाव रोक्न प्रदेश सरकारकालाई दवाव दिने,  सहिद, वेपत्ता नागरिक÷द्धन्द पीडित परिवार तथा घाइतेहरुको सम्मानका लागि प्रदेशस्तरीय राहात तथा सहयोग कोषको व्यवस्था गर्न पहल गर्ने, मुटु, क्यान्सर, मिर्गौला लगायत जटिल रोगको उपचार गर्न सकिने विशिष्ट अस्पताल निर्माण गर्न पहल गरिने प्रतिवद्धता व्यक्त गरिएको छ । 

यस्तै गरी पारित प्रस्तावमा पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल निर्धारित समय भित्र निर्माण गर्न, गराउन सहयोग गर्ने, पर्यटन प्रवद्र्धन एवं विकास र साहसिक खेलहरुका लागि तथा खेलकुद पर्यटनको प्रदेश बनाउने, पोखरा काठमाण्डौ, पोखरा लुम्विनी र पोखरा कोरला नाका जोड्ने द्रुतमार्गको निर्माणका लागि आवश्यक कार्य थालनी गर्न दवाव दिने, राजनीतिक तथा नीतिगत तहमा संस्थागत गरिदै लगिएको भ्रष्टचारलाई पूर्णरुपमा नियन्त्रण गरी शुसासनयुक्त र पारदर्शी प्रदेश, ढिलासुस्तीको अन्त्य र विभेद मुक्त प्रदेश, श्रमको सम्मान, जाति, भाषा, धर्म, सँस्कृति, वर्गले अपनत्व महसुस गर्ने प्रदेश निर्माणका लागि संकल्परत रहने उल्लेख गरिएको छ । 

पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले विभेदमा पारिएको जाति, वर्ग, समुदाय, क्षेत्र, लिंगको अधिकार र पहिचानका लागि संघर्षरत मुलुककै बैकल्पिक शक्ति संघीय समाजवादी फोरम नेपालमा समाहित हुन पहिचानवादीहरुलाई आग्रह गरे । अरुले पटक पटक धोका दिए, हामी पहिचान र अधिकार सुनिश्चित गराउदछौं भन्नुहुदै पार्टी प्रवेशका लागि पत्रकार सम्मेलनमा आव्हान गरे । 

फोरमको राजनीतिक समिति सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले पहिचान र अधिकारको आन्दोलन उत्कर्षमा पुग्दा व्यक्ति स्वार्थका लागि आन्दोलन धोका दिनेहरु सत्तामा पुगेकाछन्, उनीहरुमा इमान्दारीता कहि कतै छ भने विभेदमा पारिएकाका आवाज सम्बोधन गरिनुपर्ने बताए । संघीय निर्वाचनबाटै निर्वाचित हुनेहरुले कुन नैतिकताले संघीयता कै विरोध गरेका छन भन्दै संघीयताको समृद्धिका लागि जुट्न सुझाव दिए । उनले छ सय वर्षदेखि एकल राज्य संरचनाको दासत्वमा पिल्सिएका जनताले अब सचेत भई आफ्नो शासन आफै गर्ने दावी गरे । 

राजनीतिक समिति सदस्य तथा मगरात इञ्चार्ज महेन्द्र थापामगरले पुरानो पार्टीहरु आकारले ठुला देखिए पनि चरित्रका हिसाले राष्ट्रिय पार्टी होइन भदै नेपाली राष्ट्रियताको सम्बोधन संघीय समाजवादी फोरमले गरेको दावी गरे । उनले अब जनतामा राजनीतिक चेत आइसकेकाले पहिचान र अघिकार सुनिश्चितताका लागि जनता लामबद्ध हुने बताए । 

प्रादेशिक अध्यक्ष दिपक वाइबा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रचार विभाग सदस्य हुमबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । पार्टीका राजनीतिक समिति सदस्य, तमुवान इञ्चार्ज गणेशमान गुरुङको अध्यक्षता र केन्द्रिय उपाध्यक्ष रकम चेमजोङको प्रमूख आतिथ्यतामा ११ जिल्लाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न तमुवान–मगरात प्रदेश(प्रदेश नं. ४) प्रथम प्रादेशिक भेलाले कास्कीका दीपक वाइबा तामाङको अध्यक्षतामा १७ सदस्यीय प्रादेशिक समिति गठन गरेको छ। 

समितिको सदस्यहरुमा नवलपुरका छविलाल राना, गोरखाका सुकदेव तामाङ र तेजबहादुर गुरुङ, लमजुङका पृथ्वीमान घले, तनहुँका चन्द्रप्रकाश गुरुङ र सारदा कुमाल, कास्कीका काशीमाया गुरुङ, किसन विश्वकर्मा, गोपाल गुरुङ, स्याङजाका हेमन्त थापा मगर, पर्वतका भुवन रिजाल, बाग्लुङका कोकिला जिसी र पुर्णबहादुर घर्ती मगर, शिल्पी समुदायका चिनबहादुर नेपाली, भक्तबहादुर विश्वकर्मा र तारा नेपाली चयन भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ