arrow

मातृका यादवको क्रमभंगता, सुध्रिएलान् कि फेरि पुरानै पारा ल्याउलान् ?

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
matrika-yadav.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव फेरि मन्त्री बनेका छन् । उनी केपी शर्मा ओली कम्पनीका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका हुन् । 

उनले सोमबार सपथग्रहण गरे । अनि पहिलो दिन नै क्रमभंगता गरे । 

प्रधानमन्त्री तथा मन्त्रीले पदबहालीको क्रममा एउटा निर्णयमा हस्ताक्षर  गर्नुपर्ने चलन छ ।  

उनले ढुवानी पारबहन सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुथियो । 

तर मानेनन् । उनले पहिले पढेर मात्र हस्ताक्षर गर्ने अडान लिए । एक किसिमले यो राम्रो पनि हो । ज्ञान नभइ हस्ताक्षर गर्नुको तुक नै रहँदैन । 

उनी यसै पनि हठी स्वभावका छन् । उनी वन मन्त्री हुँदा १० वर्षअघि स्थानीय विकास अधिकारी एलडीओलाई ट्वाइलेटमै थुनेका थिए । 

यस्तो थियो घटना –उनले त्यो बेलामा ललितपुरका एलडीओलाई ट्वाइलेटमै थुनिदिए । त्यसपछि मच्चियो विरोध । यादवको विरोधमा अहिलेको सत्तासाझेदार एवं पार्टी एकताधारी नेकपा एमाले र नेपाली काँग्रेसनिकट कर्मचारी संगठनले मन्त्रालयमा धर्ना दिएर काममै अवरोध भएका थियो ।  

ललितपुरको एउटा सामुदायिक वनमा गैरकानुनी ढंगले ढुंगाखानी सञ्चालन भइरहेको थियो । स्थानीयले विरोध गरे तर टेरिएन । मन्त्री यादवले थाहा पाए । 

अनि यही विषयमा सोधपुछ गर्न मन्त्री यादवले स्थानीय विकास अधिकारी लगायतका सरोकारवालाहरुलाई मन्त्रालयमै बोलाए । 

वातावरणमा असर परिरहेकोले कानुन अनुसार ढुंगाखानी बन्द गर्नलाई मन्त्री यादवले ती एलडीओलाई भने । तर उनले टेरेनन् । 

एलडीओ झन् बाझेछन् । अनि के चाहियो र त्यो समयअघि नै अंगरक्षक सेनालाई समेत थुनिसकेका यादवले एलडीओलाई पनि ट्वाइलेटमा थुनिदिए । 

यादव त्यसबेला जति बदनाम भए त्यति नै उनले आफू राम्रो काम गर्न अवरोध गर्नेलाई पनि त्यसै गर्ने सन्देश दिए । 

तर मन्त्रीजस्तो व्यक्तिले हरेक निर्णयमा यस्तै सनकपन देखाउँदा राजीनामा नै दिनुपरेको थियो । 

यसपटक कस्तो काम गर्लान् त उनले ? १० वर्षअघिको पारा देखाउलान् कि सुधारोन्मुख प्रदर्शन भन्ने चासो बढेको छ । 

उनले सोमबार नै मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताएका छन् । 

सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याए । 

यो सचेतना पनि हो र चेतावनी पनि हो । तर उनले भनेका छन् ‘अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ ।’, उनले भने । 

उनले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् । 

मन्त्री यादवको रवैया कस्तो हुने हो केही समय त पक्कै कुर्नु बेश हुनेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ