arrow

प्रहरी हिरासतमै बित्यो खेलाडीको दसैँ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
689759751.jpeg
काठमाडौं। म्याच फिक्सिङको आरोपमा पक्राउ परेका पाँच खेलाडीको दसैँ हिरासतमै बितेको छ । परिवारले हिरासतमै उनीहरूलाई टीका लगाइदिएका छन् । प्रहरीले राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा तथा विकाससिंह क्षेत्रीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूलाई परिवारले प्रहरी कार्यालयमै गएर टीका लगाइदिएका थिए । विभिन्न ६ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनीहरूमाथि राज्यविरुद्धको अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । दसैँ बिदाका कारण अदालत नखुलेकाले प्रहरीले अझै म्याद थप गर्न पाएको छैन । अदालत खुलेपछि थुनामा राख्ने अनुमति लिइने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताएको नवराज मैनालीले नयाँ पत्रिकामा लेखेका छन्।   । 
 
भारतीय मूलका सिंगापुरका नागरिक विल्सनराज उडल्यान्डसँग मिलेर खेलाडीहरूले म्याच फिक्सिङ गरेका थिए । उनीहरूले विपक्षी टिमलाई जिताएर आफूहरूले पैसा लिएको स्विकारेका छन् । अनुसन्धानका क्रममा तीन हजार डलरमै पूरै टिम बिकेकोसमेत खुलेको थियो । सो प्रकरणमा अन्य नेपाली खेलाडी तथा पदाधिकारीको समेत संलग्नता रहेको र उनीहरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानका अनुसार सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिप खेलमा पूरै टिमले तीन हजार ६१ अमेरिकी डलर लिएर मिलेमतोमा खेल हारेका थिए । सो पैसा दामासाहीका आधारमा खेलाडीले बाँडेर लिएका थिए । राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा भनिएको छ, ‘कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा सो उद्योग गर्ने निजलाई जन्मकैद हुनेछ ।’ राष्ट्रिय एकताको खेल भएको र उनीहरूले राष्ट्रका लागि खेलेर पैसामा बिकी अरूलाई जिताएर राष्ट्रिय एकतामा खलल पार्ने काम गरेको भन्दै प्रहरीले राज्यविरुद्धको मुद्दामा कारबाही अघि बढाएको हो। 
 
हालसम्मको अनुसन्धानमा ६ वटा अन्तर्राष्ट्रिय खेलमा उनीहरूले फिक्सिङ गरेर अरूलाई जिताएको पुष्टि भएको छ । सन् २००८ मा भएको मोरडेका कपमा अफगानिस्तानसँग २–२ को बराबरी खेलेर प्रत्येक खेलाडीले पाँच हजार अमेरिकी डलरका दरले पैसा लिएका थिए । पक्राउ परेकाबाहेक अन्य खेलाडीले समेत पैसा लिएको भए पनि उनीहरू पक्राउ परेका छैनन् । त्यस्तै, सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिप खेलमा खेलाडीहरूले तीन हजार ६१ डलर लिएका थिए । सन् २०११ को मलेसियासँग भएको मैत्रीपूर्ण खेलमा २–० ले हारेर प्रतिखेलाडी पाँच हजार डलर लिएका थिए । सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपूर्ण खेलमा पनि उनीहरूले प्रतिखेलाडी पाँच हजार डलरकै दरले पैसा लिएका थिए । सो खेलमा पहिले नै तय भएअनुसार नेपाल ४–० ले पराजित भएको थियो । सन् २०१२ को नेहरू कपमा नेपालले क्यामरुनसँग ४–० गोल अन्तरले हार्ने गरी फिक्सिङ भएकोमा गोलकिपर रितेश थापा परिवर्तन भएपछि ५–० ले हारेकोसमेत अनुसन्धानमा खुलेको छ । गत वर्ष मात्र दक्षिण कोरियामा भएको एसियन गेमअन्तर्गतको २३ वर्षमुनिको फुटबल प्रतियोगितामा समेत उनीहरूले प्रतिखेलाडी पाँच हजार डलरका दरले पैसा लिएको प्रहरी दाबी छ । प्रहरीले पक्राउ परेका खेलाडीको बैंक खाता र सम्पत्तिको पनि छानबिन अघि बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ