arrow

राष्ट्रपति भएरै हैन आम नागरिक भएर चुनाव लड्न विद्यादेवीलाई लक्ष्मीको चुनौती

मदन भण्डारीले विरेन्द्रलाई दिए झै लक्ष्मीले दिइन विद्यालाई चुनौती, शितल निवास छोडेर चुनाव लड्न आउ

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
rastrapati-candidate-bidhya-laxmi.jpg

काठमाडौं।  दोस्रो पटक राष्ट्रपति बन्न एमालेको उमेद्वार भएकी वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको यतिखेर आलोचना शुरु भएको छ। राष्ट्रपति पदमा वहाल रहेकै बेला दोस्रो पटक राष्ट्रपति बन्न मनोनयन दर्ता गरेकी राष्ट्रपतिको पदप्रतिको आशक्तिको विरोध समेत भएको छ। 

संविधानले राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरेको छ। राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अलग अलग समयमा गर्ने अभ्यास पहिलो राष्ट्रपतिको चुनाव देखि नै शुरु भएको हो। यो अभ्यास राष्ट्रपति पदमा वहालवाला राष्ट्रपति नै पुन दोहोरिने अवस्था आएमा उनले आम नागरिकको हैसियतमा गएर पुन उमेद्वार बन्दा उपराष्ट्रपतिले राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नका लागि पनि हो। नत्र मत हाल्ने मतदाताहरु एकै व्यक्ति हुँदा पनि किन अलग अलग समयमा चुनाव हुनुपर्‍थ्यो र ?

राष्ट्रपति विद्यादेवी भण्डारीको हकमा भने कुनै पनि अभ्यास लागू भएन। भण्डारीलाई राष्ट्रपति बनाउनैको लागि एमाले पार्टी भित्रै गुटगत रुपमा चर्काचर्की समेत भयो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले विवादकाबीच विद्यालाई नै राष्ट्रपतिको उमेद्वार बनाए। तर वहालवाला राष्ट्रपति पार्टीको उमेद्वार बनेकोसम्म त ठीकै थियो । आम नागरिकले उनले उमेद्वार बन्दै गर्दा पार्टीको उमेद्वारको हैसियतमा केहि दिनलाई राष्ट्रपति पदबाट राजीनामा दिने अपेक्षा राखेका थिए। तर राष्ट्रपति भण्डारीमा नैतिकताको खडेरी देखियो। उनी एमालेको राष्ट्रपति उमेद्वारको रुपमा रहँदा वहालवाला राष्ट्रपतिको रुपमा समेत कायमै रहेकी छिन। 

दोस्रो राष्ट्रपति उमेद्वार बन्दा विद्यादेवी एमालेकी उमेद्वार थिइन। त्यसलाई सबैले सहज रुपमा लिएका थिए। त्यसपछि उनी देशकै प्रमुख छिन्। राष्ट्रप्रमुखको हैसियतमा उनी एमालेजनको मात्र नभइ आम नागरिकको राष्ट्रपति हुन्। सबैले उनीमाथि भरोसा राख्न सक्छन। तर दोस्रो कार्यकालको लागि उनले एमाले अध्यक्ष ओलीलाई लिएर मनोनयन गर्न गएदेखि उनी एमालेकी मात्र राष्ट्रपतिको रुपमा देखिएकी छिन्। यो देशकै विडम्बना भएको छ। 

राष्ट्रपति चुनावको प्रतिष्पर्धामा रहेकी लक्ष्मी राई आम नागरिकको हैसियतमा मैदानमा छिन।  उनीसँगै प्रतिष्पर्धामा रहेकी विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालयबाटै चुनावमा भिड्दैछिन। भण्डारीकी प्रतिष्पर्धी राई भन्छिन, 'यो न्यायसंगत भएन।'  उनले अगाडी भनिन, ' चुनावमा को जित्छ हार्छ अलग कुरा हो । तर विद्याजीले राष्ट्रपति पदमा टाँसिएरै आम नागरिकसँग चुनाव लड्ने कुरा विल्कुल सुहाएन। म उहाँलाई आम नागरिकको हैसियतमा चुनाव लड्न आउन चुनौती दिन चाहन्छु। '

कुनै समय नारायणहिटीतर्फ फर्केर मदन भण्डारीले तत्कालिन राष्ट्रप्रमुख राजा विरेन्द्रलाई राजनीति गर्ने हो भने श्रीपेच फुकालेर चुनावमा लड्न आउन चुनौती दिए झै वर्तमान राष्ट्रप्रमुख तथा उनै मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारीले शहिद पुत्री लक्ष्मी राईको चुनौती कतिको स्विकार्छिन हेर्न वाँकी छ।

भण्डारी नेपालको तेस्रो राष्ट्रपति बन्ने कुरामा पनि कुनै शंका छैन। तर दोस्रो र तेस्रो राष्ट्रपति बन्ने बीचको अवधिमा उनले नैतिकताको जुन सन्देश दिन सक्थिन त्यो कुरामा चुकेकी छिन। के विद्या नैतिकताको कसीमा खरो रुपमा उत्रिन सक्लिन? राष्ट्रपतिबाट राजीनामा दिएर चुनाव सम्म उपराष्ट्रपतिलाई काम गर्न अवसर दिइ आम नागरिकको हैसियतमा चुनाव लड्ने आँट गर्न सक्लिन? समयको कठघरामा खडा भएकी विद्यादेवीबाट देशले जवाफ खोजेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ