arrow

रेशम चौधरीको माग पूरा गर्न गृहमन्त्रीलाई राजपाको आग्रह

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
resham-chaudhari.jpg

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यले गृहमन्त्री रामबहादुर थापालाई शनिवार भेटी कैलालीमा अनशनरत आफ्ना नेता रेशम चौधरीको मागको सुनुवाइ गर्न ध्यानाकर्षण गराएका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा राजपाका नेताहरुले चौधरीसहित अनशनरत २६ जनाको स्वास्थ्य अवस्था बिग्रदै गएकोले तत्काल समस्याको समाधानका लागि गृहमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनीहरुले अनशनरत चौधरीलाई कैलालीबाट काठमाडौँमा ल्याएर संसद् सदस्यको प्रमाणपत्र दिने तथा शपथ ग्रहणको व्यवस्था मिलाउन कुनै कानूनी समस्या नरहेको जिकिर गर्दै त्यसका लागि वातावरण बनाइदिन गृहमन्त्रीसँग माग राखेका थिए ।

जवाफमा गृहमन्त्री थापाले अनशनरत चौधरीसहित २६ जनाको स्वास्थ्य अवस्थाबारे सरकार गम्भीर रहेको भन्दै उनीहरुले राखेका तत्काल पूरा गर्न सकिने माग सम्बोधनका लागि मन्त्रालयले गृहकार्य अघि बढाइसकेको बताए ।

अदालती विषय बाहेकका अन्य विषयमा वार्ता तथा छलफलका माध्यमबाट समाधान खोजिने उनको भनाइ थियो । उनले यस विषयमा आफूले प्रधानमन्त्री केपी ओलीसँग पनि थप छलफल र परामर्श गरेर समाधानको बाटो पहिल्याउने राजपाका नेतालाई आश्वासन दिएका थिए ।
 
आफूलाई संसद् सदस्यको प्रमाणपत्र तथा शपथको व्यवस्था मिलाउनुपर्ने, कैलाली घटनामा मुद्दा लागेकाको मुद्दा फिर्ता लिनुपर्ने लगायतका तीन बुँदे माग राखी जिल्ला कारागारमा रहेका नेता चौधरीसहित टीकापुर घटनाका २६ जना आरोपीले गत फागुन २० गतेदेखि आमरण अनशन शुरु गरेका छन् ।

कैलालीको टीकापुरमा विसं २०७२ भदौ ७ गते वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको घटनामा मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका चोधरीले गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि गत फागुन १४ गते अदालत समक्ष आत्मसमर्पण गरेका थिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ