arrow

विमान दुर्घटना : क-कसले गरे दु:ख व्यक्त

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
plane-crash.JPG

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले युएस बंगलादेश विमान दुर्घटनामा परी निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गरेकी छन् ।  

राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा आज अपराह्न १४:१८ बजे दुर्घटनामा परेको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् । उनले दुर्घटनाका कारणबारे गम्भीर छानविन गर्न तथा आगामी दिनमा दुर्घटना र दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस संयोजक मनोज घर्तीले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश नं ३, प्रदेश प्रमुख अनुराधा कोइरालाले दुर्घटनामा परी जीवन गुमाउनेहरुप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेकी छन्। प्रमुख कोइरालाले दुर्घटनामा परेका सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्।

त्यस्तै नेपाली सेनाले पनि  दुर्घटना प्रति दु:ख व्यक्त गरेको छ । सेनाले दुर्घटनाको खबर प्राप्त हुनासाथ श्री सैनिक हवाई महानिर्देशनालय, श्री नं.१४ बाहिनी अड्डा, श्री काली प्रसाद गण  (ई), श्री ई.ओ.डी. होल्डिङ युनिट तथा श्री उपत्यका पृतना हे.क्वा. मातहतबाट खटिएका करिब ७०० जनाको टोली तथा नेपाली सेनाको दमकलहरुले अन्य सुरक्षा निकाय र उद्धारकर्मीहरुसँगको सहकार्यमा उद्धार कार्य सञ्चालन गरेको जनाएको छ ।

दुर्घटना लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत अन्य उच्च पदाधिकारीहरु दुर्घटना स्थलमा पुगी उद्धार कार्यको निरिक्षण गर्नुका साथै उद्धार कार्यमा संलग्न सम्पूर्ण ब्यक्तिहरुलाई हरसम्भव उपायहरुको अवलम्बन गरी उद्धार कार्य सञ्चालन गर्न निर्देशन समेत दिएका थिए । उनिहरुले दुःख ब्यक्त गर्दै आफन्तजन गुमाएका शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

साथै नेपाली काँग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युए बङ्गला विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी व्यवस्थित उद्धार र घाइतेको सम्पूर्ण उपचार तथा दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेको छ । “घटनामा परी दिवंगत हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पणका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नेकपा (एमाले) निकट अनेरास्ववियूले पनि विमान दुर्घटना भएकामा दुःख व्यक्त गरेको छ । अनेरास्ववियूका अध्यक्ष नवीना लामाले आज विज्ञप्ति जारी गर्दै आज अपराह्न भएको उक्त विमान दुर्घटनाको दुःख व्यक्त गर्दै घाइतेको यथाशीघ्र उपचार र निःशुल्क उपचार गराउन माग गरेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ