arrow

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे छलफल जारी छ : मुख्यमन्त्री शाही

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
shahi.jpg

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफ्नो केशमा आफैले अदालतमा गतिविधि सञ्चालन गर्नु गलत भएकोले महाभियोग लगाउनेबारे आफूहरु छलफलमा रहेकोले छिट्टै निर्णयमा पुग्ने स्पष्ट पारेका छन् ।

शाहीले भने, ‘ उहाँको गतिविधि ठीक छैन, यो राम्रो होईन, प्रधानन्यायाधीशलाई महाभियोग लगाउने वा नलगाउनेबारे अहिले छलफल जारी छ, हामी छिट्टै निर्णयमा पुग्छौं, तर अहिले उहाँको विरुद्ध महाभियोग आईहाल्छ, ल्याईहालिन्छ भन्ने छैन ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले अदालत निश्पक्ष हुनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले त नेपालमा संवैधानिक अंगहरु निश्पक्ष हुन सकेका छैनन्, कहीँ न कहीँ राजनीतिक गन्ध छ, यसको अब अन्त्य गर्न जरुरी छ।’ उनले भ्रष्टाचारको विरुद्धमा लड्ने आफूहरुको अठोट रहेको पनि सुनाए ।

उनले नेपाली समाजको स्कुलिङ् नै सामन्तवाद भएकोले अहिलेपनि नेपालमा मुख्य व्यक्ति वा कुनै निकायको प्रमुख बनेपछि सामन्तवाद देखाईहाल्ने गरेको सुनाए। शाहीले संवैधानिक निकायका प्रमुखहरुदेखि सबै आ–आफ्नो क्षेत्राधिकारभित्र बस्नुपर्ने धारणा राखे । उनले भने,‘आफ्नो क्षेत्राधिकार नाघ्ने जो कोहीलाई पनि छुट दिनुहुँदैन्, गलत गर्नेविरुद्ध महाभियोग पनि लगाउनुपर्छ।’

मुख्यमन्त्री शाहीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध अहिले नै महाभियोग आईहाल्ने वा ल्याईन्छ भन्ने चाहीँ नरहेको स्पष्ट पारे । उनले भने, ‘ उहाँका कमजोरीहरुका बारेमा अहिले अध्ययन भैरहेको छ, महाभियोग ल्याउँदा कमजोरी किटानी नै गरेर ल्याईन्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ