arrow

यू–१९ विश्वकप : नेपाललाई इतिहास रच्ने अवसर, ‘सान्टोको डर र राजु र सन्दिपको भरोसा’

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
nepal-VS-bangladehs.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा शुक्रबार नेपाल र बंगलादेशबीच क्वार्टरफाइनल भिडन्त हुँदैछ । शेर बंगला क्रिकेट मैदानमा नेपाल उच्च मनोवलको साथ जित निकाल्दै इतिहास रच्ने दाउमा हुनेछ । प्रतियोगितामा नेपालले ‘जायन्ट किलर’को छवि बनाएको छ । नेपालले समूह चरणको खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्याण्डलाई ३२ रनले स्तबध बनाएको थियो । दोस्रो खेलमा आयरल्याण्डलाई सहजै ८ विकेटले हराएको थियो । समूहको अन्तिम खेलमा भारतसंग ७ विकेटले पराजित हुँदै समूह उपविजेताको रुपमा बंगलादेशसंगको क्वार्टरफाइनल भेट पक्का गरेको हो । 
 
बंगलादेश अपराजित रहँदै समूह विजेता बन्दै अघिल्लो चरण पुगेको हो । समूह चरणमा दक्षिण अफ्रिकालाई ४३, स्कटल्याण्डलाई १ सय १४ रन तथा अन्तिम खेलमा नामिवियालाई ८ विकेटले हराउँदै समूह ‘ए’को विजेता बनेर क्वार्टरफाइनल पुगेको थियो । शुक्रबार हुने खेलले नेपालको प्राकृतिक खेलको मूल्याङ्कन गर्ने छ । दुबै टोली जितको खोजीमा हुनेछन् ।  क्वार्टरफाइनल विजेताले सेमिफाइनल यात्रा तय गर्ने छ ।  
 
नेपालको सम्भावना कति ? 
शुक्रबार हुने खेलमा नेपालले जारी प्रतियोगिताको सम्भावित उपाधि दावेदार टोलीको सामना गर्दैछ । घरेलु मैदान र समर्थकको साथ भएको बलियो टोली आफ्नो घरेलु मैदानसंग निकै परिचित छ । उसले समूह चरणको खेलमा शतप्रतिशत जित निकाल्दै उपाधि दावेदारीको संकेत दिएको छ । 
 
प्रतियोगितामा नेपालको प्रदर्शन आशाजनक छ । जारी विश्वकप क्रिकेटमा नेपालको व्याटिङ्मा आशा गरिए अनुरुप आरिफ शेख बाहेक अन्य कुनै पनि खेलाडी जम्न सकेनन् । नेपालका लागि आरिफ शेखले ९७, सन्दिप सुनारले ७६, योगेन्द्र सिंह कार्कीले ७४, राजविर सिहंले ५९, कप्तान राजु रिजालले ५४, सुनिल धमलाले ४३, कुशल भुर्तेलले ४१ रन बनाएका छन् । बलिङ्तर्फ सन्दिप लामिछानेले ७, दिपेन्द्र ऐरीले ५, प्रेम तामाङले ४, सुनील धमलाले २ तथा सुशील कंडेलले १ विकेट लिए । ब्याटिङमा धेरै आश गरिएका नेपाली ओपनर सुनील धमला र कप्तान राजु रिजालले प्रतियोगितामा आफ्नो स्वभाव अनुसार रन बनाउन सकेका छैनन् । नेपालका लागि शुक्रबारको खेलमा यी दुई खेलाडी आफ्नो लयमा आउने हो भने नेपालले बङ्गलादेशविरुद्ध अपेक्षित अंक स्कोर गर्न सक्नेछ । 
 
सामान्यतया शुक्रबारको खेलमा टस जित्ने टोलीले फिल्डिङ्ग रोज्न सक्नेछ । नेपालले पहिले व्याटिङ गरेको खण्डमा कम्तिमा पनि २ सय ३० रन बढी बनाउन सके वा बङ्गलादेशले पहिले व्याटिङ गरे सोही स्कोरमा २३० रोक्न सके सेमिफाइनल यात्रा तय गर्न सक्ने छ । धमला र कप्तान रिजालले खेलमा आफ्नो पूर्ण कौशल देखाउने हो भने नेपालले बङ्गलादेशलाई कडा चुनौती दिनेछ । जसरी सन् २००२ को प्लेट च्याम्पियनसिप सेमिफाइनलमा बलिङ र व्याटिङ चलेको थियो । समग्रमा नेपाली टोलीको क्षमतालाई हेर्ने हो भने व्याटिङ्ग सुधारे मात्रै पनि बंगलादेशलाई पराजित गर्न सक्छ । नेपालले बंगलादेशलाई सन् २००२ को प्लेट च्याम्पियनसिप सेमिफाइनलमा २३ रनले हराएको थियो । जुन् टोलीको कप्तानी अहिलेका बलिङ प्रशिक्षक विनोद दासले गरेका थिए ।  
 
डर र भरोसा  
नजमुल होसन सान्टो
नजमुल होसन सान्टो बंगलादेशी मध्यक्रमका अलराउण्डर हुन् । जारी प्रतियोगितामा उनले बंगलादेशका लागि सर्वाधिक २ सय रन बनाइसकेका छन् । शुक्रबारको खेलमा समेत बंगलादेशको टोली धेरै हद सम्म उनको भरमा हुनेछ । खेल जित्नलाई उनलाई रोक्नुपर्ने नेपाली बलरहरु सामु चुनौती छ । उनी चम्किने डर नेपाललाई छ । 
 
राजु रिजाल
नेपाली कप्तान तथा विकेट किपर राजु रिजाल नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । आइसीसी यू–१९ छनोट प्रतियोगितामा युगाण्डाविरुद्ध शतक प्रहार गरेका उनी टोलीलाई आवश्यक परेका खण्डमा जुन सुकै अवस्थामा समेत सम्हाल्ने गर्दछन् । राजुले न्यूजिल्याण्डविरुद्ध ४८ र भारतविरुद्ध ६ रन बनाएका थिए । आयरल्याण्डसंगको खेलमा उनको व्याटिङ गर्ने पालो आएन । शुक्रबार हुने खेलमा उनले राम्रो प्रदर्शन गर्नेमा धेरै आशावादी छन् । 
 
सन्दिप लामिछाने
नेपालको १५ वर्षीय दायाँहाते लेगस्पिनर सन्दिप लामिछानेले आफ्नो पछिल्लो ५ खेलमा ११ विकेट लिएका छन् । जारी प्रतियोगितामा उनले ह्याट्रिक सगै ७ विकेट लिएका छन् । लामिछाने बलिङमा गुग्लीको अत्यधिक प्रयोग गर्दछन् । उनले आयरल्याण्डविरुद्ध ह्याट्रिक गर्दै ५ विकेट लिए । शुक्रबार खेल हुने मैदान स्पिन मैत्री भएकाले उनको प्रभाव जम्ने  धेरैको आशा र भरोसा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ