arrow

निवर्तमान राष्ट्रपति यादव बस्‍ने आवास सेनाद्वारा रातारात मर्मतसम्भार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
435480538.jpeg
काठमाडौं। सरकारले निवर्तमान राष्ट्रपति डा. रामवरण यादवका लागि समयमा आवासको व्यवस्था गर्न नसक्दा भाडामा लिइएको घरलाई युद्धस्तरमा सेना लगाएर सिंगार्नु परेको गोविन्द परियारले अन्नपूर्णमा लेखेका छन्।
 
सेनाको मर्मत सम्भार विभाग बुधबार साँझदेखि राति अबेरसम्म ललितपुरको बागडोलस्थित भाडामा लिइएको घर मर्मतमा जुटेको थियो।पूर्वराष्ट्रपतिलाई के के सुविधा दिने भन्ने स्पष्ट निर्णय हुन नसक्दा सरकार अन्योलमा थियो। 
 
यसबारे मंगलबार राति प्रधानमन्त्री निवासमा विशेष छलफल गरिए पनि कानुनको अभावमा निर्णय हुन नसकेको बालुवाटार स्रोतले बतायो।यादवलाई भीभीआईपी सुविधाअनुसार आवास, सचिवालय, पेन्सन, सुरक्षालगायत दिने तयारी छ। तर ती सुविधा कुन कानुनअनुसार दिने भन्नेमा अन्योल छ। 
 
स्रोतका अनुसार पहिलो राष्ट्रपतिलाई केके सुविधा दिने भन्ने निर्णय बिहीबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्दैछ।भारतलगायत अन्य मुलुकमा पूर्वराष्ट्र प्रमुखलाई आजीवन आवास, सुरक्षा, पेन्सनलगायतका सुविधा दिने चलन छ।
 
नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले बिहीबार शपथ लिएपछि यादव उक्त घरमा सर्ने भएका छन्। सरकारले शीतल निवासमा बिहीबार नै विशेष कार्यक्रम आयोजना गरेर यादवलाई बिदाइ गर्नेछ। 
 
बिदाइ कार्यक्रम सकिएलगत्तै उनलाई सेनाले विशेष सम्मानका साथ बागडोलस्थित घरमा पुर्‍याउने कार्यक्रम छ।यादवका केही निजी सामान बुधबारदेखि नै विष्ट थरका व्यक्तिको उक्त घरमा सारिएको छ। 
 
यादव सर्ने नयाँ घरको मर्मतसम्भार बुधबार अपराह्नदेखि नेपाली सेनाको मर्मत सम्भार विभागले गरिरहेको छ। 'तत्काल घर खोज्नुपर्ने भएकाले कति भाडा तिर्ने भन्नेलगायतका विषयमा सम्झौता भइसकेको छैन,' राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुंगानाले भने।
 
यादव बागडोल सरेपछि नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी शीतल निवासमा सर्नेछिन्। राष्ट्रपतिको सरकारी निवास र कार्यालय दुवै शीतल निवासमै भएकाले भण्डारी बिहीबार अपराह्न ३ बजे शपथ लिएदेखि नै त्यहीं बस्नेछिन्।
 
'नयाँ राष्ट्रपतिलाई राष्ट्रपति कार्यालयले शपथ कार्यक्रम र पदभार हस्तान्तणको कार्यक्रम राखेको छ,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, 'शपथ कार्यक्रम सकिएपछि निवर्तमान राष्ट्रपतिको बिदाइका लागि सरकारले विशेष कार्यक्रम राखेको छ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ