arrow

एकताको आह्वान र सिटौलाका घुम्तीहरु ? (२०३६ देखिको कांग्रेस यात्रा)

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
sitaula-new-ssss.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिका तेस्रो उम्मेद्वारको रुपमा देखा परेका कृष्णप्रसाद सिटौला अन्ततः तेस्रो नै भए । सिटौलाले पहिलो चरणको निर्वाचनमा कुल खसेको मध्ये ३ सय २४ मत पाए । कुल खसेको ३ हजार १ सय ४८ मध्ये सिटौलाले ३ सय २४ मत ल्याएका हुन् । पहिलो चरणको निर्वाचनमा देउवा पहिलो स्थानमा देखिए । तर, उनलाई ११ मतले पहिलो चरणमै सभापति निर्वाचित हुनबाट रोक्यो । अर्का प्रत्यासी रामचन्द्र पौडेल दोस्रो ठहरिए । दोस्रोचरणको निर्वाचनमा सघाउन भन्दै दुबै सिटौला कहाँ पुगे । सिटौलाले साथीहरुसंग छलफल गरेपछी सहयोग बारे जानकारी दिउँला भनेर दुबैलाई निवासबाट विदा गरे ।
 
अन्ततः सिटौलाको सहयोगको निष्कर्ष र उम्मेद्वारीको औचित्य पार्टी एकता नै रहयो । उनले विज्ञप्ती प्रकाशन गरेर पार्टी एकताका लागि आह्वान गरे । सभापतिका लागि भएको निर्वाचनमा तेस्रो हुने उनको उम्मेद्वारी घोषणा पहिलो थियो । रामचन्द्र पौडेल भन्दा एक घण्टा अघि र शेरबहादुर देउवा भन्दा एक दिन अघि उनले उम्मेद्वारी घोषणा गरेका थिए ।
 
उम्मेद्वारी घोषणा कार्यक्रममा मुलुकको वर्तामान अवस्थाप्रति निकै भावुक देखिएका सिटौला महाधिवेशन उद्घाटन समारोहमा झन् गम्भीर भएर प्रस्तुत भए । उनको भावलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहजै बुझेर संविधान निर्माण र शान्ति प्रक्रियामा  सिटौलाले खेलेको भूमिकाको निकै प्रशंसा गरेका थिए । युवा नेता गगन थापालाई महामन्त्री, उमाकान्त चौधरीलाई कोषाध्यक्षको उम्मेद्वार बनाएर अघि बढेका सिटौला सभापति भिडेरै छाडे । यद्यपि, पहिलो चरणमा दोस्रो हुने सिटौलाको प्रयास सफल भएन । उनी तेस्रो भए ।  
 
वीपीको नीति र सिद्धान्तका अनुयायी सिटौलाको उदय ?
गोविन्दराज जोशी कमजोर भएपछि गिरिजाप्रसाद कोइरालाले आफ्नो मूलधारको उत्तराधिकारी कृष्ण सिटौलालाई बनाउने प्रयत्न गरे । गिरिजाको विश्वास जित्न सकेकै कारण सिटौला कांग्रेस मूलधारको हकदार भए ।  नेपाली काँग्रेसको महामन्त्री भइसकेका कृष्णप्रसाद सिटौलाको जन्म विसं २००६ मा तेह्रथुमको संग्रातिमा भएको हो । सिटौलालाई अधिकांशले झापाली नेता भनेर चिन्दछन् । झापाली भन्ने वित्तिकै कुटिल भन्दछन् कतिपयले । विज्ञान र  कानूनमा स्नातक गरेका सिटौला कांग्रेसका प्रभाव र कुटनितिक क्षमता भएका नेताका रुपमा चिनिन्छ ।  
हाल कांग्रेसको नेतृत्व तहमा रहेका नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत विद्यार्थी संघको राजनीतिबाटै आएका हुन् । यद्यपि, सिटौलाको कांग्रेस यात्रा फकर छ । उनी जिल्ला सभापति हुँदै केन्द्रीय तहमा पुगेका हुन् । 
 
राजनीतिक जीवनको प्रारम्भमा कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका सिटौला २०३६ सालको जनमत सङ्ग्रहपछि काँग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । सिटौला झापा जिल्ला सभापति हुँदै नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा आए । सिटौला २०४६ सालको जनआन्दोलनपछि संसदीय राजनीतिमा आए । विसं २०४८ को निर्वाचनमा झापाको क्षेत्र नम्बर १ मा एमाले उम्मेद्वार द्रोणप्रसाद आचार्यसँग पराजित भए । आचार्यको असामयिक निधनछि झापा विसं २०५० सालमा भएको उपनिर्वाचनमा सिटौलाले एमालेका लीला उदासी खनाललाई हराएर सांसद भए ।
०५० को उपनिर्वाचनबाट सांसद भएका सिटौला २०५६ सालको संसदीय निर्वाचनमा पनि विजयी भए । विसं २०५७ सालमा पोखरामा भएको १०औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता सिटौलाले त्यसबेला पार्टी प्रवक्ताको भूमिका समेत निर्वाह गरे । सिटौलाले उद्योग राज्यमन्त्री, गृहमन्त्री र उपप्रधानमन्त्रीको कार्यभार समेत सम्हालिसकेका छन् । 
विसं २०५९ असोज १९ गतेको प्रतिगमनपछि भूमिगत नेकपा (माओवादी)सँग वार्ता गर्न तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रका रुपमा सिटौला खटिए । माओवादीसँगको शान्तिवार्तालाई निष्कर्षमा लैजान  महत्वपूर्ण भूमिका निर्वाह गरेका सिटौला गृहमन्त्री रहेकै बेला सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पराजित भए ।   
 
 
काँग्रेसको १२औँ महाधिवेशनपछि सभापति सुशील कोइरालाले मनोनीत महामन्त्री बनाएका सिटौला दोस्रो संविधानसभा निर्वाचनमा झापाबाट विजयी भए । दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिको सभापति भएर सिटौलाले संविधानको मस्यौदा निर्माणमा पनि महत्वपूर्ण योगदान गरे । दोस्रो संविधानसभाबाट संविधान जारी गर्न पार्टी महामन्त्री, प्रधानमन्त्री सुशील कोइरालाको विश्वास पात्र सहयोगी र मस्यौदा समितिको सभापतिका रुपमा सिटौलाको भूमिका महत्वपूर्ण छ । 
 
 
काँग्रेसभित्र पारिवारिक विरासतको बहस भइरहेका बेला नेता सिटौलाले पूर्वप्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको वैचारिक विरासत आफैँ भएको जिकिर गर्दै १३औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वारी दिए । चुनाव लडे । तेस्रो भए । 
 
चुनावी नतिजा 
कृष्णप्रसाद सिटौलाका लागि जीत हार बराबर जस्तै रहयो । विसं २०४८ साल यता सहभागि भएका ६ निर्वाचन मध्ये ३ मा मात्रै जीत हासिल गरे । सिटौलाले २०४८, २०५१ र २०६४ सालका चुनाव हारे  । तर, २०५० को उपनिर्वाचन, २०५६ आम निर्वाचन र २०७० मा भएको संविधानसभा निर्वाचनको नजिता उनकै पोल्टामा रहयो । यद्यपि, पार्टी सभापतिको चुनावमा पनि पराजय बेहोरे । 
 
दोस्रो चरणको निर्वाचन नगरौं, सर्वसहमति गर्दै एकताको सन्देश दिऔं 
१३औं महाधिवेशनमा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारले आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा सघाउन सभापतिका प्रत्यासी सिटौलाको घरमै पुगेपछी  सहयोगबारे जवाफ दिनै पर्ने बाध्यता भयो । अन्ततः उनले कसैलाई सहयोग भन्दा पनि सर्वसहमति गरेर पार्टी एकताको सन्देश दिऔं भन्दै सार्वजनिक अपिल गरे ।
 
सिटौलाले शेरबहादुर देउवालाई समेत सुझाएका छन् । देउवाले आफ्नो उम्मेद्वारी घोषणा गर्दा पार्टी केन्द्रीय कार्यालयमा ‘बाध्य भएर उम्मेद्वारी दिएको’ उद्घोष गरेका थिए । देउवाले भनेका थिए, ‘मैले अन्तिम समय सम्म पनि सहमतिको प्रयास गरे, आज आएर बाध्य भएर उम्मेद्वारी दिनु परेको छ ।’  
 
सिटौलाको विज्ञप्ती 
प्रेस विज्ञप्ती

नेपाली काँग्रेसको १३ औं महाधिवेशन भव्यताका साथ सम्पन्न भइरहेको छ। २०७२ फागुन २३ गते आइतवार सम्पन्न मतदानमा सहभागी भई हामीलाई सहृदयपूर्वक मतदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधीहरु तथा हामीप्रति  शुभेच्छा प्रकट गर्नुहुने र सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

आइतवारको मतदानबाट सभापति पदमा कसैको पनि निर्वाचित हुनको लागि आवश्यक मत प्राप्त हुन सकेन। महाधिवेशनबाट नेतत्व छनाेट गरेर फर्कदै गर्दा कुनै पनि गुटमा विभाजित भएको काँग्रेस होइन, एकतावद्ध भएको काँग्रेस भएको सन्देश लिएर जानुपर्छ। महाधिवेशनमा सहभागि प्रतिनिधी र सम्पूर्ण काँग्रेसजनको यही चाहना हो। त्यो एकताबद्ध काँग्रेसले मात्रै आज हाम्रासामु देखिएका चुनौतिको एकमुष्ट सामना गर्न सक्छ।

आज दोस्रो चरणको मतदान गर्ने प्रक्रियामा प्रवेश गर्दैछौ। यो अवस्थामा यदी दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै हिजो व्यक्त मतको समेत सम्मान गर्दै पार्टिभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने मेरो विश्वास छ।

अतः पार्टीलाई गुट उपगुटमा विभाजित हुनबाट मुक्त गरी एकताबद्ध बनाउन आफ्नो तर्फबाट पहल कदमी लिने प्रतिवद्धता जनाउँदै अन्य साथीहरुलाई पनि पार्टीको वृहत्तर एकताका निम्ति अग्रसर हुन आह्वान गर्दछु ।

कृष्ण प्रसाद सिटौला

मितिः २०७२ फागुन २४ गते



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ