arrow

नेपाल–चीन व्यापार : यसरी घट्दैछ भारतीय निर्भरता

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
nepal-china-busniss.jpg.jpeg

काठमाडौं । नेपाल र चीनबीचको सीधा व्यापारमा समेत भारतीय भर परिरहेका नेपालीको लागि खुशीको खबर ! नेपालले चाहाना राखेसँगै नेपालसँग सीधा व्यापारलाई दृढ र चीरस्थाई बनाउनको लागि चीनले आफ्नै पहलमा पूर्वाधार विकासका कामहरू सुरू गरेसँगै नेपाल–चीनबीचको सीधा व्यापारको लागि नयाँ सम्भावनाका ढोकाहरू खुलेका छन् । अघिल्लो महिना चीनसँग पारवहन लगायतका विभिन्न व्यापारिक सम्झौता गरे पश्चात् नेपालले चीनसँगको व्यापारमा सोझो सम्बन्ध कायम गर्ने बाटो खुलेको हो ।

विहीबार चीनले नेपालको लागि सामान बोकेको रेल लान्झोउबाट सिगात्सेसम्मको लागि पठाएको छ । अहिलेको लागि सामान पठाउन मात्रै प्रयोग गरिने जनाइएको रेल सिगात्सेसम्म ल्याइनेछ भने, सिगात्सेबाट सो सामान सडक मार्ग हुँदै तिब्बतको केरुङ आइपुग्नेछ र केरुङबाट काठमाडौंमा उक्त सामान ल्याइनेछ ।

अहिले नेपालमा चीनबाट आउने सामानको झण्डै ८८ प्रतिशत हिस्सा भारतीय बन्दर्गाह मार्फत् आउने गरेको छ । मूल्यमा सस्तो पर्ने भनेर भारतीय भूमि प्रयोग गरेर ल्याइएको सामान चीनले रेल सेवा सञ्चालन गरिसकेपछि भारतीय बाटोबाट ल्याउन लाग्ने समय भन्दा ३५ दिन अघि नै नेपाल आइपुग्ने चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ ।

सरकारी तथ्याङ्कलाई नै आधार मान्ने हो भने, भूकम्पका कारण भौतिक संरचना नष्ट हुँदा उत्तरी छिमेकी मुलुक चीन र नेपालको सीमा नाकामार्फत हुने कूल व्यापारमा उच्च गिरावट आउँदै व्यापारको हिस्सा १२ प्रतिशतमा सीमित भएको छ । जबकी १० वर्ष अघि नेपाल र चीनबीचको सीधा व्यापारको हिस्सा ३६ प्रतिशत थियो । आर्थिक वर्ष २०१४/०१५ को सरकारी तथ्याङ्कलाई विश्लेषण गर्दा आर्थिक वर्ष २००५/०६ को तथ्याङ्कको तुलनामा सो मात्रामा गिरावट आएको हो ।

पछिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार ९१ अर्ब २३ करोड पाँच लाख ४१ हजार रूपैयाँ भारतीय भूमि मार्फत् व्यापार भएको छ भने, चीनसँग ११ अर्ब ९७ करोड ७३ लाख ९ हजार रूपैयाँ बराबरको सीधा व्यापार भएको छ ।

उत्तरी छिमेकी मुलुकसँगको यातायात सम्पर्कमा केही कठिनाई रहेको कारणले पछिल्लो समय दक्षिणी छिमेकी मुलुक भारतसँगको व्यापारमा निर्भर हुँदै गएको नेपालमा चीनसँग पनि समानान्तर व्यापारिक सम्बन्ध सुधार गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो । यसैबीच, विहीबार चीनले काठमाडौ‌ंका लागि पठाएको मालवाहक रेल लान्झोउबाट छुटेसँगै नेपाल–चीन सीधा व्यापारमा पनि नयाँ आशाको किरण पलाएको छ ।

दक्षिणी छिमेकी मुलुक भारतले पटकपटक गर्दै आएको घोषित तथा अघोषित नाकाबन्दीले पीडित बन्नु परेका नेपालीको लागि चीनसँगको पारवहन तथा व्यापारिक सम्झौता महत्वपूर्ण हुने नेपालमा समेत चर्चा सुरू भएको छ । चीनले रेल सेवा सुरू नगर्दा सम्म नेपाल र चीनबीचको पारवहन तथा व्यापारमा समेत भारतकै भर पर्नुपर्ने अवस्था थियो ।

अर्कोतिर वाणिज्य मन्त्रालयको आयात तथा निर्यात सम्बन्धि एक तथ्याङ्कका अनुसार नेपाल र चीनबीचको सीमा नाकाको भन्दा सात गुणा भन्दा बढी व्यापार भारतीय भूमि मार्फत् हुने हुँदा अहिलेकै अवस्थामा जस्तासुकै सम्झौता गरे पनि नेपाल र चीनबीच प्रत्यक्ष रूपमा धेरै व्यापार हुने सम्भावना नरहेको मन्त्रालयका अधिकारीहरू बताउँदै आएका छन् ।
 
व्यापार तथा निकासी प्रवर्दन केन्द्रको तथ्याङ्क अनुसार हवाई मार्ग र कोलकाता सुख्खा बन्दरगाह मार्फत् हुने व्यापारको २०१४/१५ को सो तथ्याङ्क नेपालले चीनसँग गर्ने व्यापारको ८८ प्रतिशत हुन आउँछ। त्यसमध्ये पनि अधिकांश अर्थात् ९५ प्रतिशत भन्दा बढी बस्तु सुख्खा बन्दर्गाह मार्फत् आउने गरेका छन् भने कूल व्यापारिक बस्तुको १२ प्रतिशत मात्रै नेपाल र चीनबीच प्रत्यक्ष व्यापार हुने गरेको छ ।

भारतले चाहेको खण्डमा नेपालले चीनसँग गर्ने व्यापारको झण्डै ८८ प्रतिशत हिस्सामा अवरोध गर्न सक्नेतर्फ नेपाली अधिकारीहरूले सचेत गराएसँगै नेपाल र चीनबीच नयाँ पारवहन सम्झौता सम्भव भएको थियो । यस्तै, नेपालले चीनसँगको व्यापारमा विगतका वर्षहरूदेखि नै भारतको भरपर्दै आएको छ। यही तथ्यलाई हेर्ने हो भने पछिल्लो समयमा चीनसँग स्वतन्त्र भन्दा परनिर्भरमुखि व्यापार भएको देखिएको हो। नेपाल चीनबीच व्यापारमा पनि भारतको भर पर्नुपर्ने यो तथ्याङकले हाम्रो भूअर्थराजनीतिलाई प्रष्ट्याएको छ।

तथ्याङ्कका अनुसार १० वर्षको समयावधिमा भारतीय भूमिको प्रयोग गर्ने दर ३६ प्रतिशतले बढेर आर्थिक वर्ष २०१४/०१५ मा ८८ प्रतिशतमा पुगेको केन्द्रका तथ्याङ्क अधिकृत कृष्णराज बजगाईले जानकारी दिए। जुन तथ्याङ्क अघिल्लो आर्थिक बर्ष अर्थात् २०१३/१४ मा ७४ प्रतिशत थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ