arrow

देउवाको गृह जिल्लामा प्रशासनिक कलह : क्याम्पस प्रमुखलाई अख्तियार इन्सपेक्टरले धम्क्याए

क्याम्पस प्रमुखलाई राजिनामा दिन दबाब, प्रशासनिक कर्मचारीलाई लेखाको जिम्मा

logo
राम धामी,
प्रकाशित २०७३ जेठ ४ मंगलबार
dadeldhura-bahumukhi-campus.jpg.jpeg

डडेल्धुरा । राजनीतिक हस्तक्षेप र भागबन्डाका कारण विवादमा आइरहने सदरमुकामस्थित डडेल्धुरा बहुमुखी क्याम्पसमा पछिल्लो समय प्रशासनिक हस्तक्षेप बढ्दै गएकोे छ । यसअघि, डडेल्धुराका सरकारी निकायले वार्षिक प्रतिवेदनहरु सार्वजनिक गर्न अटेर गरी मनोमानी गर्ने गरेको रहस्योद्घाटन भइसकेको छ ।

त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसका रुपमा परिचित डडेल्धुरा बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरबाट नियम र कार्यक्षेत्र विपरित हस्तक्षेप हुँदा क्याम्पस सञ्चालनमा कठिनाई आइरहेको क्याम्पस प्रमुख नेत्रप्रसाद पनेरुले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयबाट अनुसन्धानका क्रममा आएको टोलीका एक प्रहरी निरिक्षकले क्याम्पस प्रमुख पनेरुलाई तत्काल पदबाट राजिनामा गर्न दबाब दिएको क्याम्पस श्रोतले जनाएको छ । क्याम्पसमा अख्तियार दुरुपयोग भइरहेको विभिन्न उजुरीका आधारमा छानविनमा आएको आयोगको टोलीमा संलग्न प्रहरी निरिक्षक चक्रबहादुर मल्लले तत्काल राजिनामा गर्न दबाब दिएका हुन् ।

कर्मचारीलाई नियन्त्रणमा राख्न नसक्ने भन्दै क्याम्पस प्रमुख पनेरुलाई मल्लले तत्काल राजिनामा गर्न दबाब दिएका हुन् । कार्यक्षेत्र विपरीत गएर प्रहरी निरीक्षक मल्लले राजिनामा गर्न दबाब दिएको क्याम्पस प्रमुख पनेरुले बताए । क्याम्पस श्रोतका अनुसार क्याम्पसमा नियुक्त नगरिएका र काजमा अन्यन्त्र रहेका कर्मचारीलाई तत्काल पारिश्रमिक दिन समेत प्रहरी निरिक्षक मल्लले क्याम्पस प्रमुख पनेरुलाई दबाब दिएका थिए ।

मल्लको दबाबपछि क्याम्पस प्रमुख पनेरुले नियुक्त नभएका कर्मचारीलाई ८ महिना पहिलेको मितिमा नियुक्ती दिएर पारिश्रमिक उपलब्ध गराएका छन् भने, क्याम्पसमा दरबन्दीभई हाल अन्य जिल्लामा कार्यरत एक कर्मचारीको पारिश्रमिक दिन लामो समय देखि आलटालगर्दै आएको क्याम्पसले हाल पारिश्रमिक भुक्तानी गरेको छ ।

यससम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयका प्रवक्ता बिष्णुसिँह बिष्टले अख्तियारको टोलीमा गएका प्रहरी निरीक्षकले कसैलाई राजीनामा गराउन दबाब दिने क्षेत्राधिकार नभएको बताए । उनले क्याम्पस प्रमुखलाई राजीनामा गराउन दबाब आएको विषयमा मौखिक गुनासो प्राप्त भएकाले स्टाफ बैठकमा सम्झाई बुझाई गरिएको बताए । ‘क्षेत्राधिकार विपरित क्याम्पस प्रमुख जस्तो व्यक्तिलाई राजीनामा गराउन दबाब दिइएका विषयमा आयोगमा कसैविरुद्ध लिखित उजुरी भने आएको छैन् ।’ –उनले भने ।

त्रिभुवन विश्व विद्यालयका रजिष्टारको कार्यालयबाट प्रशासनिक कर्मचारीलाई लेखाको जिम्मेवारी दिन लिखित निर्देशन प्राप्त भएको क्याम्पस श्रोतले बताएको छ । झण्डै ६ वर्ष देखि लेखाको जिम्मेवारी निभाउदै आएका लेखाका कर्मचारीलाई जिम्मेवारविहीन बनाएर क्याम्पसमा कार्यरत प्रशासनिक तर्फका शाखा अधिकृत तुल्सीप्रसाद ओझालाई लेखाको जिम्मेवारी दिन लिखित निर्देशन आएको हो । ‘करारमा रहेका कर्मचारीबाट लेखाको काम गराइने कुरा सुनिन आएकाले तत्काल शाखा अधिकृत ओझालाई लेखाको जिम्मेवारी दिएर कार्यसम्पादन गर्न लिखित निर्देशन आएको छ ।’ –श्रोतले भन्यो ।

निर्देशन अनुसार हाल शाखा अधिकृत लेखाको जिम्मेवारी दिएको क्याम्पस प्रमुख पनेरुले स्वीकारे । प्रशासनिक कर्मचारीलाई लेखाको जिम्मा दिदा कार्यसम्पादन निकै असहज भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । लेखा सम्बन्धी अनुभव नभएका व्यक्तिलाई  जिम्मेवारी दिँदा हाल क्याम्पसको कार्यसम्पादनमा असर परिरहेको क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ