arrow

समाचार प्रभाव- कविराज निरीक्षक झालाई कारबाहीका लागि सिडिओद्धारा पत्राचार

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
subhas-jha.jpg

दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिकाको उकु आयुर्वेद औषधालय जौलजिवीमा कार्यरत पदनाम कविराज निरीक्षक शुभास झाको हाजिरी रजिष्टरमा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले कैफियत जनाएका छन् । कविराज निरीक्षक झाले विगत ६ महिना देखि घर बसी —बसी तलब भत्ता बुझ्दै आइरहेको बारे हाम्रा कुरा डटकमले समाचार प्रकाशित गरेको थियो । 

हाम्रा कुरा डटकममा समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले कविराज निरीक्षक झा कार्यालयमा उपस्थित भए नभएको बारे अनुगमन गरेका थिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले झा विगत ६ महिना देखि कार्यालयमा हाजिर नभएको भेट्टाए पछि उनको हाजिरीमा कैफियत जनाएर आवश्यक कारबाहीका लागि मालिकार्जुन गाउँपालिकालाई पत्राचार गरेका छन् । 

‘विगत ६ महिना देखि घरमै बसेर तलब भत्ता बुझ्दै आएका कविराज निरीक्षक झालाई आवश्यक कारबाही गर्न प्रमुख जिल्ला अधिकारी ज्यूले गाउँपालिकालाई पत्राचार गर्नु भएको छ, सोही अनुसार कारबाही हुन्छ । मालिकार्जुन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जय सिंह धामीले भने ।

जनताले तिरेको करबाट सेवासुविधा लिइरहेका पदनाम कविराज निरीक्षकलाई सरकारले मालिकार्जुन गाउँपालिकाको जौलजिवी स्थित आयुर्वेद औषधालयमा पठाएको भए पनि उनी गत फागुन ११ गते देखि कार्यालयमा हाजिर छैनन् । फागुन देखी हालसम्म कार्यालयमा एक दिन पनि उपस्थित नभएका उनलाई गाउँपालिकाले गत असार सम्मको तलब र स्थानिय भत्ता खुवाई सकेको निमित्त प्रमुख प्रशासकिय अधिकृत धामीले स्वीकार गरेका छन् । उक्त कार्यालयको कार्यालय प्रमुखका रुपमा रहेका कविराज निरीक्षक झा विगत देखि नै विभिन्न बाहाना बनाएर घरमै बसी राख्ने गरेको समेत खुल्न आएको छ ।

विगत ६ महिना देखि कार्यालयका प्रमुख झा कार्यालयमा उपस्थित नभएपछि कार्यसम्पादन तथा कार्यालयबाट स्थानियले पाउनु पर्ने सेवा पाइरहेका छैनन् । कोरोना महामारीका बेला अन्य स्वास्थ्यकर्मीहरु रात दिन नभनेर खटिरहेको अवस्थामा उनी भने ढुक्कसंग घरमा बसीरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ