arrow

शान्ति मिसनमा थपिँदै नेपाली सैनिक

शान्ति स्थापक १५ वटा मिसनमा चार हजार तीन सय ६१ सैनिक कार्यरत रहेकोमा अब एक हजार तीन सय

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
unmission.jpg.jpeg
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति स्थापक मिसनमा नेपालबाट एक हजार तीन सय ३७ सैनिक थपिने भएका छन् । इन्जिनियर्स, सैनिक प्रहरीलगायतको काममा तीन सय २७ सैनिक तीन महिनाभित्र उड्ने तयारीमा छन् । थप एक बटालियन र गुल्मस्तरका गरी एक हजार सैनिकलाई राष्ट्रसंघको आग्रहमा तयारी अवस्थामा राखिएको छ । मिसन तय हुनासाथ उनीहरू प्रस्थान गर्ने आजको नयाँ पत्रिकामा समाचार छ ।
 
राष्ट्रसंघको आग्रहअनुसार लिबियामा सुरक्षागार्डका रूपमा दुई सय ३३ सैनिक तीन महिनाभित्र जाादै छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हाल ५६ सैनिक प्रहरी कार्यरत छन् । त्यहाँ ६४ सैनिक पठाउने तयारी छ । सिरियाको गोलान हाइटमा थप ३० इन्जिनियर सैनिक जाँदै छन् । त्यहाँ सेनाको कम्पनीस्तरको एक युनिट कार्यरत छ ।
 
संयुक्त राष्ट्रसंघले एक बटालियनस्तरको अर्थात् आठ सय ५० सैनिक रहने फौजलाई तयारी हालतमा राख्न भनेको छ । यसलाई सेनाले ‘र्‍यापिड डिप्लोइड बटालियन’ भनेको छ । यसबाहेक एक सय ५० जनाको विशेष फोर्सका सैनिकलाई पनि तयारी हालतमा राख्न भनिएको छ । ‘उनीहरू जानका लागि तयारी हालतमा छन्,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भने, ‘राष्ट्रसंघले पठाउनु भनेपछि जाने अवस्थामा नेपाली सैनिक छन् ।’
 
शान्ति मिसनमा नेपाली सेनाको विश्वसनीयता बढेको पनि कार्कीले बताए । ‘नेपाली सेनाको विश्वसनीयता झन् बढेको छ, हामीले कहिल्यै पनि रोकेनौँ,’ उनले भने, ‘आर्थिक रूपमा सेना र देश नै लाभान्वित भएको छ । हाल नेपाली सेना मिसनहरूको अतिसंवेदनशील ठाउँमा छन् । लेबनान र कंगोमा अरू सैनिक जान नमानेको ठाउामा नेपाली गएर उत्कृष्टता प्रदर्शन गरेका छन् ।’
 
अहिले १५ वटा शान्ति स्थापक मिसनमा जम्मा चार हजार तीन सय ६१ सैनिक कार्यरत छन् । यीमध्ये महिला ९८, फौज चार हजार दुई सय सात, सैनिक पर्यवेक्षक ५६ र स्टाफ अधिकृत ९८ छन् । अब एक हजार तीन सय २७ सैनिक थपिादा शान्ति स्थापक सेनामा जाने संख्या पाँच हजार ६ सय ८८ पुग्नेछ । यसअघि नेपालले पाँच हजार सैनिक पठाउने निर्णय गरेकोमा यसपटक संख्या बढाएको छ । सरकारले सेनाको कुल संख्याको दश प्रतिशत जनशक्ति शान्ति स्थापनाका लागि पठाउने निर्णय गरेको छ । सेनाको कुल दरबन्दी ९६ हजार नौ सय २४ छ । सरकारले कुल सेनाको दश प्रतिशत अर्थात् नौ हजार ६ सय सैनिक पठाउन नेपालले प्रतिबद्धता जनाएको छ ।
 
१९५८ मा ५ पर्यवेक्षकबाट लेबनानस्थित शान्ति स्थापक सेनामा सहभागिता सुरु गरेको नेपालले हाल ५६ पर्यवेक्षक खटाएको छ । यीमध्ये कंगोमा १४ तथा दक्षिण सुडान र सुडानमा ११–११ पर्यवेक्षक कार्यरत छन् ।
शान्ति मिसनमा हालसम्म एक लाख ११ हजार तीन सय ९९ जनाले विभिन्न ओहोदामा रहेर काम गरेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए । अहिलेसम्म ६३ सैनिक मारिएका छन्, ५९ जना घाइते छन् । नेपाली सेना शान्ति मिसनमा योगदानकर्ता देशको छैटौँ स्थानमा छ । मिसनमा हालसम्म आठ सय ७० जना महिला सैनिक सहभागी भएका छन् ।
 
संसारभर १६ मिसनमा नीलो हेल्मेट लगाउने एक लाख सैनिक कार्यरत छन् । यसका लागि करिब आठ अर्ब डलर राष्ट्रसंघले खर्च गर्ने गरेको छ । यो अमेरिकी सैन्य खर्चको एक प्रतिशत रकम हो । सन् २०१० मा अफगानिस्तान मिसनमा अमेरिकाले एक महिनामा करिब आठ अर्ब डलर खर्च गरेको थियो । अमेरिकी वार्षिक रक्षा बजेट अहिले ५७३ अर्ब डलर छ ।
 
कहाँ- कहाँ छन् नेपाली शान्ति सैनिक?
लेबनान : २० स्टाफ अधिकृतसहित ८६९
इराक : ७६
कंगो : १४ पर्यवेक्षक, चार स्टाफ अधिकृतसहित १४२
लाइबेरिया : दुई पर्यवेक्षक, दुई स्टाफ अधिकृतसहित १९
हाइटी : तीन स्टाफ अधिकृत
दक्षिण सुडान : ११ पर्यवेक्षक र २६ स्टाफ अधिकृतसहित १५८५
सुडान : ११ पर्यवेक्षक, १३ स्टाफ अधिकृतसहित ३७४
सुडान (युनिस्फा मिसन) : १ स्टाफ अधिकृत र ६ पर्यवेक्षक
आइभोरीकोस्ट : तीन सैनिक पर्यवेक्षक, एक स्टाफ अधिकृत
इजरायल : ३ सैनिक पर्यवेक्षक
मोरक्को : ५ पर्यवेक्षक
सिरिया : ६ स्टाफ अधिकृतसहित १५५
माली : ३ पर्यवेक्षक, ७ स्टाफ अधिकृतसहित १५०
सेन्ट्रल अफ्रिकन रिपब्लिक : ३ पर्यवेक्षक, ९ स्टाफ अधिकृतसहित ६८
सोमालिया : एक स्टाफ अधिकृत
 
उच्च तहमा को-को गए ? 
राष्ट्रसंघीय महासचिवका सहायक सैनिक सल्लाहकार, कार्यबाहक सल्लाहकार मेजर जनरल चित्रबहादुर गुरुङ, २०००–२००२
फोर्स कमान्डर
रथी कृष्णनारायण सिंह थापा, १९९१–१९९५
रथी भिक्ट्रीशमशेर राणा, १९९९–२००१
उपरथी बालानन्द शर्मा, २००४–२००७
मेजर जनरल पवनजंग थापा, २००७–२००८
उपरथी पूर्णचन्द्र थापा, २०१५–२०१६
सहायक फोर्स कमान्डर
सहायकरथी नगेन्द्रबहादुर बस्नेत, सन् १९८७–१९८९
सहायकरथी शिवराम खत्री, १९९२–१९९३
सहायकरथी कुमारबहादुर फुदोङ, १९९८–१९९९
सहायकरथी देवबहादुर घले, २००४–२००५
सहायकरथी लोकबहादुर थापा मगर, २००७–२००८
सहायकरथी हरिबहादुर बस्नेत, २०१३–२०१४
सहायकरथी रमेशकुमार पुन, २०१४–१५
किन भरपर्दो  छ नेपाली सेना ? 
नेपाली सेनालाई राष्ट्रसंघले भरपर्दो मानेको छ । सिरिया र इजरायलको सीमा गोलानहाइटमा विद्रोही समूहले अस्ट्रियन सैनिक अपहरण गरेपछि को जाने भन्ने बहस भयो । त्यतिवेला गोलानहाइटमा जान फिजी र आइरिस सैनिकले लबिङ गरे । तर, राष्ट्रसंघले नेपालीलाई प्रस्ताव गर्‍यो । तत्काल लेबनानस्थित मिसनमा खटिएकामध्येबाट एक सय ५० जनाको कम्पनी नेपालले गोलानहाइट पठाएको थियो ।
सुडानमा पनि संकट चुलिादै गएपछि राष्ट्रसंघले नेपाललाई आग्रह गर्‍यो । नेपालले तत्काल एउटा गण पठायो र पछि अर्को थपियो । सुडानमा पानीजहाजमा विद्रोहीको आक्रमणलाई नेपाली सेनाले प्रतिकार गरेर हराएपछि विश्वसनीयता बढ्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ