- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले चिनियाँ खोप लगाउनु गल्ती भएको बताएका छन् । बिबिसीका अनुसार चिनियाँ सरकारी स्वामित्वको खोप उत्पादक कम्पनी सिनो फार्मले उत्पादन गरेको खोप राष्ट्रपति दुतेर्तेले लगाएका थिए ।
उनले यो खोप लगाएकोमा माफी माग्दै 'सिनो फार्मको खोप लगाउने म एक्लैलाई हुनदिनुहाेस्' भन्दै अरूले सिनो फार्मको खोप नलगाउन आग्रह गरेका छन् । यसबाहेक उनले फिलिपिन्स स्थित 'चिनियाँ दूतावासले दिएको १ हजार डोज सिनो फार्मको खोप फिर्ता लैजानुहाेस्' भनेर आग्रह गरेका छन् ।
फिलिपिन्समा अहिले एस्ट्राजेनेका र चिनियाँ अर्को खोप सिनोभ्याकलाई आपतकालिन प्रयोगका लागि अनुमति दिइएको छ । त्यसअघि नै उनले आफ्ना व्यक्तिगत चिकित्सकको सल्लाहमा सिनो फार्मको खोप लगाएको बताएका छन् ।
तर, सिनो फार्मको खोप लगाउनु ठुलो गल्ती भएको बताउँदै उनले अरू कसैलाई पनि नलगाउन आग्रह गरेका छन् । यो खोप सम्बन्धी पर्याप्त अनुसन्धान र तथ्याङ्कहरू नभएको बताउँदै उनले घातक असर समेत पर्न सक्ने बताएका छन् ।
चीनका दुवै खोप भ्याक्सिन र सिनो फार्मले हालसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट अनुमति पाएका छैनन् । सुरुदेखि नै चीनले खोपको परीक्षण सम्बन्धी स्पष्ट तथ्याङ्कहरू सेयर नगरेको आरोप छ ।