रविलाई गुनासो गरेको २४ घण्टा नपुग्दै पीडित व्यवसायी बालेनको कारबाहीमा, बिहानैदेखि सरकारको विरोध
'चुपचाप घण्टी छापमा भोट हाल्नेहरू अहिले वीरगञ्जमा भन्न थाले वाप रे वाप'
दीपेन्द्र चौहान,
प्रकाशित २०८३ असार २० शनिबार
1.2k
Shares
वीरगञ्ज। सरकार सञ्चालन गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आफ्नो पीडा र समस्या सुनाएको २४ घण्टा नबित्दै वीरगञ्जका उद्योगी–व्यवसायीले पुनः सरकारी कारबाहीको सामना गर्नुपरेको छ।
पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्तले असार १७ गते बिहीबार वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्व वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी तथा उद्योगी–व्यवसायीहरूको टोलीलाई रवि लामिछानेसँग उनकै निवासमा भेट गराएका थिए ।
भेटका क्रममा पूर्वमेयर सरावगीले आफ्नो कार्यकालमा वीरगञ्ज महानगरपालिकाले मुख्य सडक १५–१५ मिटर विस्तार गर्ने निर्णय गरेको स्मरण गराउँदै सोही निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको बताए ।
भेटपछि सांसद हरि पन्तले सामाजिक सञ्जालमार्फत वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल भएको, उनीहरूले आफ्ना समस्या राखेको तथा पार्टी र सरकार समाधानप्रति सकारात्मक रहेको उल्लेख गरेका थिए।
त्यसको भोलिपल्ट असार १८ गते शुक्रबार सडक डिभिजन कार्यालयको टोली पुनः डोजरसहित वीरगञ्जको गण्डक क्षेत्र हुँदै पिपरातर्फ तोडफोडका लागि अघि बढ्न खोज्दा स्थानीय बासिन्दा र व्यवसायी कडा प्रतिवादमा उत्रिएका थिए। विरोध चर्किएपछि डोजर फिर्ता भएको स्थानीयले बताएका छन्।
मुख्य सडकका व्यवसायी सन्दीप तुलश्यानले आफूहरूसहितका व्यवसायीले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको र श्रावण २० गते पेशी तोकिएको जानकारी दिए।
“मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। कम्तीमा पेशी नटुंगिएसम्म सरकारले पर्खनुपर्थ्यो,” उनले भने।
तुलश्यानका अनुसार, बिहीबार रवि लामिछानेलाई भेटेर सम्पूर्ण समस्या सुनाई वीरगञ्ज फर्किएको भोलिपल्टै डोजरसहितको कारबाही अघि बढाइँदा स्थानीयमा त्रासको वातावरण सिर्जना भएको छ।
सडक डिभिजन कार्यालय, हेटौंडाले असार २ गते सूचना प्रकाशित गर्दै सडक क्षेत्रमा परेका संरचना एक साताभित्र हटाउन निर्देशन दिएको थियो। स्रोतका अनुसार उक्त सूचना जारी भएपछि सांसद हरि पन्तले कार्यालयसँग थप १५ दिनको समय मागेका थिए। सोही समयसीमा असार १८ गते सकिएपछि डोजर परिचालन गरिएको हो।
पछिल्ला घटनाक्रमपछि वीरगञ्जमा सरकारप्रति असन्तुष्टि बढ्दै गएको भन्दै स्थानीय तहमा विभिन्न टिप्पणीहरू सुनिन थालेका छन्।
स्थानीय एक जनाले सुनाए, 'चुपचाप घण्टी छापमा भोट हाल्नेहरू अहिले वीरगञ्जमा भन्न थाले वाप रे वाप ।'
यसैबीच आज शनिवार बिहानैदेखि वीरगञ्जका विभिन्न ठाउँमा टायर बालेर सरकारविरूद्ध प्रदर्शन गरिएको छ।