arrow

नेपाल खनाल समूह नयाँ पार्टीको गृहकार्यमा

नयाँ पार्टी गठन गर्ने कि यत्तिकै बस्ने भन्नेमा नेपाल समूहमा विवाद

भीम रावल र बेदुराम भुषाल नयाँ पार्टीको दस्तावेज लेख्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
nepal-khanal-cpn.jpg
तस्वीर–फाइल ।

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको खनाल–नेपाल समूहभित्र नयाँ पार्टी खोल्ने कि यत्तिकै बस्ने भन्ने बारेमा तीव्र ध्रुविकरण शुरु भएको छ । नयाँ पार्टी खोल्ने विषयमा शीर्ष नेतृत्वले जनसंगठनहरुसँग सुझाव लिएसँगै पार्टीभित्र ध्रुविकरण शुरु भएको हो । 

एमाले अध्यक्ष एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि भूमिका नदिने र पार्टीबाट बाहिर निकाल्ने कोसिस जारी राखेको भन्दै माधवकुमार नेपालले नयाँ पार्टी गठनको तयारीलाई तीव्र पारेको उच्च स्रोतले जानकारी दिएको छ ।

 ओलीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने र पदाधिकारीसहित पार्टीभित्र उचित स्थान दिने अवस्था आए मात्रै नयाँ दल खोल्नबाट नेपाल पक्ष पछि हट्ने संभावना रहेको स्रोतको दाबी छ । नेपाल समूहमा वामदेव गौतम पनि सहभागी हुने भएका छन् । उनले विज्ञप्तिनै जारी गरेर नयाँ दल गठन गरे सहभागी हुने जनाइसकेका छन् । 

त्यसगरी भीम रावलले नयाँ दलको परिकल्पना सहितको राजनीतिक दस्तावेज लेखिरहेका छन् । त्यसमा बेदुराम भूषालले साथ दिइरहेको स्रोतको दाबी छ । अहिले पार्टी विभाजन हुन लागेको भन्दै ठाकुर गैरेको नेतृत्वमा केही केन्द्रीय सदस्यहरुले नेपालसहित सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरुलाई विभाजनको विपक्षमा उभिन दबाब दिइरहेको स्रोतको दाबी छ ।
 
नेपाल पक्षका केन्द्रीय सदस्य झपट रावलले पार्टी विभाजन हुने र नयाँ दल खुल्ने संकेत आइतबार नै गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा उनले ब्यक्तिको दम्भका कारण पार्टी एकताका सबै प्रयास असफल भएको भन्दै त्यसको संकेत गरेका थिए । 

आइतबार बिहान सांसद पदबाट राजीनामा दिएर नयाँ पार्टी खोल्ने विषयमा छलफल थाल्ने योजना रहेको भए पनि संसदीय दलभित्र व्यापक असन्तुष्टि देखिएपछि नेपाल लगायतका नेताहरुले मध्यमार्गी बाटो रोजेर तत्काल सांसद पदबाट राजीनामा नदिने तर संसदमा उपस्थित नहुने निर्णय गराएका थिए । 

नयाँ पार्टी गठन गर्नु हुँदैन भन्ने बारेमा घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका धेरै नेताहरु भए पनि नेपाल लगायतका अन्य नेताहरुले ओलीले अब पेलेरै जाने नीति लिएका कारण अर्को विकल्प नभएको ठहर गर्दै आएका छन् । 

उनीहरुले नयाँ पार्टी खोल्ने विषयमा जनसंगठनका नेताहरुसँग गोप्य रुपमै बैठकहरु गरिसकेका छन् । धेरैजसो जनसंगठनका अध्यक्षहरुले अहिले नै नयाँ पार्टी खोल्ने विषयमा असहमति जनाएको भए पनि नेता नेपाल लगायका केही नेताहरुले निर्वाचनको समय पनि नजिकै आएकाले पार्टी खोल्न ढिलाई गर्न नहुने तर्क गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ