arrow

अमेरिकामा बेरोजगार भत्ता दाबी गर्नेको सङ्ख्या चार लाख ७३ हजार

logo
सिन्ह्वा,
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
USA-flag.png
फाइल तस्बिर

वासिङ्टन। संयुक्त राज्य अमेरिकामा रोजगारी गुमाएकाहरूको सङ्ख्या निरन्तर ओरालो लागेको छ। कोरोनाभाइरस महामारीका कारण गत वर्षको सुरुमा ठुलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ। पछिल्लो विवरणमा चार लाख ७३ हजार व्यक्तिले मात्र हाल रोजगारी गुमाएको विभागको सर्भेले देखाएको छ।

श्रम तथ्याङ्क ब्युरोले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा बेरोजगारी भत्ताका लागि आवेदन गर्नेहरूको सङ्ख्यामा ३४ हजारले कमी आएको उल्लेख छ। अघिल्लो साता करिब पाँच लाख ७ हजार व्यक्तिले बेरोजगारी भत्ताका लागि आवेदन गरेकामा पछिल्लो साता चार लाख ७३ हजारले मात्र आवेदन दिएका छन्।

यो गत वर्ष सन् २०२० को मार्च १४ मा बेरोजगारी दाबी गरेयता सबैभन्दा कम हो। त्यस बखत कूल दुई लाख ५६ हजारले बेरोजगारी भत्ताका लागि दाबी गरेका थिए।

यसैबिच, राज्य र सङ्घीय दुवैतर्फका कार्यक्रमबाट सुविधा दाबी गर्ने व्यक्तिको कूल सङ्ख्या छ लाख ९६ हजारले कमी आएर एक करोड ६८ लाख ५५ हजार रहेको पाइएको छ।

रिपब्लिकन शासित धेरै वटा राज्यले सङ्घीय बेरोजगार कार्यक्रमलाई जुनभित्रै अन्त्य गर्ने घोषणा गरेका छन्। यो कार्यक्रम आगामी सेप्टेम्बरभित्र समाप्त हुँदै छ। सङ्घीय सहायता कार्यक्रममा राज्यबाट प्रदान गरिने सुविधाका अतिरिक्त साप्ताहिक ३०० अमेरिकी डलरको बेरोजगार भत्ताको व्यवस्था गरिएको छ। 

गभर्नरहरूको भनाइमा सङ्घीय सरकारले उपलब्ध गराएको भत्ताका कारण मानिसहरूले काम खोज्न अभिरुचि नदेखाएको र श्रमिकको अभाव हुन थालेको छ। 

अमेरिकी अर्थमन्त्री जानेट येलेनले गभर्नरहरूका तर्कको खण्डन गरेका छन्। हालै ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जेनेटले बालबच्चा र वृद्धवृद्धाका स्याहारका साथै महामारीको त्रास तथा व्यक्तिगत स्वास्थ्य समस्याले पनि मानिसहरू काममा जान हच्किइरहेका र त्यो स्वाभाविक रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ