arrow

इजरायली हवाई आक्रमणमा १० जना प्यालेस्टिनीको मृत्यु

logo
एपी,
प्रकाशित २०७८ जेठ १ शनिबार
isreal-gaza-air-strike.jpeg
फाइल तस्बिर

गाजा सिटी। इजरायलले शनिवार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ। मारिएकाहरूमा अधिकांश बालबालिका छन्। गाजामा सक्रिय हमासका लडाकुलाई लक्षित गरी इजरायलले यसै साताको सुरुदेखि हवाई तथा स्थल आक्रमण जारी राखेको छ। गाजामा इजरायल र हमास लडाकु बिचको युद्ध रोक्न र युद्ध बिराम गराउन प्रयास जारी छन्।

पछिल्लो पटकको हिंसा जेरुसेलमबाट सुरु भएको थियो र यो अहिले गाजा क्षेत्रका साथै इजरायली भूमिमा बसोबास गर्ने अरब समुदायसम्म फैलिएको छ। अरब र यहुदी समुदायबिच पनि इजरायलभित्रै हिंसात्मक झडपहरू जारी छन्।

शुक्रवार इजरायल अधीनस्थ पश्चिमी किनारामा पनि प्यालेस्टिनी समुदायले इजरायल विरोधी प्रदर्शन गरेका थिए। त्यहाँ पनि इजरायली सेनाले गरेको कारबाहीमा ११ जना सर्वसाधारणको गोली लागेर मृत्यु भएको थियो।

हिंसात्मक कारबाही तीव्र भएसँगै नयाँ प्यालेस्टिनी “इन्तिफादा” अर्थात् विद्रोह हुने सम्भावना बढाएको छ। केही वर्षदेखि प्यालेस्टिनी समस्याको समाधानका लागि ठोस पहल र शान्ति वार्ता हुन सकेका छैनन्।

सन् १९४८ मा इजरायल स्थापना हुने क्रममा झन्डै सात लाख प्यालेस्टिनी विस्थापित भएको दिनको सम्झना पनि यही शनिवार परेको छ। यस दिन अझ बढी हिंसा हुने सम्भावना छ।

तनाव मत्थर पार्ने प्रयास स्वरुप अमेरिकी कूटनीतिज्ञ हाडी अम्र ह्वाइट हाउसको प्रतिनिधित्व गर्दै शुक्रवार नै इजरायल आइपुग्नु भएको छ। इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक आइतबार बस्दै छ। यसैबिच, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ।

सोमबार रातिदेखि यता हमासले इजरायली भूमितर्फ सयौँ क्षेप्यास्त्र प्रहार गरेको छ। बदलामा इजरायलले गाजापट्टीमा गरेको भीषण सैन्य कारबाहीमा कम्तीमा १२६ जनाको मृत्यु भइसकेको छ जसमा ३१ जना बालबालिका र २० जना महिला रहेका छन्। उता इजरायलतर्फ भने ६ वर्षीय एक बालक र एक सैनिक समेत सात जनाको ज्यान गएको छ।

गाजाबाट इजरायलतर्फ क्षेप्यास्त्र प्रहार र इजरायली हवाई हमला शनिवार बिहानैदेखि जारी छ। एउटा हवाई हमलामा गाजाको एक तीन तले घर भत्किएको र त्यहाँ रहेका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको रेडक्रसले जनाएको छ।

मोहम्मद अबु हताबले संवाददाताहरूलाई भने, इद मनाउन आफन्तकोमा गएकी पत्नी र छ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो। ११ वर्षको एउटा बच्चा हराइरहेको छ। एउटा पाँच महिनाको छोरा ओमार मात्र बाँचेको छ।

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कोनरिकसले हमास लक्षित आक्रमण गर्दा ठुलो क्षति नहोस् भनेर इजरायली सेनाले सचेतता अपनाएको दाबी गरेका छन्। तर सेनाले हवाई कारबाही गर्नुअघि सर्वसाधारणलाई आफ्ना स्थान छाड्ने सङ्केत गर्दै साइरन नबजाइएको स्थानीयको भनाई छ।

हमास र इस्लामिक जिहाद समूहले आफ्ना २० जना लडाकु मारिएको बताएको छ। तर इजरायली सेनाले त्योभन्दा ठुलो सङ्ख्यामा लडाकुहरू मारिएको दाबी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ