arrow

भारतमा २३ वर्ष यताकै भयानक चक्रपात : ६ को मृत्यु, हजारौँ मानिस सुरक्षित स्थानतर्फ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
Cyclone-Tauktae.jpg

काठमाडौँ । भारतको पश्चिमी राज्य गुजरातमा सन् १९९८ यताकै ठुलो चक्रपात ‘टक ताए’ले हानेको छ । भारतको मौसम विभागले  ‘टक ताए’ आँधी अहिले अत्यन्त गम्भीर चक्र पात तुफानका रूपमा विस्तार भइरहेको बताएको छ ।

पछिल्लो दुई दिनमा आँधिसँगै आएको भारी बर्षाका कारण हालसम्म ६ जनाले ज्यान गुमाएका छन् भने हजारौँ मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

कोरोना भाइरसको दोस्रो लहरले विकराल रूप लिएको अवस्थामा भारतमा २३ वर्षयताकै ठुलो चक्र पात आएको हो । आँधीका कारण आज (सोमबार)राति गुजरातमा बाढी पहिरो र १६० किलोमिटर प्रतिघण्टाको वेगले हावा बहने अनुमान गरिएको छ ।

गुजरात र महाराष्ट्रमा चक्र पातले ठुलो क्षति गर्न सक्ने अनुमान गरिएको छ । हालसम्म १ लाख ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । पूर्वी मध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्र वात ‘टक ताए’ को असर नेपालमा पनि परेको छ ।

उक्त चक्र वात हाल उत्तर-उत्तर पश्चिमतिर बढ्ने क्रममा रहेसँगै काठमाडौँ उपत्यकामा पनि असर परेको हो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले यसको असर उपत्यकामा परिसकेको बताए ।

उनले सोमबार बिहान उपत्यकाको आकाशमा गरागर जस्तो बादल देखिएको भन्दै यो ‘टक टाए’ को असर भएको बताए । उनले तलतल देखिएको बादल स्थानीय र माथिमाथि देखिएको गरागर परेको बादल टक ताको असर भएको जानकारी दिए ।

उनले बुधवार देखी नेपालमा यसको असर राम्रैसँग पर्ने बताए । उनले उपत्यकासहित पश्चिममा भारी वर्षा हुने पनि जानकारी दिए । पूर्वतिर भने कम असर पर्ने उनको भनाई छ । पूर्वतिर न्यूनचापिय रहेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ