arrow

जापानको जिडिपी ४.६ प्रतिशतले खुम्चियो

logo
सिन्ह्वा,
प्रकाशित २०७८ जेठ ४ मंगलबार
japan-corona.jpg

टोकियो। जापानको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ। सन् १९५५ यता एक आर्थिक वर्षमा यति ठुलो मात्रामा जिडिपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याङ्क विभागले जनाएको छ। सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका क्रममा जापानको अर्थतन्त्र ३.६ प्रतिशतले सङ्कुचित भएको थियो।

साथै यस वर्ष सन् २०२१ को जनवरीदेखि मार्चको तीन महिनाको अवधिमा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशको अर्थतन्त्र ५.१ प्रतिशतले घटेको छ। जापानको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा कोरोनाभाइरस सङ्क्रमण रोक्न सरकारले ल्याएको आपत्कालीन उपायहरूका कारण अर्थतन्त्रमा मन्दी आएको उल्लेख छ।

गत वर्ष नोभेम्बरदेखि कोभिड–१९ को सङ्क्रमण बढेसँगै सरकारले टोकियो महानगर क्षेत्रमा जनवरीको सुरुतिर आपत्कालीन स्थितिको घोषणा गरेको थियो। तर मार्चको अन्त्यतिर प्रतिबन्ध हटाउनुअघि जापानमा टोकियो सहित ४७ वटा प्रिफेक्चरमा आपत्काल लगाइएको थियो।

आपत्कालका दिनहरूमा मानिसलाई घरभित्रै बस्न तथा रेस्टुराँ र बारहरू खुल्ने समय छोट्टाइएको थियो जसबाट निजी उपभोगमा १.४ प्रतिशतले गिरावट आएको थियो।

सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा तीव्र रूपमा गिरावट आएको जिडिपीमा अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र पुनः पुरानै लयमा फर्किएको थियो। यस अवधिमा जापानको उपभोग र निर्यात दुवै बढेको थियो।

केही विश्लेषकहरूका भनाइमा कोभिड–१९ को आपत्काल घोषणाका कारण जापानको अर्थतन्त्र चालु अप्रिल–जुन अवधिमा पनि केही खुम्चिने छ। जापानमा कोभिड–१९ को खोप लगाउने दर पनि विकसित मुलुकहरूको दाँजोमा न्यून रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ