arrow

चार्टर्ड फ्लाइटका नाममा सरकारको ब्रम्हलुट, चार गुणासम्म बढी भाडा  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
chartered-flight-himalaya-a.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर्ड फ्लाइटका नाममा हिमालय एयरलाइन्सको प्रयोग गरी ब्रम्हलुट गरेको खुलेको छ । नेपालमा लागेको निषेधाज्ञाका कारण नेपालमै रोकिन पुगेका वैदेशिक रोजगारीमा फर्कन लागेकाहरुलाई चार गुणासम्म बढी भाडा असुलेर चार्टर्ड फ्लाइट गरिएको हो । 

गत बैशाख १६ गतेदेखि निषेधाज्ञा चलिरहेको छ । जसका कारण बिदामा आएका नेपाली नागरिकहरु पुनः फर्किनका लागि अनुरोध गरिरहँदा उनीहरुले नै पठाएको रेमिट्यान्सबाट चल्दै आएको सरकार भने उनीहरुबाटै चर्को असुलीमा लागिरहेको हो । 

हिमालय एयरलाइन्समार्फत बढी भन्दा बढी रकम असुली गरिएको हो । पर्यटन मन्त्रालय स्रोतका अनुसार हवाई माफिया, ट्राभल एजेन्सी र मन्त्रालयका केही अधिकारीले रोजगारीमा फर्किन चाहने नेपालीलाई ४ गुणासम्म भाडा लिएर विमान चार्टड गरेका हुन् । गत मंगलबारमात्रै साउदी अरेबियाको दमामका लागि हिमालयन एयरलाइन्सका ३ वटा चार्टर्ड विमान उडेका थिए । 

पीडितहरुले पहिले यसबारेमा बाहिर जानकारीमा ल्याउँदा झनै जान नपाइएला कि भन्ने डरले नभने पनि अहिले सम्बन्धित ठाउँमा पुगेपछि भने यो कालो भ्रष्टाचारको भण्डाफोर गरिरहेका छन् । 

उनीहरुका अनुसार बोन ट्राभल्सका रमेश पौडेल र सम्राट ट्राभल्सका सीएन पाण्डेले हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी प्रतिब्यक्ति १ लाख ८२ हजार रुपैयाँसम्म असुली गरेका छन् । 

सामान्यतया साउदीको दमामका लागि नियमित उडानमा प्रतिब्यक्ति २७ देखि ४० हजार रुपैयाँसम्म मात्र भाडा रहेको छ।  मन्त्रालय स्रोतका अनुसार दुई ट्राभल्सका संचालक पौडेल र पाण्डेले प्रतिब्यक्ति ५० हजार रुपैयाँ पर्यटन मन्त्रालयदेखि परराष्ट्र मन्त्रालयसम्म घुस बुझाउने सर्तमा चार्टड गर्ने अनुमति लिएका हुन् । 

कोरोना भाइरसको महामारीका बेलामा चीनबाट सामान ल्याउँदासमेत घोटाला गरेका तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल अहिले पर्यटन मन्त्रालयमा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत काममा लगाउन सजिलो भएको छ । 

ओलीको चाहनामै हिमालयन एयरलाइन्सलाई अगाडि सारिएको हो । यसका संचालक यति एयरका सोनामछिरिङ शेर्पा हुन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई चार्टर्ड अनुमति नदिई हिमालय एयरलाइन्सलाई दिएर ब्रम्हलुट गरिएको हो ।

यो कार्य पर्यटन मन्त्री ढकालसँगै पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले गरेको स्रोतले बताएको छ । बोन र सम्राटका संचालकद्वय पौडेल र पाण्डेले सचिव कोइरालासँग सेटिङ मिलाएर ब्रम्हलुट गर्न छुट पाएका हुन् ।

गत मंगलबारदेखि निरन्तर चार्टर्ड फ्लाइट भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ