दुई तिहाइको आडमा सरकारले मनपरी गर्न खोज्यो : युवराज ज्ञवाली
निर्वाचित तानाशाहको उदय त हुने होइन?
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
173
Shares
काठमाडौँ । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले बालेन्द्र साह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाउँदै यसका विरुद्ध सशक्त खबरदारी आवश्यक रहेको बताएका छन्।
बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले वर्तमान सरकारको कार्यशैली र गतिविधिले संविधान तथा लोकतान्त्रिक व्यवस्था नै सङ्कटमा पर्न सक्ने टिप्पणी गरे। सत्तारुढ दलले सङ्घीयता खारेज गर्नेसम्मका दस्तावेज पारित गरेको उल्लेख गर्दै उनले सरकारको नियत वर्तमान संविधान नै समाप्त पार्ने हो कि भन्ने आशङ्का बलियो हुँदै गएको बताए।
प्रधानमन्त्री र सरकारमा आफूखुशी निर्णय गर्न पाउने सोच विकास हुनु लोकतन्त्रका लागि अत्यन्त खतरनाक भएको ज्ञवालीले उल्लेख गरे। दुई तिहाइको बलमा हुनसक्ने यस्ता मनपरी कदमहरूका विरुद्ध खबरदारी गर्नु पूर्वसांसद मञ्च जस्ता संस्थाहरूको महत्त्वपूर्ण दायित्व भएको भन्दै उनले कुन-कुन विषयमा आवाज उठाउने भन्नेबारे नियमित छलफल गर्नुपर्नेमा जोड दिए।
देशमा कतै निर्वाचित तानाशाहको उदय त हुने होइन भनी गम्भीर प्रश्न उठ्न थालेको बताउँदै उनले अहिले धेरैले त्यस्तै आभास गरिरहेकाले सबै लोकतान्त्रिक शक्तिहरू सचेत हुनुपर्ने धारणा राखे।