arrow

भियतनाममा फेला पर्‍यो हावाबाटै सर्ने खतरनाक 'हाइब्रिड' कोरोना भेरिअन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
corona-variant.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी सुरु भएदेखि नै नियन्त्रणमा सफल देखिएको भियतनाममा अहिले भने कोरोना भाइरसको नयाँ भेरिअन्ट फेला परेको छ । यो भेरिअन्ट निकै नै खतरनाक र हावाबाट चाँडै सर्ने किसिमको रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यसअघि भारतमा देखा परेको बी.१.६१७.२ भेरिअन्ट र बेलायतमा फेला परेको बी.१.१.७ भेरिअन्टको मिश्रीत (हाइब्रिड) भेरिअन्टका रुपमा यो भेरिअन्ट रहेको विज्ञहरूले बताएका छन् । भियतनामका स्वास्थ्य मन्त्री गुयन थान्ह लङ्गले यो भेरिअन्ट निकै नै खतरनाक रहेको पुष्टि गरेका छन् ।

भियतनाममा गत अप्रिल यता मात्रै ३५ सयभन्दा बढी सङ्क्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भइसकेको छ ।कोभिड१९ को महामारी नियन्त्रणमा निकै सफल देखिएको भियतनाममा कुल सङ्क्रमित संख्या ६ हजार ७ सय र मृतक संख्या ४७ पुगको छ ।

केही हप्तायता निरन्तर सङ्क्रमण बढेपछि त्यहाँ अहिले सार्वजनिक पार्कहरू, बार, क्लब, भिडभाडजन्य स्थान र धार्मिक सम्मेलनमा प्रतिबन्ध लगाइएको छ ।

६३ नगरपालिकाहरुमध्ये ३० मा सङ्क्रमण बढिरहेको छ । त्यस्तै औद्योगिक क्षेत्र रहेका मुख्य दुई प्रान्त बाक निन्ह बाक गियांगमा पनि सङ्क्रमण बढेको छ ।

करिब ९ करोड ७० लाख जनसङ्ख्या रहेको भियतनामले हालसम्म करिब १० लाख मानिसहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको छ । निकै नै कम सङ्क्रमण भएको देशमा समेत यसरी खतरनाक किसिमको भेरिअन्ट फेला पर्नुलाई चिन्ताजनक रुपमा हेरिएको छ ।

खासगरी कोरोना भाइरसले आफ्नो सङ्ख्या वृद्धि गर्ने क्रममा गल्ती र अन्यकारणले हुने आनुवंशिक फेरबदलले त्यसको स्वरूप परिवर्तन हुने गर्छ । 

सन् २०१९ मा पहिलो पटक चीनको वुहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएयता हजारौँ नयाँ स्वरूपहरू फेला परिसकेका छन् । अधिकांश नयाँ स्वरूप परिवर्तन गरेका भाइरसहरूले मानवलाई खासै असर नगर्ने भए पनि कुनै कुनै भेरियन्टहरु खतरनाक हुने गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ