arrow

एक पीडित चिकित्सकको वकपत्र

logo
डा. चन्द्र घर्ती मगर, 
प्रकाशित २०७८ जेठ १७ सोमबार
dr-chandra-gharti-magar.jpg

अहिले हामी अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेका छौं । देश महामारीले आक्रान्त छ । सबैजना जीवनमरणको लडाइँ लडिरहेका छौं । देशको शहरी क्षेत्रमा मात्रै नभएर दुर्गमका घर गाउँमासमेत कोरोना भुसको आगो झैं फैलिरहेको छ । देशभरका हस्पिटलहरुमा आईसीयू भेन्टिलेटर र अक्सिजनको अभावमा हरेक दिन सयौंले आफ्नो परिवार गुमाइरहेका छौं । समूदायमा कोरोनाको भयावह स्थिति छ । अहिलेको हाम्रो मुख्य उद्देश्य जीवन बाँच्नु र बचाउनु हो । 

यस्तो अप्ठ्यारो स्थितिमा जसरी नेपाली श्रमिकहरुले खाडीबाट पसिनासँग साटेका अक्सिजन सिलिण्डरहरु पठाइदिएर राष्ट्रियता र मानवीयता दर्शाइदिए त्यसरी नै अरुले पनि छट्पटिदै मर्न वाध्य बिरामीहरुको चित्कार र क्रन्दनलाई सुनेर सजगतापूर्वक सकेको मद्दत गर्न जुट्ने बेला हो । हाम्रा सांसदहरुले पनि हाम्रो लागि भ्याक्सिन ल्याउन दत्तचित्त भएर लाग्नुपर्ने, सरकार र राजनीतिक दलहरुले पनि सत्ताको जोडघटाउ र भोटको हिसाबकिताब गर्न छाडेर देश र जनताप्रति अझै बढी जिम्मेवार र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने आजको प्रमुख आवश्यकता हो । तर विडम्बना त्यस्तो एकाग्रता देख्न पाएका छैनौं । 

सरकारले केवल लकडाउन गरेर ठुपुक्कै बस्नुको सट्टा प्रभावकारी  कुटनैतिक पहल, फास्ट ट्र्याकबाट नीति निर्धारण र चुस्त नियमन गर्दै स्वास्थ्यकर्मीको उचित परिचालन र उपलब्ध सामग्रीको व्यवस्थित प्रयोग गरेर यो भूमरीबाट छिट्टै पार लाउने कदम चाल्नुपर्दछ । साझा समस्यालाई सामूहिक रूपमै सामना नगरी जित्न असम्भव प्रायः छ । तसर्थ सामाजिक भावना पैदा गर्दै निजामती कर्मचारी र दक्ष जनशक्तिलाई परिचालित हुन सार्वजनिक आह्वान गर्नतिर पनि सोच्नु पर्दछ । जस्तोसुकै अधेरीपछि पनि आशाको किरण लिएर अर्को सुनौलो बिहानी आउँछ भन्नेमा हतोत्साही जनतालाई विश्वस्त पार्नुपर्दछ । 

देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्नुपर्ने अवस्थामा जसरी अग्रपंक्तिमा लामबद्ध सेनाहरु देशको निम्ति लड्न र बलिदान गर्न तयार रहन्छन् अरुले भौतिक र मानसिक रुपले साथ दिन्छन् त्यसरी नै अहिलेको महामारीविरुद्ध ज्यानको माया मारेर एसल्टमा उत्रिएका स्वास्थ्यकर्मीलाई सबैले नैतिक रुपले साथ र सहयोग गर्नु अपरिहार्य छ । तर सबै चिज त्यागेर अनवरत बिरामीको सेवामा खटिइरहेका स्वास्थ्यकर्मीहरु उल्टै प्रश्नै प्रश्नको कठघरामा उभिनुपर्दाको पीडा कसैले अनुमान गरेभन्दा कयौं गुणा बढी हुन्छ । एउटा स्वास्थ्यकर्मीका लागि यतिबेला व्यक्तिगत सुख, भोक, प्यास, थकान, निन्द्रा सबै–सबै गौण छन् । 

भर्खरका आफ्नै सन्तान र सहारा चाहिने बुबाआमाहरु समेत प्राथमिकतामा पर्दैनन् । जतिसुकै जोखिम मोलेर पनि वर्षौंवर्षको परिश्रम र समय खर्चिएर आर्जन गरेको ज्ञान र सीपअनुसार आफ्नो कर्म गर्नुछ, इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्नुछ । आफ्नो ज्यान दाउमा राखेरै पेशागत जीवनमा थोरै पनि दाग लाग्न नदिन अहोरात्र विभिन्न शारीरिक मानसिक प्रतिकुलताका बाबजुद महामारीसँग जुधिरहँदा जुन प्रकारका अकल्पनीय घटनाहरु बढिरहेका छन् त्यसले सम्पूर्ण फ्रन्टलाइनरहरुलाई पक्कै पनि निराश बनाउने छ । सबैले आ–आफ्नो ठाउँबाट मिलेर लड्नुपर्नेमा झन् स्वास्थ्यकर्मीहरुमाथि ड्युटीमै हातपात हुनु र ज्यान मार्ने धम्की दिनुले एक्काइसौं शताब्दीमा ‘लाज’समेत लज्जित हुनुपरेको छ । 

यतिखेर सबैले आफैंलाई प्रश्न सोध्नुका साथसाथै गहिरिएर आत्मसमीक्षा पनि गरौं । महामारीमा सरकारको आदेश उल्लंघन गर्ने सर्वसाधारणहरु, पेशागत धर्मबाट च्युत हुने चिकित्सक र स्वास्थ्यकर्मीहरु, कृटिकल अवस्थामा प्राणको भिख मागिरहेका बिरामीको छातीमा प्राइस ट्याग टाँसेर आर्थिक लाभ लिने व्यापारीहरु, जनताको प्राण बचाउनभन्दा लाशको गन्ती गर्नमै ब्यस्त मन्त्रीहरु यस्तो आपराधिक कुकार्य हुनुमा दोषी छौ कि छैनौ ? 

म त भन्छु, अंशअंशमा हामी सबै अपराधका भागीदार हौं । जीवनसँग खेलबाड गर्ने र मानवीय जिम्मेवारी भुल्नेहरु समाजका झन् खतरनाक भाइरसहरु हौं । र यसको लागि अनुकूल वातावरण तयार पारिदिने अभियुक्त राजनैतिक दलहरू र सरकार हो । जसले अपराधलाई सधै राजनीतिकरण गर्दै दण्डहीनतालाई बढवा दिइरह्यो । 

सरकारले अराजकहरुलाई संरक्षण गरिरह्यो र बारम्बार अस्पतालमा स्वास्थ्यकर्मीहरुको असुरक्षाको प्रत्याभूतिबारे पटकपटक बिन्ती बिसाउँदा पनि कानमा तेल हालेर बसेको छ । अस्पताल परिसरमा स्वास्थ्यकर्मीहरुले चाहेको सुरक्षाको माग सुनुवाइ नहुनुले भेरी अस्पतालकै जस्ता हिंस्रक घटनाहरु अब पनि सुन्दै र भोग्दै जानुपर्ने बाध्यता छ ।  
 
सबैलाई आफ्नो जीवन प्रिय लाग्छ । परिवार प्यारो लाग्छ । मृत्युको भय हुन्छ । स्वास्थ्यकर्मी पनि कसैका छोराछोरी होलान् । कसैका बुबाआमा होलान् । तैपनि बेवास्ता गर्दै रोबर्टले झैं महामारीमा पीपीई लगाएर ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई समेत अपराधी सरह लखेटीलखेटी आक्रमण गर्ने, आतंककारीले झैं घेराबन्दी गरेर घाँटी अठ्याउने, लात हान्ने, तथानाम गाली गर्ने, माफी माग्न लाउने, आत्मसमर्पण गराउने, ज्यान लिने धम्की दिने जस्ता अमानवीय व्यवहार सभ्य समाजको लागि सह्य र शोभनीय हुनै सक्दैन । 

यसले हाम्रो सामाजिक मानसिकताको स्तर छर्लङ्ग पारिरहेको छ । आफैंलाई सर्वश्रेष्ठ र सचेत प्राणीको पगरी गुथेर शान्ति क्षेत्र र अति समवेदनशील क्षेत्रमा ताण्डव देखाउने दानवहरु कदापी क्षमा पाउन लायक छैनन् । ति मान्छेपन गुमाएका निर्दयी खोक्रो मान्छे मात्रै हुन् । जजसले यस्ता कुपात्रलाई पैरवी गर्छन् तिनीहरु अशल समाजमा बस्न योग्य हुनै सक्दैनन् ।      
 
स्वास्थ्य क्षेत्रमा तमाम बिसङ्गतिहरु हुँदै नभएका होइनन्, थुप्रै बेथितिहरु छन् । जताततै टाल्नुपर्ने प्वालैप्वालहरु छन्, सुधार गर्नुपर्ने अनगिन्ती कुराहरु छन् । तर त्यसो हुनुमा स्वास्थ्यकर्मीहरु मात्रै जिम्मेवार होइनन् । सबैलाई पायक पर्नेगरी अस्पताल नहुनु, अस्पतालमा अक्सिजन नहुनु, बेड नपाउनु, ट्वाइलेट सफा नहुनु, धारामा पानी नआउनु, औषधि महङ्गोमा किन्नु पर्दाको असन्तुष्टि र आक्रोश स्वास्थ्यकर्मीसँग पोखेर समाधान हुने होइनन् । एउटा मजदुरसँग ती बिषयहरु पुरै असम्बन्धित छन् । कतिपय गलत व्यक्तिका कारण हाम्रो पेशामा रहेका गलत अभ्यासलाई सच्याउन भने संघर्षरत छौं । संघर्ष गरिरहने छौं । त्यसलाई सुधार्ने जिम्मेवारी अरुको भन्दा अझै बदी हाम्रै हो, हाम्रो कर्तव्य पनि हो । 
 
कृपया हामीलाई निर्धक्क भएर केवल ड्युटी गर्न दिनुहोस् । आफ्नै प्राणको ठेगान नहुनेले कसरी अरुको प्राणको ग्यारेन्टी लिइदिन सक्छ ? आफ्नो ज्यानै लिइदिने धम्की सुन्दै अर्को ज्यान बचाउन लागिपरेको मान्छेको मनोदशा र दाम्लोले बाधेर घाँटीमा तरबार तेर्साइएको निरीह पशुको हालत उस्तै हो । यसरी आफ्नो कारण अरुको जीवनसमेत खतरामा पुर्याइदिने गम्भीर गल्ती नगरिदिनुहुन विनम्र आग्रह छ । 

यस विषम परिस्थितिमा सबैलाई सुरक्षित राख्न नै स्वास्थ्यकर्मीहरु रातदिन हस्पिटलमा खटिइरहेका छौं । हरेक  स्वास्थ्यकर्मीको चाहना शत्प्रतिशत बिरामीको ज्यान जोगाउने नै हुन्छ । उसको शत्रु नै बिरामी परेर आए पनि व्यक्तिगत प्रतिशोध साँध्ने छैन । यसमा ढ्क्क रहनु होस् । अस्पतालबाट बिरामीहरु सन्चो भएर घर फर्किएको क्षण स्वास्थ्यकर्मीले अनुभूति गर्ने त्यो खुशी र आनन्द कुनै चिजसंग तुलना गर्नै सकिदैन । 

हामीले हरसम्भव कोशिस गर्दागर्दै पनि बिरामीको निधन हुँदा शुरुमा मर्माहत हुने पनि स्वास्थ्यकर्मी नै हुन्छौं भलै आफ्नो भावनालाई जवर्जस्ती दबाएर राख्न विवश हुन्छौं । त्यतिबेला परिवारको आँखाबाट बगिरहेका आँशुले दिने पीडा साँच्चिकै असह्य हुने गर्छन् । मृतकका परिवारलाई परेको शोक हामीले पनि महशुस नगर्ने होइन, ती नमिठो अनुभवहरु जीवनभर बिर्सनै नसकिने घाउ बनी बल्झिरहेकै हुन्छन् ।
   
यदि कसैले इथिक्सलाई नाघेर पेशागत मर्यादा कायम राख्न असमर्थ भएमा हामी आफैंले नै भित्रैबाट आवाज उठाउने छौं, उठाइरहेकै छौं । आफ्नो जीवनको पर्याय मानेको आफ्नो सम्मानित पेशाको माया र गरिमासँगै सबैको हितका लागि खबरदारी गर्न र लड्न तत्पर रहने छौं । हामी स्वास्थ्यकर्मी हुँदाहुँदै पनि पहिले त मान्छे हौं । कुनै कमजोरी भएको खण्डमा कानूनी प्रकृया अपनाएमा गलतका विरुद्ध सहीको साथ हाम्रो प्राथमिकतामा सधैं रहने छ । 

आफ्नो तुच्छ स्वार्थलाई हेरेर मानवता र न्यायलाई कदापी मर्न दिने छैनौं । यो मेरो प्रतिवद्धता व्यक्त गर्नै चाहन्छु । म मेरो पेशा नै त्यागेर आम मान्छेहरुसँगै सेतो एप्रोनधारी अपराधी र आतंककारीहरुलाई लखेट्न आउने छु । अहिलेको संकटमा चाहिँ ज्यान मार्ने धम्की नभई जीवन बचाउन सहयोग गरिदिनु होस् । म आशावादी छु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ