अवैज्ञानिक उमेर हद : शिक्षण सेवामा अनुभवमाथि बन्देज किन ?
प्रकाश पोख्रेल,
प्रकाशित २०८३ असार २२ सोमबार
1.1k
Shares
केही दिनअघि एकजना साथीलाई भेट्ने अवसर मिल्यो। उहाँले भर्खरै एमफिलको अध्ययन पूरा गर्नुभएको थियो। वर्षौंको कठिन अध्ययन, अनुसन्धान र निरन्तरको बौद्धिक साधनापछि उहाँको अनुहारमा एउटा सन्तुष्टि थियो। पंक्तिकारले सहज रूपमा सोधेँ, "अब त त्रिभुवन विश्वविद्यालय सेवा आयोगको तयारी गर्नुपर्ला नि?"
मेरो प्रश्न सकिन नपाउँदै उहाँको अनुहारमा हल्का निराशा झल्कियो। मुस्कुराउने प्रयास गर्दै उहाँले भन्नुभयो, "तयारी त गर्थें, तर अब मेरो उमेर ४५ वर्ष नाघिसक्यो।"
त्यो एउटा वाक्यले मलाई भित्रसम्म झस्कायो।
जसले आफ्नो जीवनको महत्वपूर्ण समय अध्ययन, अनुसन्धान र ज्ञान आर्जनमा बितायो, जसले भर्खरै उच्च शिक्षाको एउटा महत्वपूर्ण खुड्किलो पार गर्यो, उही व्यक्ति केवल उमेरका कारण शिक्षण सेवामा प्रवेश गर्न अयोग्य कसरी हुन सक्छ? के ज्ञानको पनि उमेर हुन्छ? के अनुभवको पनि म्याद सकिन्छ? के हाम्रो राज्यलाई अनुसन्धानमा जीवन बिताएका परिपक्व र अनुभवी शिक्षक आवश्यक छैनन् ?
त्यही क्षण पंक्तिकारलाई महसुस भयो– यो केवल एक जना साथीको व्यक्तिगत पीडा होइन, यो नेपालको शिक्षा नीतिमा रहेको एउटा गम्भीर विरोधाभास हो। यही संवादले शैक्षिक क्षेत्रमा लागू गरिएको सेवा प्रवेशको उमेर हदबारे गम्भीर रूपमा सोच्न र कलम चलाउन प्रेरित गर्यो।
कुनै देशको भविष्य कस्तो बन्छ भन्ने कुरा त्यस देशका शिक्षक, प्राध्यापक र बौद्धिक जनशक्तिको गुणस्तरले निर्धारण गर्छ। विद्यालय र विश्वविद्यालय केवल रोजगार दिने कारखाना होइनन् । ती राष्ट्र निर्माणका प्रयोगशाला हुन्, जहाँ भविष्यका नागरिक, वैज्ञानिक, राजनीतिज्ञ, प्रशासक र नेतृत्वकर्ताहरू निर्माण भइरहेका छन् । त्यसैले शिक्षण पेशामा कसले प्रवेश पाउने र कसले नपाउने भन्ने विषय केवल प्रशासनिक निर्णय होइन, यो राष्ट्रको भविष्यसँग जोडिएको विषय हो।
दुर्भाग्यवश, नेपालमा सरकारी शिक्षण सेवामा लागू गरिएको उमेर हद हेर्दा एउटा गम्भीर विरोधाभास देखिन्छ। एकातिर राज्यले अनुसन्धान, उच्च शिक्षा, विद्यावारिधि र ज्ञान उत्पादनलाई प्रोत्साहन गर्ने कुरा गर्छ, अर्कोतिर त्यही ज्ञान र अनुभव आर्जन गरेर परिपक्व बनेका नागरिकलाई उमेरको सीमारेखाले अवसरबाट वञ्चित गरिदिन्छ।
शिक्षण पेशा अन्य धेरै पेशाजस्तो होइन। यो मुख्यतः बौद्धिक, अनुसन्धानमूलक र अनुभवमा आधारित पेशा हो। यहाँ शारीरिक शक्ति, जवान उमेर वा द्रुत गतिमा काम गर्ने क्षमताभन्दा बढी महत्त्व ज्ञान, अध्ययन, विश्लेषणात्मक क्षमता र जीवन अनुभवको हुन्छ। एउटा उत्कृष्ट शिक्षक वा प्राध्यापक रातारात तयार हुँदैन। ऊ वर्षौंको अध्ययन, निरन्तर पठन, अनुसन्धान, सामाजिक अन्तरक्रिया र व्यावहारिक अनुभवबाट निर्माण हुन्छ।
विश्व इतिहासका महान् शिक्षक र दार्शनिकहरूको जीवन हेर्दा पनि उनीहरूको उत्कृष्ट योगदान परिपक्व उमेरमा देखिन्छ। सोक्रेटस ले आफ्नो दर्शनको उत्कर्ष जीवनको पछिल्लो चरणमा प्राप्त गरेका थिए। प्लेटोले पनि लामो अध्ययन र अनुभवपछि विश्वलाई आफ्नो दार्शनिक दृष्टिकोण दिएका थिए।
आधुनिक विज्ञानका महान् वैज्ञानिक अल बर्ट आइन्सटाइनको बौद्धिक परिपक्वता पनि समयसँगै झन् गहिरिँदै गएको थियो।
विश्वका विकसित राष्ट्रहरूले ज्ञान र अनुभवको मूल्य बुझेका छन्। विकिपिडियाका अनुसार अमेरिकामामा शिक्षक तथा प्राध्यापक नियुक्तिमा अधिकतम उमेर सीमा सामान्यतः लागू छैन। त्यहाँको कानूनी व्यवस्थाले उमेरका आधारमा रोजगारमा विभेद गर्न नहुने मान्यता स्थापित गरेको छ। धेरै विश्वविद्यालयहरूमा सत्तरी वर्ष नाघेका प्राध्यापकहरू पनि अध्यापन र अनुसन्धानमा सक्रिय छन्।
बेलायतमा लागू भएको इक्वल्ली एक्ट २०१० ले उमेरका आधारमा हुने विभेदलाई निरुत्साहित गरेको छ। त्यहाँ शिक्षण सेवामा योग्यता, अनुसन्धान क्षमता र अनुभवलाई प्राथमिकता दिइन्छ। क्यानाडा, अस्ट्रेलिया तथा फिनल्यान्डमा पनि शिक्षक नियुक्तिको आधार उमेर होइन, दक्षता हो।
विशेष गरी फिनल्यान्ड, जसको शिक्षा प्रणाली विश्वकै उत्कृष्टमध्ये मानिन्छ, त्यहाँ शिक्षकको अनुसन्धान क्षमता, विषयगत गहिराइ र शिक्षण कौशललाई सबैभन्दा महत्वपूर्ण मानिन्छ। जापानमा अनुभवी प्राध्यापकहरूलाई ज्ञानको भण्डारका रूपमा सम्मान गरिन्छ। अवकाशपछि पनि अध्यापन र अनुसन्धानमा योगदान दिने अवसर प्रदान गरिन्छ।
नेपालको अवस्था भने फरक छ। एउटा विद्यार्थीले स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि पूरा गर्दा उसको जीवनको दुई दशकभन्दा बढी समय अध्ययनमै बितिसकेको हुन्छ। अनुसन्धानमा रुचि राख्ने र शैक्षिक उत्कृष्टता हासिल गर्न चाहने व्यक्तिहरू प्रायः चालीस वर्षको हाराहारीमा पुग्दा मात्र पूर्ण शैक्षिक परिपक्वतामा पुग्छन्। तर विडम्बना, त्यही बेला उनीहरूलाई उमेरको सीमाले शिक्षण सेवाबाट बाहिर धकेलिदिन्छ।
यसले एउटा गम्भीर प्रश्न उठाएको छ, राज्यले आखिर के चाहेको हो? अनुसन्धान र उच्च शिक्षा हासिल गरेका दक्ष शिक्षक कि केवल कम उमेरका उम्मेदवार ? शिक्षण पेशामा अनुभवको महत्त्व अत्यन्त गहिरो हुन्छ। अनुभवले शिक्षकमा धैर्यता, नेतृत्व क्षमता, विद्यार्थीको मनोविज्ञान बुझ्ने शक्ति, जटिल विषयलाई सरल रूपमा प्रस्तुत गर्ने सीप र अनुसन्धान संस्कृति विकास गर्ने क्षमता प्रदान गरेको हुन्छ। यी गुणहरू उमेरसँगै परिष्कृत हुँदै जान्छन् ।
आज विश्व आजीवन सिकाइको युगमा प्रवेश गरिसकेको छ। मानिसले जुनसुकै उमेरमा पनि नयाँ ज्ञान, नयाँ सीप र नयाँ योगदान दिन सक्छ। धेरै देशहरूमा पूर्वप्रशासक, वैज्ञानिक, चिकित्सक र अनुसन्धानकर्ताहरू पछिल्लो उमेरमा शिक्षण क्षेत्रमा प्रवेश गरिरहेका छन्। उनीहरूको अनुभवले विश्वविद्यालय र विद्यालयलाई अझ समृद्ध बनाइरहेको छ।
नेपालले भने अझै पनि शिक्षण सेवामा उमेरको पर्खाल खडा गरिरहेको छ। यसले देशलाई नै क्षति पुर्याइरहेको छ। राज्यले ठूलो लगानी गरेर उत्पादन गरेको दक्ष जनशक्ति प्रयोग हुन पाएको छैन। अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका नेपालीहरू सरकारी शिक्षण प्रणालीभन्दा बाहिर बस्न बाध्य भएका छन् ।
ज्ञानमा आधारित समाज निर्माण गर्ने हो भने यो नीतिलाई पुनर्विचार गर्नैपर्छ। शिक्षण सेवामा सेवा प्रवेशको विद्यमान उमेर हद हटाउने वा उल्लेख्य रूपमा बढाउने, अनुसन्धान र व्यावसायिक अनुभवलाई विशेष प्राथमिकता दिने तथा खुला प्रतिस्पर्धामा उमेरभन्दा क्षमता र दक्षतालाई मुख्य आधार बनाउने समय आएको छ।
राष्ट्र निर्माणको आधार शिक्षा हो, शिक्षाको आधार शिक्षक हो, र शिक्षकको आधार ज्ञान र अनुभव हो । यदि हामीले अनुभवलाई नै उमेरको नाममा अस्वीकार गरिरह्यौँ भने भविष्यमा हाम्रो शिक्षा प्रणालीले प्रमाणपत्र त उत्पादन गर्ला, तर बौद्धिक नेतृत्व र अनुसन्धान संस्कृतिको निर्माण गर्न सक्ने छैन ।
नीति निर्माताहरूले अब एउटा गम्भीर प्रश्नको उत्तर दिनैपर्छ— देशलाई कम उमेरका शिक्षक चाहिएका हुन् कि ज्ञान, अनुभव र बौद्धिक परिपक्वताले सम्पन्न शिक्षक?
यदि उत्तर दोस्रो हो भने, नेपालको शिक्षण सेवामा लागू गरिएको वर्तमान उमेर हदको पुनर्व्याख्या र पुनर्संरचना अब विकल्प होइन, अपरिहार्य आवश्यकता हो। यो केवल केही व्यक्तिको रोजगारीको प्रश्न होइन; यो नेपालको भविष्यको प्रश्न हो। (लेखक पोख्रेल राजनीतिक विश्लेषक तथा समाजशास्त्रका अध्यता हुन्।)