arrow

भारतमा फैलिएको भाइरसको नाम 'डेल्टा भेरिएन्ट'

logo
एएनआई,
प्रकाशित २०७८ जेठ १८ मंगलबार
corona-variant.jpg

जेनेभा ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने 'भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए ।

डब्ल्यूएचओले सोमबार आफ्नो एक विशेषज्ञ समूहसँगको छलफलमा भेरियन्ट्सको लागि सजिलै उच्चारण र गैरकलंकित सङ्केत (नाम) हरू प्रयोग गर्न सिफारिस गरेको हो । 

डब्लुएचओको जारी विज्ञप्तिमा भनिएको छ, 'कोभिड-१९ को प्रकारलाई जनाउँदा कुनै देशको नाम उच्चारण गर्दा यसले सम्बन्धित देशको प्रतिष्ठामाथि आँच आएको गुनासोलाई सम्बोधन गर्दै ग्रीक वर्णमालाका अक्षर अल्फा, बीटा, गामाजस्ता गैर-वैज्ञानिक समूह वा श्रोता तथा दर्शकहरुद्वारा छलफल गर्न सजिलो र अधिक व्यवहारिक हुने अक्षरहरु प्रयोग गर्न सिफारिस गरिएको छ ।'

त्यसैगरी बेलायतमा भेटिएको खतरनाक नयाँ कोभिड भाइरस (बी.१.१.७) लाई डेल्टा, दक्षिण अफ्रिकामा भेटिएको भाइरसलाई बिटा र ब्राजिलमा भेटिएको नयाँ भाइरसलाई गामा नामाकरण गरिएको छ । 

यी भाइरसको वैज्ञानिक नाम पूर्ववत नै रहेपनि उच्चारण सजिलो बनाउन र भाइरसको पहिचान कुनै देश विशेषको नामबाट हुँदा यसले उक्त देशलाई हेर्ने विभेदकारी दृष्टिकोण बन्ने भनाइहरूपछि विश्व स्वास्थ्य संगठनले यो निर्णय लिएको हो ।  

विश्व स्वास्थ्य सङ्गठनकी कोभिड-१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै भनिन्, 'भेरिअन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न ।”

अमेरिका, ब्राजिल, फिलिपिन्स र अन्य मुलुकहरूमा भेटिएका कोभिडका नयाँ प्रकारलाई एप्सिलन, जेटा, आयोटा र थेटाजस्ता नाम दिइएको छ । 

भारतमा सबैभन्दा पहिले भेटिएको प्रकारलाई भने 'कप्पा भेरिएन्ट’ नामाकरण गरिएको छ । भारतमा भेटिएको बी.१.६१७.२ भेरिएन्ट भारतमा कोभिडको घातक दोस्रो लहरको रूपमा देखिएको छ । महामारीको उक्त दोस्रो लहरका कारण दैनिक हजारौँको मृत्यु हुनुका साथै लाखौँ सङ्क्रमित हुँदा भारतको स्वास्थ्य सेवा संरचनालाई नै अस्तव्यस्त बनाएको छ ।  

कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरिअन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ