arrow

विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोनाका कारण निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
ujwal-thapa1623315298.jpg

काठमाडौं । कोरोना संक्रमण भइ उपचाररत विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष एवम विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधन भएको छ ।

उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा ४४ बर्षीय थापाको निधन भएको परिवार स्रोतले जनाएको छ । 
काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको मंगलबार निधन भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जेठ १७ गते उनको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य अवस्थामा परिवर्तन आउन नसकेको हो । अस्पतालका प्रवक्ता तथा मेडिकल सुपरिटेन्ड डा.राज राणा र मुटु शल्य चिकित्सक डा.विजय राजबंशीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उनको मृत्यु पुष्टि गरेको हो ।

अस्पतालमा एक्मो (इसीएमओ) प्रविधिबाट सोही अस्पतालका विशेषज्ञहरु, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उनको उपचारामा अन्तिम प्रयास गरिएको थियो ।

२०३३ साल पुस २३ गते बुवा उदयबहादुर थापा र आमा शान्ता रायमाझी थापाको कोखबाट जन्मिएका उज्वलले बुढानिलकण्ठ स्कूलबाट माध्यमिक शिक्षा हासिल गरेका थिए ।

क्याम्ब्रिज विश्वविद्यालयमा ए-लेभल गरेका उनले पछि खगोल र भौतिक विज्ञान विषयमा स्नातक पनि गरेका थिए । सन् १९९६ मा अध्ययनका लागि अमेरिका २००१ मा नेपाल फर्किएका थिए ।

बौद्धिक वर्ग र युवायुवतीलाई आकर्षित गरेका उज्वलले हरेक आन्दोलनमा ढुंगामुढा होइन शान्तिपूर्ण तरिकाले, छातीमा प्लेकार्ड टाँसेर र सडक छेउमा उभिएर गर्नुपर्छ भन्ने सिकाएका थिए । अमेरिकामा मल्टिमिडियाबारे पनि अध्ययन गरेका उनले नेपालमा आएर मल्टीमिडिया कम्पनी नै सञ्चालनमा ल्याएर सयौं युवालाई आफूसँग जोडेका थिए ।

२०६८ सालदेखि नै नेपाल खुल्ला छ अभियान चलाएका उनले नेपाल कहिल्यै बन्द छैन भनेर प्रचार गर्ने गर्थे । पहिलो संविधान सभा असफल भएपछि उनले ‘ज्याला पूरा लियौ, अब संविधान देऊ ’भन्ने नारा घन्काएका थिए ।

वैकल्पिक शक्ति बनाउन भन्दै थापाले विवेकशील नेपाली दल संविधान सभाको दोस्रो निर्वाचनलगत्तै २०७१ मा निर्वाचन आयोगमा दर्ता गराएका थिए । दोस्रो संविधान सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा कुकुर चुनाव चिह्न लिएर काठमाडौं-५ बाट चुनाव लडेका थिए ।

पछि उज्वलको नेतृत्वमा रहको विवेकशील नेपाली दल र रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबीच एकता भएको थियो । उज्वलकै नेतृत्वका लोकतन्त्रलाई जिवित राख्न भन्दै ‘संसदमा ब्याप्त लुटतन्त्रलाई निरन्तरता दिने कि विकल्प रोज्ने ?’ अभियान छेडेका थिए । उनको राजनीतिलाई अन्य दलका शीर्ष नेताहरुले ‘आदर्श राजनीति’ भनेर व्याख्या गरेका थिए ।

उज्वल थापा हामीबिच रहनुभएन !

हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन ।

हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !

उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ !

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ ।

उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,

२०७८ जेठ १८ गते

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ