arrow

नियन्त्रणमा लिइएपछि दुर्गाको आक्रोश- नेपालीका दुःख देख्ने हो भने ओस्कार जित्ने फिल्म बन्थ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
durga-prasain-28-03.jpg

काठमाडौँ । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौँ फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको छ।

प्रसाईँले काठमाडौँ ओर्लिएलगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना र गरिब नागरिकको अवस्था जस्ता समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम घोषणा गरेका थिए। तर, उनी विमानस्थलमा अवतरण गर्नासाथ काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले आफ्नै सवारीसाधनमार्फत प्रसाईँलाई भक्तपुरस्थित निवास पुर्‍याएर छाडेको जनाएको छ।

प्रहरीले घर पुर्‍याएर छाडेलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थालाई लिएर सरकारको तीखो आलोचना गरे। उनले सर्वहारा वर्ग, घरबारविहीन नागरिक र बढ्दो आत्मदाहका घटनाप्रति सरकार कति पनि गम्भीर नभएको आरोप लगाए।

प्रसाईँले भने, "सर्वहारा वर्ग र घरबारविहीनहरू आज सडकमा पुगेका छन्। स्थिति कतिसम्म भइसक्यो भने मानिसहरू शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न थालेका छन्। जब घर बिग्रिन्छ, तब यस्तो स्थिति आउँछ। देशको हालत पनि ठ्याक्कै यही भएको छ। देश भनेको हरेक परिवार मिलेर बन्ने हो, तर आज त्यो पारिवारिक खुसी कसैको घरमा छैन। यो त केवल सुरुवात मात्रै हो।"

विगत ३५ वर्षमा राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण र आर्थिक अनियमितता मात्र गरेको प्रसाईँको दाबी छ। "३५ वर्षसम्म दलहरूले एकलौटी शासन गरे, भ्रष्टाचार गरे, शोषण गरे। लघुवित्त र सहकारी पनि उनीहरूले नै चलाए, तस्करहरूसँग पार्टनरसिप पनि उनीहरूले नै गरे। यही कारण आजित भएका जनताले साथ दिएर यो नयाँ सरकार ल्याएका हुन्," उनले थपे, "तर यो नयाँ सरकारले के गर्‍यो भने जसको भोट हो, उसैको घर भत्काइदियो। जसले भोट दियो, उसैलाई उठाएर लगे र अन्तिममा पानीमै डुबाएर छोडिदिए।"

सवारी साधनमा लगाइने जरिवानाको विषयमा टिप्पणी गर्दै प्रसाईँले नेपालमा पूर्वाधार विकासभन्दा दण्ड दिने व्यवस्था बढी हाबी भएको बताए। उनले विश्वका धेरै देशमा पहिले सडक र पूर्वाधार राम्रो बनाएर मात्र नियम उल्लङ्घन गर्नेलाई जरिवाना गरिने उदाहरण दिँदै नेपालमा भने बाटो राम्रो नहुँदा पनि थेग्नै नसकिने गरी आवश्यकताभन्दा बढी जरिवाना लगाइएको टिप्पणी गरे।

आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई सरकारले राहत, जागिर र सन्तानलाई शिक्षा दिने घोषणा गरेको प्रसङ्ग उठाउँदै उनले सरकारको शैलीमाथि गम्भीर प्रश्न उठाए। "सरकार अहिले गणेश नेपालीको परिवारलाई जागिर, क्षतिपूर्ति र बच्चा पढाइदिने कुरा गर्छ। तर बच्चाहरू पढाउनका लागि हरेक नेपालीले गणेश नेपाली नै हुनुपर्ने हो र? के नेपालीहरूले आत्मदाह नै गर्नुपर्ने हो? घरबारविहीनहरूले अब यही बाटो रोज्नुपर्ने हो?" उनले प्रश्न गरे।

देशमा दैनिक २२ देखि २५ जना मानिसले झुन्डिएर ज्यान गुमाइरहेको दाबी गर्दै उनले यस विषयमा सरकारको आँखा नपुगेको आरोप लगाए। यो सरकार नेपालीहरूको हुनै नसक्ने जिकिर गर्दै उनले थपे, "आज नेपालीले खोलाको डिलमा समेत बास पाएका छैनन्। भोको पेट पानीमा भिजिरहेका छन्। जाडोमा ती बालबालिकाको अवस्था कस्तो होला? यो निकै हृदयविदारक कथा हो। यस्तो कारुणिक कथा यदि अमेरिकाका निर्देशकहरूले भेट्टाएका भए, यसैमा फिल्म बनाएर ओस्कार पुरस्कार जित्न सक्थे।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ