arrow

मुटु चुँडाउने मृत्यु वियोगको पीडा र कष्ट बन्यो उज्वलको महाप्रस्थान

logo
संजिव कार्की,
प्रकाशित २०७८ जेठ १९ बुधबार
ujwal-thapa-memory.jpg

जति बेला सडकमा टायर बाल्नु र असहमति हुने बित्तिकै सडक बन्द गरेर नेपाल बन्द जस्तो अत्यन्तै अराजक,अनैतिक र देशलाई घाटा लाग्ने बन्दको अपसंस्कृति मौलाएको थियो । अराजकता नै सरकारको विरोध गर्ने सजिलो माध्यम र उपाय थियो । राजनीतिक दलका नेताहरू लाठी बोकेर सडकमा निस्कन्थे । मानौँ सडक युद्ध स्थल हो । बन्द रुपी युद्ध देश बनाउने अचुक अस्त्र हो । सडकको भाँडभैलो बन्द चक्काजाम धुलो, धुवाँ, डाङडाङ डुङडुङ नै समृद्धिको माध्यम र सहज मार्ग हो । लाग्थ्यो सडक पार्टीहरूको आफ्नो बपौती हो तिनले त्यहाँ जे गरे पनि हुन्छ । अन्यथा देश बन्दैन, राजनीति सुध्रिदैन, राज्यले सुन्दैन, जनसरोकार र जनताले विरोध प्रकट गर्ने भनेको नै, राज्यलाई आफ्नो माग सुनुवाइ गर्न बाध्य पार्ने उपयुक्त तरिका नै जिल्ला बन्द ,देश बन्द हो ।

कुनै पनि माग पूरा गराउने रामवाणको रूपमा बन्द गर्नुपर्ने नियम जस्तो बनेको थियो । त्यति बेला केही युवा नेपाल खुल्ला छ नेपाल बन्द गर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गर्नु हो । भविष्य अरू अन्धकार बनाउनु हो । बन्द तोडफोड हिंसा अराजकता बिना पनि राज्यलाई आफ्नो माग सुनाउन र माग पूरा गर्न सकिन्छ । सरकारको विरोधको नाममा बन्द हडताल जस्ता कुरा गर्नु राजनीतिक संस्कार होइन । अब राजनीतिको कल्चर बदल्नु पर्छ । रुढीबादी राजनीतिको विरुद्ध सिर्जनात्मक राजनीतिको मियो बनेर उभिने कसरत गर्दै राजनीतिको कोर्स, नयाँ शिराबाट शुरु गर्नुपर्छ भनेर केही उत्साही युवाहरू सडकमा निस्के । बन्दको विरोध गरे । नेपाल बन्द गर्नेले बनाउन सक्तैनन् हामी नेपाल सधैँ खुल्ला राख्छौँ । नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कने थोरै युवा मध्यममा एक थिए उज्ज्वल थापा । जसले नेपाल बनाउने र सरकार सेवक बन्नुपर्छ शासक होइन भन्ने परिकल्पना गरेर सेवक सरकार, विवेकशील नागरिक र हितकारी राज्यको अवधारणा बोकेर हिँडेका थिए ।

नेपाल खुल्लै छ । नेपाल बन्दै छ । नेपाल हाम्रो घर हो, डेरा होइन तसर्थ घर बनाउने जिम्मा प्रत्येक नेपालीको जिम्मेवारी हो । जिम्मेवार र विवेकशील नागरिक भएको देश बनाउने सङ्कल्प बोकेर उज्वलहरू सडकमा निस्केर बोल्न थाले । माइतीघर मण्डललाई सरकारको विरोध गर्ने र आफ्नो माग सुनाउने थलोको रूपमा विकास गरे । जबकि त्यतिखेर सडक बन्द गरेर ,रेलिङ तोडफोड र आगजनी हिंसा बिना विरोध गर्न सकिन्छ र  त्यो विरोध प्रभावकारी हुन्छ भन्ने सोच थिएन । बन्द गर्नु गलत हो भन्ने चेतना जनमानसमा पलाएको थिएन । आज माइतीघर  सरकारलाई आफ्नो कुरा सुनाउने भन्ने र सरकारले गरेका जनघाती कदमको विरोध गर्ने मानक स्थल बनेको छ ।

एक प्रकारले चलेको र बन्द चक्काजाम नै संस्कार र राजनीतिक संस्कृति बनेको बेला फरक आयाम र सोचका साथ समाज रूपान्तरणको नारा बोकेर उज्वलहरू सडकमा प्रदर्शन गर्न निस्के र फरक धारको राजनीतिक कल्चरको अभ्यास गर्न थाले । सडकमा नारा जुलुस गर्दा देखिने अनुशासन र आफ्नो कार्यक्रम गर्दा निस्कने फोहोर आफै उठाउने अभियान अरूका लागि अनौठो र आश्चर्य लाग्दो थियो । थोरै मान्छे त्यसमा पनि अल्लारे जस्ता देखिने युवयुवतीहरुको प्रदर्शनलाई मान्छेहरूले र परम्परागत राजनीतिमा अभ्यस्त राजनीतिक दलका नेताकार्यकर्ताले भुराभुरीको रमाइलो, फुर्सदको बसिबियाँलो र प्रणय दिवस मनाउने अवसर भनेर खिसी गरे तर यो सानो समूह एउटा मिसन र नेपालमा सुसंस्कृत सुसङ्गत वैकल्पिक  राजनीतिक आफ्नो अभीष्ट बनेर आएको थियो । दूषित राजनीतिलाई सफा गर्न सफा मान्छे चाहिन्छ ।

राजनीतिको फोहोर हामीले नै उठाउने र त्यो हिम्मत गर्न सफेद मन र मस्तिष्कका युवा राजनीतिमा चाहिन्छ उज्ज्वल ध्येय थियो । लुटतन्त्र बढारेर मौलिक नेपालवादको सुसंस्कृत राजनीति, पारदर्शी राजनीति उज्ज्वल लक्ष्य थियो । राजनीति महँगो र पैसावालको पहुँचमा मात्र भएको बेला राजनीतिलाई सबैको लागि सुगम र मितव्ययी पारदर्शी र जबाफदेही बनाउने उद्देश्य बोकेर हिँड्ने अभ्यासमा  थिए उज्ज्वलहरू । चुनाव प्रचारप्रसारमा भव्य र्‍याली मोटर र बाइकहरूको ताँती लिएर हिँड्ने पार्टीहरूको अघिल्तिर रिक्सा चलाएर साइकल चढेर, ट्याम्पो चढेर काठमाडौं शहरमा चुनाव प्रचारको लागि निस्कनु हास्य र खिसीको पात्र बन्नु थियो । उपहासको पात्र बनेर पनि कुकुर जस्तै आज्ञाकारी बन्नुपर्छ भन्दै कुकुर डोर्‍याउँदै उज्वलहरू काठमाडौंमा हिँड्थे यिनीहरूको यस्तो पारालाई राजनीतिक पार्टीका मान्छेहरू धज्जी उडाउँथे । उम्मेदवारीलाई लिएर दुधे बालबालिकाको राजनीतिक भाँडाकुँडीको संज्ञा पनि दिन्थे । आम मान्छेहरू पनि केही युवायुवतीका यस्ता प्रचारलाई देखेर छक्क परेर हेर्थे । यी मान्छेहरू परम्परागत पार्टी भन्दा फरक ढङ्गले प्रस्तुत भएको देख्दा धेरैको लागि रमिता थियो तत्कालीन विवेकशील पार्टीको चुनावी प्रचार । मान्छेको ध्यान  खिच्न अचाक्ली काम गर्नु पर्दैन केवल अलि फरक ढङ्गले काम गरे पुग्छ । देश भक्तिलाई प्राथमिकतामा राखे पुग्छ ।

देशभक्त भन्दै भारतको विरोध गर्दा नेपाल बन्द गर्ने परिपाटीको अघि नेपाललाई माया गर्नेले बन्द होइन खुल्ला नेपाल  राख्नुपर्छ भन्ने अवधारणा नै मान्छेको बुद्धिको बिर्को खोलिदिने झटका भई दियो । आज बन्द गर्न पार्टीहरू हिचकिचाउने र डराउने कारणको  पछिल्तिरको कारण हो उज्वल थापा टिमको राजनीतिक चेतना र जन जागृति । आज बन्दको विरोध आम जनताले गर्छन् फलस्वरूप जनताको लागि भन्दै जिल्ला बन्द र नेपाल बन्दको अपसंस्कृतिमा धेरै कमी आएको छ । यसको श्रेय तत्कालीन विवेकशील दल र त्यसको नेता हुनुको कारण उज्ज्वल थापाको भागमा जान्छ । आज उज्वल असाध्यै बिरामी भएर उपचार गराउँदा गराउँदै परलोक गए । उनको लागि मुटु झिकेर दिन चाहने युवाहरूको साथ थियो तर पापी कोरोनाले त्यो अध्याय सँधैका लागि बन्द गरिदियो ।

उज्वल कोरोनासँगको भौतिक युद्धमा दुई हप्ताको रस्साकस्सी पछि पराजित बने । उज्वलप्रति  किन मान्छेहरूको यतिबिधी श्रद्धा त्यो हो  निष्ठापूर्वक आफ्नो उद्देश्यमा तल्लीन भएको मान्छे प्रतिको भरोसा । भलै दुई पटक चुनाव लड्दा उज्वलले जित्न सकेनन्  उनको पार्टी पनि राष्ट्रिय स्तरको हुन सकेन तर उनीहरूले जुन विश्वासको मत पाए त्यो भावी नेपालमा परिवर्तनको  संकेत भनेर विश्लेषण गर्ने आधार छन् । उनीहरूले सकारात्मक प्रचार गरेर आफ्नो मुद्दा स्थापित गरे जसको कारण सही उद्देश्य र आशयप्रति मान्छेहरूमा विश्वास पलाउँदै गएको प्रमाण हो उज्वलप्रति मान्छेहरूको माया र सहानुभूति । नेताहरू बदनाम र अराजक भएको बेला एउटा सानो पार्टीका नेता प्रति मान्छेहरूको सद्भाव र स्वतःस्फूर्त आर्थिक सहयोग सामान्य विश्वासमात्रै होइन भरपुर आस्था हो ।

यसैबिच दुर्गा प्रसाईजीले उज्ज्वल उपचार खर्च आफूूूले बेहोर्ने कुरा सार्वजनिक गरेर माफिया दलाल र व्यापारीहरू कसरी नेताको समीप पुग्छन् र आफ्नो स्वार्थ सिद्ध गर्न प्रभावित गर्ने बाटो रोज्छन् त्यो बुझ्न सजिलो भएको छ । स्वार्थ समूहको सहयोग  लिने अनि उनी मुताबिक चल्ने नेताहरूको विशिष्ट गुण भएको कारण देशको राजनीति माफिया दलाल र बिचौलियाहरूको फन्दामा परेको हो । विवेकशील नेपाली दलका संस्थापक सिर्जनात्मक राजनीतिका शुत्राधार सामाजिक अभियन्ता उज्ज्वल थापाको परिवारले प्रसाईजीको सहयोग नलिएर उनको सदाशयतालाई धन्यवाद दिएको कुराले नेपाली नेताकार्यकर्तालाई एउटा पाठ जरुर सिकाएको हुनुपर्छ ।

आफ्ना पति, पिता, पत्नी र दाजुभाइ, दिदीबहिनी, आफन्तको आदर्श बचाउन परिवारको पनि सचेतता र निगरानी जरुरी हुन्छ ।  नेता बिरामी हुँदा उपचार खर्च बेहोरिदिने, छोराछोरी पढाई दिने, विदेश सयर गराइदिने, पार्टीको कार्यक्रममा जाँदा हेलिकप्टर रिजर्भ गरिदिने, नेता कार्यकर्तालाई घरजग्गा उपहार दिने, शेयर उपहार दिने, गाडी उपहार दिने लगायत अनेकौँ उपहार, सौगात,नजराना जे भने पनि खर्चिलो र प्रभाव पार्ने हेतुले दिने र सो बापत प्रकारान्तरले आफ्नो दुनो सोझ्याउने, राज्यमा अनावश्यक प्रभुत्व जमाउने नेताकार्यकर्ताबाट राज्यको नीति निर्माण तहमा प्रभाव पारी आफ्नो पेशा व्यवसाय लाभको अंश बढाउने उपाय नै व्यापारी र स्वार्थ समूहको रणनीतिक चाल हो । जसमा हाम्रो देशका प्रायः सबै नेता फसेका छन् । आपद्को सहयोग मानवीय र सहृदय हुनुपर्छ नकि भावी फाइदा नाफा घाटाको हिसाब हेरेर । सेवा व्यापार होइन मानवीय धर्म हो ।

हाम्रा पार्टीका नेता कार्यकर्ता चुकेका र चुकाइएका यस्तै प्रवृत्तिको कुतसित नियत र चाल बुझ्न नसकेर हो । सहयोग चन्दा र दानको रूपमा जे आए नि जसको आए नि लिने परिपाटी परिवर्तन गर्न उज्वल थापाको परिवार र उनका शुभचिन्तकले लिएको सावधानी प्रशंसनीय छ ।  पार्टीको लागि मात्रै होइन देशको लागि खाँचो पर्ने नेता गुमाउँदा देश शोकाकुल छ  । मान्छेहरूको मायाले ईश्वरीय नियममा फेरबदल गर्ने तागत राख्थ्यो भने उज्वलले देश विदेशका नेपालीबाट काफी माया पाएका थिए तर दैवको लीला स्वीकार गर्नु र सहनुको विकल्प छैन । उज्ज्वल परमधाम गए ।

प्रिय उज्वल,

नेपाली राजनीतिमा मौलाएको अप संस्कृति र विरोधको ध्वंसात्मक तरिका बदलेर रचनात्मक विरोध र सिर्जनात्मक राजनीतिको सुरुवात गर्न जुन नेतृत्व लिनु भएको थियो त्यो नेपाली युवामाझ लोकप्रिय र अमिट छाप र प्रभाव छोड्ने राजनीतिको एक प्रयोगको रूपमा सदैव रहन्छ । तपाईँको सोच,शैली र चिन्तन नेपालको लागि झन् जरुरी थियो ।

तपाईं आलोचनालाई सहज रूपमा लिएर सक्दो आलोचना गर्न र त्रुटि कमजोरी भनिदिन आग्रह गर्नुहुन्थ्यो । तपाइँको त्यो शैली मलाई खुब मन परेको थियो । रचनात्मक, सिर्जनात्मक सोच र शैली आजको राजनीतिक मूल कार्यभार हो । तपाइँको स्वास्थ्यमा चमत्कारिक परिवर्तनको कामना गरेर बस्ने लाखौं मान्छेलाई निराश पार्दै उज्वल महायात्रामा निस्कनु भयो । अब उज्ज्वल एउटा राजनीतिक दर्शन आन्दोलन विचार र सुसंस्कृत राजनीतिको जग बनेर बसिरहनु हुनेछ ।

गुणस्तरीय स्वास्थ्य शिक्षा पूर्णतया निःशुल्क र राज्यको दायित्वभित्र हुनुपर्छ भन्दै निरन्तर अभियान चलाउने र डाक्टर गोविन्द केसीको हर अभियानमा सक्रिय उज्ज्वल थापा यति बेला महँगो उपचार पद्धतिसँगै रोग विरुद्ध लड्दा लड्दै  बिदा भए यो राष्ट्रको सपुतको असमयको प्रस्थानले आम सकारात्मक सोच र शैली भएका मान्छेहरुलाई स्तब्ध बनाएको छ । मृत्यु अनिवार्य र अन्तिम सर्त हो जन्मकै दिन करारनामा गरिएको तर एक होनहार सपुतको असान्दर्भिक मृत्यु वियोग मुटु चुँडाउने कष्ट हुन्छ ।

उज्वल थापा एउटा नवीन राजनैतिक बिचार,दृष्टान्त र सकारात्मक आन्दोलन हुन । वैकल्पिक राजनीतिको पर्याय खडा गर्ने युगको हाँक् भोलिको पुस्ताको प्रतिनिधित्व गर्ने नेपाली राजनीतिले तय गर्ने मार्ग  हो । उज्वलले सल्काएको दियो हो निभ्दैन उज्वल भौतिक शरीर निभे पनि । सकारात्मक सुसङ्गत राजनीति जसले र जुन पार्टीले गरे पनि हुन्छ यसमा किञ्चित पनि दुबिधा छैन र हुनु पनि हुँदैन । सारा मान्छेको अनेकौँ प्रार्थना बिन्ती र अनुरोधलाई लत्त्याउँदै दैवले धर्तीको राम्रो मान्छे आफ्नो लागि लिएर गयो ।

राष्ट्रप्रमुख प्रधानमन्त्री लगायत समस्त राजनीतिक दलले उज्वलप्रति दर्शाएको प्रेम श्रद्धा सहानुभूति र सद्भावले उनको छोटो समयको तर लामो र अग्लो राजनीतिक उचाइको प्रतिनिधित्व गर्छ । उज्वलजी तपाईंसंगको विभिन्न भलाकुसारी, उद्यमशीलता कृषि, राजनीति अनि नेपालको स्वास्थ्य र शिक्षाबारे भएका सकारात्मक छलफल, सडकमा सँगसँगै पलेटी कस्दाका क्षण स्मृतिमा सदैव राख्दै भावपूर्ण श्रद्धाञ्जली ! शोकाकुल परिवारजनमा गहिरो समवेदना ! विवेकशील साझा लगायत विवेकशील सबै स्तब्ध नेपालीलाई शोक सहने शक्ति मिलोस् । अल बिदा प्रिय नेता ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ