arrow

चीन-अमेरिका कर वृद्धि युद्धपछि पहिलो पटक संवाद

logo
एपी,
प्रकाशित २०७८ जेठ १९ बुधबार
trade-war-ship.jpg

बेइजिङ । चीनका प्रमुख व्यापार प्रतिनिधि र अमेरिकी अर्थमन्त्री जानेट येलेनबीच पहिलो पटक बुधबार भिडियो संवाद भएको छ । तर दुबै पक्षले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र चीनबीच जारी करवृद्धि युद्ध कहिले समाप्त हुन्छ भन्ने बारेमा केही बताएका छैनन् । 

चीनका प्रमुख व्यापार प्रतिनिधिका रुपमा उपप्रधानमन्त्री लिउ हे ले नेतृत्व गरिरहेका छन्। दुबै नेताले आर्थिक स्थिति, द्वीपक्षीय सहयोग तथा आपसी चासोका अरु विषयमा छलफल गरेको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । उता अर्थमन्त्री येलेनको कार्यालयले दुबै मुलुकका आपसी चासोका विषयमा खुला छलफल भएको जानकारी दिएको छ, तर वार्तामा के कुरा भए भन्ने खुलाएको छैन । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्ववर्ती राष्ट्रपति ट्रम्पले चीनसँग शुरु गरेको करयुद्ध कसरी सम्बोधन गरिनेछ भन्ने बारेमा अहिलेसम्म केही बताएका छैनन्  । ट्रम्पले चीनको औद्योगिक नीति र चीन-अमेरिका व्यापार घाटाको विषयलाई लिएर चीनबाट आयात हुने सामानमा शृंखलाबद्ध करवृद्धि गरेका थिए । जवाफमा चीनले पनि अमेरिकी सोयाबिन र अरु सामानमा करवृद्धि गर्नुका साथै कतिपय अमेरिकी सामानको आयात रोकेको थियो ।
 
चिनियाँ उपप्रधानमन्त्री लिउले गत साता अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईसँग पनि फोनमा कुराकानी गरेका थिए । टाईको कार्यालयले दुबै देशबीचको व्यापार सम्बन्धको समीक्षा गरिरहेको बारेमा चिनियाँ पक्षलाई जानकारी दिइएको जनाएको छ ।

दुबै देशका व्यापार प्रतिनिधिहरुबीच कोभिड-१९ का कारण सन् २०२० को शुरुदेखि नै प्रत्यक्ष भेटवार्ता हुन सकेको छैन । तल्लो तहका अधिकारीहरुबीच फोनबाटै कुराकानी भइरहेका छन् ।

ट्रम्पकै कार्यकालमा चीन र अमेरिकाबीच पहिलो चरणको सम्बन्ध सामान्यीकरण सम्झौता सन् २०१९ मै भएको थियो । उक्त सम्झौतामा थप करवृद्धि योजना तत्कालका लागि स्थगन गर्ने र कतिपय करवृद्धि प्रस्ताव फिर्ता लिइने उल्लेख छ । 

चीनले पनि अमेरिकी सोयाबिनको आयात गर्ने र अमेरिकी अरु सामानको खरिदलाई बढाउने प्रतिबद्धता जनाएको थियो । तर कोभिड-१९ का कारण विश्वव्यापी व्यापारमा मन्दी छाएसँगै चीनले अमेरिकी प्रतिबद्धता पूरा गर्न सकेको छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ