- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सन् २०२२ को विश्वकप तथा सन् २०२३ को एसिया कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले सोमबार बलियो टिम जोर्डनसँग खेल्दैछ । खेल राति ९ः४५ बजे कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुँदैछ ।
आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमको लक्ष्य जित नै रहेको बताएका छन् । उनले भने, ‘हरेक खेल शून्यबाट शुरु हुन्छ र परिणाम मैदानको प्रदर्शनमा निर्भर गर्दछ । हाम्रो लक्ष्य शुरुबाट खेल जित्ने छ । हाम्रो लक्ष्य एसिया कप छनोट हुनु हो । यसका लागि जोर्डनविरुद्ध जित आवश्यक छ ।ु
यसअघिको खेलमा चाइनिज ताइपेईलाई २–० गोल अन्तरले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ ।
हेड टु हेड
नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । नेपालले दुई खेल गुमाएको छ । एक खेल बराबरी खेलेको छ ।
विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको पहिलो खेलमा जोर्डनको मैदानमा ९–० गोल अन्तरले पराजित भएको थियो ।
२०११ मै नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो । भरत खवासले दशरथ रंगशालामा गोल गरेका थिए ।
पछिल्लो पटक नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो । विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेकामा नेपाल ३–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालले सोमबार रातिको खेलमा दशरथ रंगशालामा १० वर्षअघि खेलेको खेललाई स्मरण गरी जितको मात्र कल्पना गरी खेल्नुको विकल्प छैन ।
नेपाल विश्वकप छनोटको सम्भावनाबाट बाहिरिएको छ भने एसिया कप छनोटको सम्भावना जिवितै छ । त्यसका लागि नेपालले जोर्डनलाई हराउनै पर्ने हुन्छ ।
छनोटको समूह बी मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
शतप्रतिशत नतिजासहित ५ खेलबाट १५ अंकको अष्ट्रेलिया पहिलो, ६ खेलबाट १० अंकको कुवेत दोस्रो तथा पुछारको चाइनिज ताइपेई अंकविहीन छ । नेपालले ताइपेईलाई दुवै खेलमा समान २–० गोल अन्तरले हराएको थियो ।