arrow

गाईवस्तु चराउन गएका सात जनाको अझै पत्तो लागेन, उद्धारमा गएका नै बिरामी परे 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
jajarkot.png

जाजरकोट । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुन सकेको छैन । मङ्गलबारदेखि हराइरहेका  कुशे गाउँपालिका–८ र ९  औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय  भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय अझै सम्पर्कमा आएका छैनन् ।

हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी टोली र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाए पनि त्यहाँ पुग्न नसकेको प्रहरी नायब उपरीक्षक डीएसपी मधुकुमार थापाले बताए । 

सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधबार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो । 

यो समाचार तयार पर्दासम्म प्रहरी र स्थानीयवासी भैँसी ओडारमा पुगेर लेक लागी बिरामी भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने स्थानीयवासीको भनाइ छ । 

बेपत्ताको उद्धारका लागि गृहमन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ । उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरीसहितको बहुकाले माथि जान नसकेको उनले बताए । घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ