arrow

महाकाली नदीको बहाव घट्दो क्रममा, खतरा कायमै

logo
रासस
प्रकाशित २०७८ असार ५ शनिबार
mahakali-jholungepul.jpg
फाइल तस्विर।

दार्चुला। महाकाली नदीमा जल सतह घट्दो क्रममा रहेको छ । शुक्रवार रातिसम्म बढ्दै गएको महाकाली नदीमा पानीको बहाव शनिवार बिहानदेखि घट्दै गएको हो । सदरमुकाम खलङ्गा झोलुङ्गे पुल नजिक पानीको सतह घटेर ४.२ मा झरेको छ । गए राति १० बजे सो स्थानमा पानीको बहाव ४.५ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको थियो ।

“पानीको बहाव कम हुँदै गएको छ”, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले भने, “तर खतरा भने कायमै छ ।” प्रहरीले निरन्तर नदी छेउछाउ गएर खतराको बारेमा जानकारी गराइरहेको छ । सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरिरहेको उनको भनाइ छ । यस्तै प्रहरीले सबै क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरिरहेको उनले बताए । 

दार्चुलाको महाकाली नगरपालिका तथा मालिकार्जुन, लेकम, व्याँस र दुहुँ गाउँपालिकालगायत क्षेत्रमा महाकाली नदी किनारमा स्थानीयवासीलाई जान नदिन प्रहरीले सबै युनिटहरूलाई खबर गरेको छ । 

यसैगरी स्थानीय प्रशासनले नदीछेउछाउमा नजान स्थानीयवासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना जारी गर्दै नदीमा पानीको मात्रा नघटेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । मनसुन जारी रहेकाले अहिले नै कम भयो भन्दै नदी किनारतिर काठ निकाल्न, बालुवा झिक्न र माछा मार्ने काम नगर्न नगराउन प्रजिअ जोशीले आग्रह गरेका छन् । शुक्रवार महाकाली नदी नियन्त्रण आयोजनाको बङ्गाबगड क्षेत्रको निर्माणाधीन तटबन्ध माथि नदी पुगेको थियो । महाकाली नदी निर्माणाधीन तटबन्धमा पुगे पनि क्षति नभएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए। 

खोतीला पहिरो कटान हुँदै

महाकाली नदीले धारचुलाको खोतीला पहिरो पनि कटान गर्दै लगेको छ । ०७३ साल असोजमा आएको सुख्खा पहिरो कटान थालेको छ । बंगागबडको पारिपट्टि रहेको खोतीला पहिरो कटान हुन थालेपछि भारतीय बाटो अवरुद्ध बनेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । 

यसअघि नेपालले निरन्तर खोतिला पहिरो हटाउन भारतलाई आग्रह गर्दै आएको थियो । पटक पटक भारतले स्थलगत निरीक्षण समेत गरेको थियो । तर भारतले उक्त पहिरो हटाउँदा भारततर्फ बढी क्षति हुने भन्दै हटाउन मानेका थिएन । नेपालले भने पहिरोका कारण खलङ्गाको तटबन्ध र बजार क्षेत्र जोखिममा परेको भन्दै निरन्तर हटाउन आग्रह गर्दै आएको थियो ।

नौगाडमा दुई घर भत्किए 

पहिरोका कारण नौगाड गाउँपालिकामा दुई घर भत्किएका छन् । नौगाड गाउँपालिका—१ इयरकोटका सौडानका विरनसिह महता र प्रेम महताको घर भत्किएको हो ।

घरमाथिबाट आएको पहिरोले पुरै घर क्षति भएको स्थानीयवासी आनसिह बडालले बताइ । पहिरोका कारण दुवै परिवार विस्थापित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ