- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर। वर्षा यामको सुरुवात भएसँगै अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्न गई कञ्चनपुरका केही बस्तीहरू डुबानमा परेका छन्। बाढीबाट भीमदत्त र महाकाली नगरपालिकाका केही बस्ती डुबानमा परेका छन्।
महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको बस्ती डुबानमा परेको हो। ऐरी बस्तीको १०/ १२ घर डुबानमा परेको भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष लालबहादुर शाहीले बताएका छन्।
महाकाली नदीमा पानीको सतह उच्च भएसँगै दोधारा चाँदनी नगरपालिका १० भएर बग्ने जोगबुढा नदीको पानी थुनिएर गाउँ डुबानमा परेको छ। जोगबुढा नदी थुनिएर दोधारा चाँदनी नगरपालिका १० शान्ति टोल क्षेत्रको तटीय भूभागमा पानी भरिभराउ भएको छ।
महाकाली नदीमा पानीको बहाव उच्च भएपछि महाकाली नदीमाथि निर्माणाधीन ४ लेन पुलको ड्याम समेत भत्काएको छ। अहिले पुलमा आवतजावत बन्द गरिएको छ। सम्भावित जोखिम न्यूनीकरणको लागि उद्धार टोलीलाई उच्च सतर्कताको अवस्थामा राखिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।
महाकालीमा पानीको स्तर शनिवार बिहान १ लाख ६६ हजार क्वीसेक मापन गरिएको थियो भने दिउँसो बढेर १ लाख ७५ हजार पुगेको छ। असार महिनाको सुरुमै बाढी बस्तीमा पसेपछि स्थानीय त्रसित भएका छन्।