arrow

भारतका १० राज्यमा पूर्ण र २१ राज्यमा आंशिक लकडाउन, ८१ दिनमा सबैभन्दा कम संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
corona-india-vaccine.jpg
तस्वीर–उत्तर प्रदेशको मोतीलाल नेहरु भ्याक्सिनेसन सेन्टरमा खोपका लागि प्रतिक्षारत ।

काठमाडौं । भारतमा ८१ दिनको अवधिमा शनिबार सबैभन्दा कम कोरोना भाइरसका संक्रमित भेटिएका छन् । शनिबार ५८ हजार ५६२ संक्रमित थपिएका हुन् । यो ८१ दिनपछि घटेको संख्या हो । यसअघि गत मार्च ३० मा ५३ हजार २३७ जनालाई संक्रमण भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ९८ लाख ८१ हजार २५२ जना संक्रमित भइसकेका छन् । त्यहाँ कोरोना रोक्ने एकमात्र विकल्प खोप लगाउने काम तीव्र रुपले भइरहेको छ । अहिलेसम्म भारतमा कुल जनसंख्याको १६.६ प्रतिशतले खोप लगाएका छन् । 

२७ करोड २३ लाख ८८ हजार ७८३ जनाले कोरोनाको कम्तीमा एक डोज खोप लगाएका छन् । दुवै खोप लगाएको जनसंख्या भने कूल जनसंख्याको ३.८ प्रतिशत मात्र हो । 

भारतले आफैं कोरोना विरुद्धको खोप बनाएको छ । त्यसैगरी विभिन्न देशबाट खोप अनुदानमा लिनुका साथै किनेर पनि जनतालाई लगाइरहेको छ । 

त्यस्तै ८७ हजार ४९३ संक्रमितलाई शनिबार निको भएसँगै अहिलेसम्म २ करोड ८७ लाख ५८ हजार ४४७ जनालाई निको भइसकेको छ । हाल ७ लाख २४ हजार ४१३ जना मात्र सक्रिय संक्रमित छन् । जबकि यो संख्या कुनै समय ४० लाखमा पुगेको थियो । 

मृतकको दर पनि विस्तारै घट्दै गएको छ । शनिबार १ हजार ५७३ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाबाट भारतमा ३ लाख ८६ हजार ७४० जनाको ज्यान गइसकेको छ । 

भारतमा अहिले पनि १० राज्यमा लकडाउन जस्तै प्रतिबन्ध छ । पश्चिम बंगाल, हिमाचल, झारखण्ड, छत्तीसगढ, ओडिशा, कर्नाटक, तमिलनाडु, मिजोरम, गोवा र पुडुचेरीमा लकडाउन जस्तै प्रतिबन्ध छ । 

२१ राज्य तथा केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन रहेको छ । जसमा केरल, बिहार, दिल्ली, महाराष्ट्र, राजस्थान, उत्तर प्रदेश, मध्यप्रदेश, हरियाणा, पंजाब, जम्मूकश्मीर, लद्दाख, उत्तराखण्ड, अरुणाचल, सिक्किम, मेघालय, नागाल्याण्ड, असम, मणिपुर, त्रिपुरा, आन्ध्र प्रदेश र गुजरातमा आंशिक लकडाउन रहेको हो । 

तेलंगाना लकडाउन हटाउने पहिलो राज्य हो । त्यहाँ जुलाई १ देखि स्कुल पनि खुल्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ