arrow

पाकिस्तानमा आठ महिनायता सबैभन्दा कम सङ्क्रमण

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७८ असार ९ बुधबार
Pakistan-Flag.jpeg

इस्लामाबाद। पाकिस्तानमा आठ महिना यताकै सबैभन्दा कम कोभिड–१९ को सङ्क्रमण दर देखिएको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा देशभर कोभिड–१९ को सङ्क्रमण दर १.७ प्रतिशत रहेको उल्लेख छ ।

राष्ट्रिय कमान्ड तथा अपरेसन केन्द्र (एनकोक) का अनुसार सोमबार पाकिस्तानमा गरिएको ३९ हजार नमुना परीक्षणबाट ६ सय ६३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

पाकिस्तानमा कोभिड–१९ को तेस्रो लहर उच्च रहेका बखत सङ्क्रमण दर ११ प्रतिशतभन्दा बढी भएको थियो । तर सरकारले व्यापक खोप अभियान सञ्चालन गर्नुका साथै नियन्त्रणका उपाय अवलम्बन गरेपछि सङ्क्रमण हुने दरमा कमी आएको हो । पाकिस्तान सरकारले कोभिड–१९ फैलिन नदिन व्यवसाय, शिक्षाका साथै सामाजिक क्रियाकलापमा कडाइ गरेको थियो ।

एनकोकका अनुसार पाकिस्तानमा हालसम्म नौ लाख ५० हजार व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका र २२ हजारको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा पनि २७ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

पाकिस्तानमा हाल ३३ हजार ४५२ जना सक्रिय सङ्क्रमित छन् भने आठ लाख ९५ हजार सङ्क्रमणमुक्त भएका छन् ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त कोभिड–१९ बाट सर्वाधिक प्रभावित रहेको छ । यहाँ तीन लाख ४५ हजार व्यक्ति सङ्क्रमित भएका थिए । त्यस्तै दक्षिणी सिन्ध प्रान्तमा पनि तीन लाख ३३ हजार व्यक्ति सङ्क्रमित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ