- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा प्रतिनिधिसभा विघटन मुद्दामा पक्ष र विपक्षको बहस सकिएको छ ।
रिट निवेदकका कानुन व्यवसायीले प्रतिउत्तर बहस सकेसँगै मुद्दाको बहस सकिएको हो ।
सोमबार निवेदक तर्फबाट जवाफी बहस गर्दै बरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिले संविधानले नदिएको अधिकार प्रयोग गरेको बताएका छन् ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री दाबी गर्ने व्यक्तिले संसद्मा गएर विश्वासको मत प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको उनको जिकिर थियो ।
थापाले प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिकहाँ नभई संसदमा दावा गर्नुपर्ने बताउँदै ओलीका कानुन व्यवसायीले ७६ (५) मा दलीय हिृप नलागे ‘निर्दल’ आउँछ भनेर मुखको तितो मात्र पोखेको बताए ।
राष्ट्रपतिले प्रधानमन्त्रीले भनेको सबै कुरा लुरुलुरु मानेकोमा आपत्ति जनाउँदै भने,‘प्रधानमन्त्रीले भनेको लुरुलुरु जसले मान्छ त्यो संसारमा कमजोर राष्ट्रपति हो, त्यस्तो राष्ट्रपति हामीलाई चाहिएको होइन ।’ संवैधानिक इजलाशमा अब एमीकस क्युरीले राय व्यक्त गर्न बाँकी छ ।